काठमाडौं- विश्वकपका हरेक खेलका हरेक कुनामा नजर राख्न क्यामरा राखिएका छन्। फुटबलमा रेफ्रीको गलत निर्णयले उत्पन्न हुनसक्ने विवाद कम गर्न लागू गरिएको भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) प्रणालीमा त्यसमार्फत नै काम भइरहेको छ।
गएको रसिया विश्वकपदेखि नै भीएआर प्रविधि सुरु भएको भए पनि अहिले कतार विश्वकपसम्म त्यसको प्रयोग निकै परिष्कृत भइसकेको छ। जसले रेफ्रीको निर्णयमा पुनर्विचार गर्दै नतिजा उल्टिएका पनि छन्।
विश्वकपको सुरुवाती खेलमा नै आयोजक कतारविरुद्ध इक्वेडरका इनर भ्यालेन्सियाले सुरुवाती समयमा नै गोल गरेका थिए, जसलाई भीएआरको प्रयोगपछि 'अफसाइड' देखाइयो। विश्वकप दाबेदार टिमका रुपमा हेरिएको अर्जेन्टिनालाई साउदी अरबले मंगलबार २-१ गोलले हराउँदा पनि भीएआरको प्रयोग महत्वपूर्ण रह्यो। जसले भीएआरको प्रयोगले फुटबलमा यस प्रविधिको महत्व के हो भन्ने बुझाएको छ।
पछिल्लो पाँच वर्षयता नै विश्वका प्रतिष्ठित लिग फुटबलमा भइरहेको यसको प्रयोगले पनि भीएआरका विपक्षमा उठिरहेका आवाजहरू कमजोर हुँदै गइरहेका छन्। रसिया विश्वकपमा नै त्यसअघिको १३ पेनाल्टी गोलको कीर्तिमान तोडिँदै २९ पेनाल्टी भएका थिए। जसमा भीएआर महत्वपूर्ण सावित भएको थियो।
यो प्रविधिले फुटबल खेललाई आधारभूत रुपमा फरक पार्न सक्ने प्रमाणित भइरहेकै छ। यसले खेलमा रेफ्रीले गरेका केही महत्वपूर्ण निर्णयहरू उल्ट्याएर नतिजामा नै फरक पार्न सक्छ।
यसका समर्थकहरूले भीएआरले निर्णयहरू निष्पक्ष बनाउन सुनिश्चितता गर्ने र उत्कृष्ट टिमले जित्ने दावी गर्छन्। तर, यी समर्थकहरू यो प्रविधिको प्रयोगमा केही रेफ्रीहरू अझै पनि दुविधामा रहेको स्वीकार्छन्।
रसिया विश्वकपमा प्रयोग गरिएको प्रविधिबाट अघि बढ्दै कतार विश्वकपमा 'सेमी अटोमेटेड अफसाइड' प्रविधिको प्रयोगसमेत भइरहेको छ। जसले छिटो र सटिक ढंगले निर्णय लिन सहयोग गरिरहेको छ। जसका लागि छुट्टै १२ वटा क्यामराहरू मैदानमा जडान गरिएका छन्। जसले हरेक खेलाडीमाथि चनाखो निगरानी गरिरहेको हुन्छ। जसले निकै नै अप्ठ्यारो परिस्थितिमा पनि 'अफसाइड'को निर्णयलाई सहज बनाइरहेको छ।
भीएआरले कसरी काम गर्छ?
खासमा यो एक थप रेफ्री हो जसले खेल हेरेर अफिसियलहरूलाई निर्णयमा सल्लाह दिन्छ। अभ्यासमा भने यो अलि जटिल हुन सक्छ।
केही रेफ्रि भिडियो असिस्टेन्ट रेफ्रीको रुपमा छानिन्छन्। खेल जहाँ भएपनि उनीहरू विशेष स्थानमा रेफ्रीले लगाउने कपडा लगाएर बसेका हुन्छन्, उनीहरूलाई देख्दा लाग्छ उनीहरू मैदानमा जतिखेर पनि प्रवेश गर्न सक्छन्। यीमध्ये एकजना प्रत्येक खेलको लागि चुनिन्छन् र उनीहरूको तीन सहयोगीसहितको टिम हुन्छ।
त्यहाँ उनीहरूले रंगशालाभित्रबाट भिडियो स्ट्रिमिङ प्राप्त गर्छन्, जसमा स्लो मोसन क्यामेराको दृश्यसहित अन्य सबै क्यामेरामा कैद भएका दृश्य हुन्छन्।
भीएआरले सबै खेल पूरै हेर्छन्। यदि उनीहरूले केही गलत देखेमा रेफ्रीलाई जानकारी दिन्छन्। त्यसपछि रेफ्रीले आवश्यक ठानेमा उनी भीएआरसँग जोडिन सक्छन्। अथवा रेफ्रिले आफूले निर्णय दिइसकेपछि पनि केही दुविधा भएर भीएआरको सहयोग लिन चाहेमा लिन सक्छन्।
यस्तोमा भीएआरले सल्लाह दिने मात्रै हो। यदि भीएआरले रेफ्रीको निर्णयभन्दा उल्टो सल्लाह नै दिए पनि सबै निर्णय गर्ने अधिकार भने मैदानमा रहेका रेफ्रीमै हुन्छ।
भिडियो रेफ्रीले के के सुझाव दिन सक्छ?
फिफाले यो प्रविधिलाई विश्वकपमा प्रयोग गर्ने अनुमति त दिएको छ। तर उसले यस प्रविधि केही सीमित निर्णयहरूको लागि मात्रै प्रयोग गर्न पाउने बनाएको छ।
१. गोल
गोल भएको हो कि होइन भन्ने हेर्नको लागि भीएआरको प्रयोग गर्न सकिन्छ। तर, गोलको लागि गरिएको प्रयासमा पनि यसले फैसला गर्न सक्छ, बलले जाली चुम्दा मात्रै होइन। यदि कुनै गोल दिँदा कुनै उल्लंघनले यसलाई रोक्न सक्छ भने भीएआरको सहयोगले यस्तो गोल दिनबाट रोक्न सकिन्छ।
२. पेनाल्टी
पेनाल्टी दिन उपयुक्त छ कि छैन भन्ने भीएआरमार्फत हेर्न सकिन्छ त्यस्तै दिइएको निर्णय उल्ट्याउन पनि सकिन्छ।
३. रातो कार्ड
यदि रेफ्रीले फोउल भएको निर्णय गरे भने भीएआर त्यस फोउलको लागि रातोकार्ड दिने कि नदिने भनेर निर्णय गर्न प्रयोग गर्न सकिन्छ। भिडियो प्रविधिको प्रयोगमा रातो कार्ड दिने नदिने निर्णय गर्नु धेरै विवादास्पद कुरा हुन सक्छ।
४. पहिचानमा गल्ती
भीएआरको जिम्मेवारीको सबैभन्दा महत्वपूर्ण काम यो हो। यसले गलत खेलाडीलाई पो अनुशासनको कारबाही गरिएको छ कि भनेर हेर्ने काम गर्छ। र यदि त्यस्तो भेटियो भने रेफ्रीले सच्याउन सक्छन्।
भीएआर प्रयोग भैरहेको कसरी थाहा पाउने?
भीएआरको सम्पूर्ण प्रणाली रेफ्रीमा केन्द्रित हुन्छ। यसको प्रयोगको तीन तरिका छन्। पहिलो अवस्थामा रेफ्रीले आफ्नो कानमा जोडिएको यन्त्रमार्फत निर्णयमा समीक्षा गर्नुपर्ने सन्देश प्राप्त गर्न सक्छन्।
भीएआरले रेफ्रीलाई निर्णय परिवर्तन गर्ने वा नगर्ने संकेत दिनको लागि एउटा शब्द भन्ने गर्छन्। दर्शकहरूले यस्तो भैरहेको थाहा नपाउन पनि सक्छन् वा रेफ्रीले आफ्नो इयर पिस समातेको जस्तो मात्रै देख्न सक्छन्।
दोस्रो अवस्थामा भिडियो प्रक्रिया प्रयोग भएको अलि औपचारिक रुपमा देख्न सकिन्छ। यसको सहयोगको लागि रेफ्रीले हावामा टिभीजस्तो संकेत बनाउँछन् र भीएआर रेफ्रिले रिप्ले हेरेर सुझाव दिन्छन्। त्यसको लागि भीएआर रेफ्रिले यन्त्रमार्फत सन्देश दिन्छन्। त्यसपछि रेफ्रीले निर्णय गर्छन् र हावामा टिभीको जस्तो संकेत बनाएर खेल सुरु गर्नेछन्।
तेस्रो अवस्था धेरै नै प्रष्ट हुन्छ। यसले रंगशालाको माहौल नै शान्त बनाउँछ र यो अलि निराशाजनक पनि हुन सक्छ। रेफ्रीहरू मैदान नजिकको सानो रिभ्यु स्टेशनमा जान्छन् र हावामा टिभीको संकेत बनाउँछन्। उनीहरूले त्यहाँ रिप्ले हेर्छन् र छलफल गरेर निर्णय गर्छन्।
सबै अवस्थामा रेफ्रीले भीएआरबिनाको परम्परागत तरिकामा झैँ निर्णयको संकेत गर्छन्। निर्णय कसरी भयो भन्ने जानकारी दिन हावामा टिभीको संकेत बनाउँछन् र नियमित तरिकाबाट खेल सञ्चालन गर्छन्।
यो किन विवादित छ?
भीएआर प्रयोगमा आउन धेरै समय लाग्यो। किनभने, यसले फुटबल खेलको गति र रोमाञ्चकतालाई बिगार्न सक्ने धेरैको डर थियो।
आलोचकहरूका अनुसार रेफ्रीहरूले भीएआर प्रयोग गरेर फुटेज हेर्दै निर्णय गर्दा त्यसले खेलमा बाधा दिन्छ। त्यस्तै यसले रेफ्रीको महत्वपूर्ण भूमिकालाई ओझेलमा पार्ने र खेलमा निर्णयको लागि यसमा भर पर्न बाध्य हुने अवस्था ल्याउने बताउँदै आएका छन्।
तर यसका समर्थकहरूले यस्तो कुराको खण्डन गर्छन्। यसको प्रयोग गर्दा खेलमा निर्णय गर्न समस्या भएको बेलामा मात्रै खेल रोकिने भएकाले खासै फरक नपर्ने उनीहरूको दाबी छ। यसले रेफ्रीबाट हुन सक्ने गलत निर्णय धेरै मिल्ने अवस्थासम्म हटाउने भएकाले यसको प्रयोग आवश्यक रहेको उनीहरूको धारणा छ।