शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

उतारचढावपूर्ण सेयर बजार चुनावपछि जाला उचाइतर्फ?

शनिबार, मंसिर ३ २०७९
उतारचढावपूर्ण सेयर बजार चुनावपछि जाला उचाइतर्फ?

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार अब यही मङ्सिर ६ गते मंगलबार मात्रै हुने भएको छ। आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले सेयर कारोबारसमेत बन्द हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ।

मङ्सिर ४ गते आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। सरकारले निर्वाचनलाई केन्द्रमा राखेर ४ र ५ गते बिदा सार्वजनिक बिदा दिएको छ। त्यसकारण सेयर कारोबार पनि ती दिनमा नहुने भएको हो।

पछिल्ला दिनमा निर्वाचनको माहोल बढ्दै जाँदा त्यसको सकारात्मक प्रभाव बजारमा परेको थियो। वैदेशिक मुद्राको सञ्चितिमा वृद्धि भएको, शोधनान्तर नाफामा रहेको तथा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार भएलगायतका कारणले पनि मुलुकको अर्थतन्त्रमा सुधार भएको छ।

त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको हो। मङ्सिर १ गते बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ५७ अङ्कले उकालो लागेर १९३६.८३ मा पुगेको थियो। बिहीबारको कारोबारपछि बजार पुँजीकरण २७ खर्ब ८६ अर्ब २ करोड ३४ लाख ५१ हजार ३ सय ८७ बराबर रहेको थियो।

अपेक्षाअनुरुप सुधार देखिन नसकेको सेयर बजारमा चुनावअघिको अन्तिम कारोबारका दिन भने उत्साह देखिएको थियो। चुनावअघि ठूलै अंकले बजार बढ्ने आँकलन गरिएता पनि बढ्न सकेको थिएन। 

गतसाता आइतबार १०.५४ अंकले घटेको बजारमा सोमबार दोहोरो अंकको वृद्धि देखिएको थियो। तर मंगलबार भने बजार ६.५९ अंकले घटेको थियो। पुन: बुधबार सेयर बजार सकारात्मक बनेको थियो। बुधबार नेप्से परिसूचक १३.४० अंकले बढेर १९ सय ११.२६ बिन्दुमा रोकिएको थियो।

चुनावपछि बन्ने नयाँ सरकार र अर्थमन्त्री हेरेर मात्रै बजार बढ्ने अनुमानकाबीच बिहीबार सुधार देखिइएको हो। सेयर बजार सुधारतर्फ बढ्ने अपेक्षा भइरहँदा अहिलेको वृद्धिले केही आश जगाएको र उतारचढावपूर्ण बजार चुनावपछि लयमा फर्कने अनुमान विश्लेषकहरूले गरेका छन्। 

वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि ब्याजदर नबढाउने भएका छन्। नेपाल बैंकर्स संघको मंगलबार बिहान बसेको बैठकले ब्याजदर नबढाउने निर्णय गरेको हो। बैंकहरूले कात्तिक महिनाकै ब्याजलाई निरन्तरता दिँदै मंसिर महिनामा ब्याज नबढाउने निर्णय गरेको हो।

बढ्दो ब्याजविरुद्ध उद्योगी व्यवसायीले देशब्यापी आन्दोलन गरेपछि ब्याज घट्न सक्ने अपेक्षा गरिए पनि बैंकहरूले कात्तिक महिनाकै ब्याजलाई यथावत राख्ने निर्णय गरेका हुन्। विश्लेषकहरूले अर्थतन्त्रमा केही सुधारका संकेत देखिएकोले चुनावपछि सेयर बजार थप बढ्ने अनुमान गरेका छन्। धितोपत्र बजार क्रमशः विस्तार हुने क्रममा रहेकाले पनि आउने समय लगानीकर्ताको हितमा रहने विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : शनिबार, मंसिर ३ २०७९०६:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend