शनिबार, वैशाख ८ गते २०८१    
images
images

कामचलाउ सरकारका पराजित पर्यटनमन्त्री जीवनराम जानेबेला २० करोड बाँड्दै

images
images
कामचलाउ सरकारका पराजित पर्यटनमन्त्री जीवनराम जानेबेला २० करोड बाँड्दै
images
images

काठमाडौं- शेरबहादुर देउवा नेतृत्वको सरकारमा जनमत गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारबाट बाहिरिने बेला भइसक्दा विभिन्न संघसंस्थाका नाममा २० करोड रुपैयाँ बाँड्न लागेका छन्। 

images
images
images

काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधसभा निर्वाचनमा पराजित भएपछि नैतिकताका आधारमा राजीनामा समेत नदिएका उनले सरकारबाट जाने बेला नजिकिँदै गर्दा विभिन संघसंस्थालाई २० करोड रुपैयाँ बाँड्न लागेका हुन्। मन्त्री श्रेष्ठले आफू निकट रहेका र विभिन्न राजनीति व्यक्तिहरूको नाममा खुलेका तथा सांस्कृतिक संघ संस्थालाई पैसा बाँड्ने काम अन्तिम चरणमा पुर्‍याएका छन्।

images

पर्यटन मन्त्रालय स्रोतका अनुसार श्रेष्ठले आफू निकट र सत्ता गठबन्धनमा रहेका पार्टीहरूका संघ संस्थालाई रकम बाँड्न लागेका हुन्।

images

रकम बाँड्नकै लागि मन्त्री श्रेष्ठले आफू निकट कर्मचारीलाई दबाब दिँदै 'प्रतिष्ठान वा संस्थाहरूलाई अनुदान उपलब्ध गराउनेसम्बन्धी मापदण्ड २०७९' तयार पारेका छन्। मापदण्ड नै तयार नगरी मन्त्री श्रेष्ठले पैसा पाउनेको सूची तयार पारेको मन्त्रालय स्रोतको दाबी छ।

images
images

पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले अहिले कामचलाउ सरकार भएको बेला रकम बाँड्ने गरी मापदण्ड स्वीकृत गर्न नमाने पनि मन्त्री श्रेष्ठले जबरजस्ती रकम बाँड्न लागेका हुन्।

मन्त्रालयलाई आर्थिक वर्ष २०७९/०८० को बजेटमा नेपालको राजनीतिक, सांस्कृतिक, सामाजिक तथा पर्यटन क्षेत्रमा विशिष्ट योगदान पुऱ्याएका व्यक्तिहरू, राष्ट्रिय विभूतिहरू, शहीदहरूको नाममा स्थापना भएका प्रतिष्ठान वा संस्थालगायतलाई अनुदान उपलब्ध गराउन २० करोड रुकम विनियोजन भएको थियो। तर मन्त्री श्रेष्ठले पदबाट राजीनामा दिनुपर्ने अवस्थामा रकम बाँड्न लागेका हुन्।

अनुदान वितरणका लागि तयार पारिएको मापदण्डमा पाँचवटा सर्त बनाइए पनि आफूखुसी रकम बाँड्नेगरी मन्त्री श्रेष्ठले सूची तयार पारेका छन्।

मन्त्रीले रकम बाँड्ने दबाबमा हतार हतार तयार पारेको मापदण्डमा नेपालको राजनैतिक र ऐतिहासिक क्षेत्रमा योगदान पुर्‍याएका विशिष्ट राजनेताहरूको नाममा स्थापित प्रतिष्ठानहरू, राजनैतिक व्यक्तित्वहरूको नाममा स्थापित प्रतिष्ठानहरू, विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्वहरूको नाममा स्थापित प्रतिष्ठान/संस्थाहरू, विभिन्न धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिको नाममा स्थापित संघ संस्थाहरू र अन्य धार्मिक, साँस्कृतिक र सामाजिक संस्थाहरू रहने भनेर उल्लेख गरिएको छ। तर श्रेष्ठले नेकपा एसका कार्यकर्ताको नाममा रहेको संस्थाहरूलाई रकम बाँड्न लागेको मन्त्रालय स्रोतको दाबी छ।

श्रेष्ठले नेपालको राजनैतिक र ऐतिहासिक क्षेत्रमा योगदान पुर्‍याएका विशिष्ट राजनेताहरूको नाममा पार्टीका नेताका नामका संस्थाहरू र प्रतिष्ठानहरूलाई १ करोड २५ लाख रुपैयाँका दरले रकम बाँड्न लागेको मन्त्रालयका एक सहसचिवले जानकारी दिए।

यसैगरी राजनैतिक व्यक्तित्वहरूको नाममा स्थापित प्रतिष्ठानहरूलाई ७० लाख रुपैयाँ, विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्वहरूको नाममा स्थापित प्रतिष्ठान/संस्थाहरूलाई २५ लाख, विभिन्न धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिको नाममा स्थापित संघ संस्थाहरूलाई १० लाख रुपैयाँ र अन्य धार्मिक, साँस्कृतिक र सामाजिक संस्थाहरूलाई ५ लाख रुपैयाँका दरले २० करोड बाँड्न लागेका हुन्।

जानेबेलामा ठूलो रकम बाँड्न लागेका पर्यटनमन्त्री श्रेष्ठ मंगलबार विश्वकप फुटबलका लागि कतार जाँदैछन्। नेपाल वायुसेवा निगमको खर्चमा कतार जान लागेका श्रेष्ठले जनमत नभएको अवस्थामा पनि राज्यस्रोतको गलत प्रयोग निरन्तर गरिरहेका छन्।

images

प्रकाशित : सोमबार, मंसिर १२ २०७९०७:५२

प्रतिक्रिया दिनुहोस