शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

चुनावअघि सेयर बजारमा देखियो उत्साह, चुनावपछि के होला?

बिहीबार , मंसिर १ २०७९
चुनावअघि सेयर बजारमा देखियो उत्साह, चुनावपछि के होला?

काठमाडौं- अपेक्षाअनुरुप सुधार देखिन नसकेको सेयर बजारमा चुनावअघिको अन्तिम कारोबारका दिन भने उत्साह देखिएको छ। चुनाव आउन तीनदिन मात्रै बाँकी हुँदा सेयर बजार सकारात्मक देखिइएको छ। चुनावअघि ठूलै अंकले बजार बढ्ने आँकलन गरिएता पनि बढ्न सकेको थिएन। बिहीबार भने बजारमा उत्साह देखिएको छ।  

बिहीबार २५.५७ अंकले बढेर बजार १९३६.८३ बिन्दुमा पुगेको छ। जहाँ १ अर्ब ७१ करोड ५४ लाख रुपैयाँको कारोबार हुँदा १७२ कम्पनीको सेयर मूल्य बढेको छ। 

यो साता आइतबार १०.५४ अंकले घटेको बजारमा सोमबार दोहोरो अंकको वृद्धि देखिएको थियो। तर मंगलबार भने बजार ६.५९ अंकले घटेको थियो। पुन: बुधबार सेयर बजार सकारात्मक बनेको थियो। बुधबार नेप्से परिसूचक १३.४० अंकले बढेर १९ सय ११.२६ बिन्दुमा रोकिएको थियो।

चुनावपछि बन्ने नयाँ सरकार र अर्थमन्त्री हेरेर मात्रै बजार बढ्ने अनुमानकाबीच बिहीबार सुधार देखिइएको हो। सेयर बजार सुधारतर्फ बढ्ने अपेक्षा भइरहँदा अहिलेको वृद्धिले केही आश जगाएको र उतारचढावपूर्ण बजार चुनावपछि लयमा फर्कने अनुमान विश्लेषकहरूले गरेका छन्। 

वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर नबढाउने भएका छन्। नेपाल बैंकर्स संघको मंगलबार बिहान बसेको बैठकले ब्याजदर नबढाउने निर्णय गरेको हो। 

बैंकहरुले कात्तिक महिनाकै ब्याजलाई निरन्तरता दिँदै मंसिर महिनामा ब्याज नबढाउने निर्णय गरेको हो। बढ्दो ब्याज विरुद्ध उद्योगी व्यवसायीले देशब्यापी आन्दोलन गरेपछि ब्याज घट्न सक्ने अपेक्षा गरिए पनि बैंकहरुले कात्तिक महिनाकै ब्याजलाई यथावत राख्ने निर्णय गरेका हुन्। विश्लेषकहरुले अर्थतन्त्रमा केही सुधारका संकेत देखिएकोले चुनावपछि सेयर बजार थप बढ्ने अनुमान गरेका छन्। 


प्रकाशित : बिहीबार , मंसिर १ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend