शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

चुनावको सुरुवाती परिणामले अन्योलमा लगानीकर्ता, सेयर बजारमा उतारचढावकै संकेत

मंगलबार, मंसिर ६ २०७९
चुनावको सुरुवाती परिणामले अन्योलमा लगानीकर्ता, सेयर बजारमा उतारचढावकै संकेत

काठमाडौं- धितोपत्र बजारमा चुनावपछि भएको पहिलो कारोबार उत्साहजनक देखिन सकेन। गएको आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि बजारले लय समात्ने विश्लेषण भइरहेका थिए। तर त्यसअनुरुप बजारको गति देखिएन।

पछिल्ला दिनमा निर्वाचनको माहोलमा सकारात्मक प्रभाव देखिएको बजारमा चुनावको सुरुवाती परिणाम आइरहँदा सेयर बजारमा त्यसको सकारात्मक प्रभाव देखिएको छैन। मिश्रित चुनावी परिणामले सेयर लगानीकर्तामा झनै अन्योल थपिएको विश्लेषकहरू बताउँछन्।

मंगलबार ७.१३ अंकले घटेर बजार १९२९.७० बिन्दुमा झरेको छ। ५२ कम्पनीको सेयर मूल्य बढ्दा १ अर्ब ३५ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

वैदेशिक मुद्राको सञ्चितिमा वृद्धि भएको, शोधनान्तर नाफामा रहेको तथा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार भएलगायतका कारणले पनि मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गएको देखिन्छ। तर चुनावी परिणामले सिर्जना गर्नसक्ने सरकार गठनको अन्योलताले सेयर बजारमा प्रभाव पर्ने विश्लेषकहरू बताउँछन्। 

मिश्रित चुनावी मतपरिणामले सेयर लगानीकर्तामा झनै अन्योल थपिँदा सेयर बजार बढ्न सकेन। चुनावपछि आर्थिक सूचकले साथ दिने र सेयर बजारमा उत्साह आउने अनुमानकाबीच बजार बढ्न सकेन।

यसअघि मङ्सिर १ गते बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ५७ अङ्कले उकालो लागेर १९३६.८३ मा पुगेको थियो। बिहीबारको कारोबारपछि बजार पुँजीकरण २७ खर्ब ८६ अर्ब २ करोड ३४ लाख ५१ हजार ३ सय ८७ बराबर रहेको थियो।

अब बन्ने नयाँ सरकार र अर्थमन्त्री हेरेर मात्रै बजारमा गति अनुमान गर्न सकिने विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : मंगलबार, मंसिर ६ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend