शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

विदेशी मुद्राको सञ्चिति बढ्यो

बुधबार, कात्तिक ३० २०७९
विदेशी मुद्राको सञ्चिति बढ्यो

चालु आवको पहिलो तीन महिनाकोे कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा उल्लेख छ।

काठमाडौं- लामो समयदेखि घट्दो क्रममा रहेको वैदेशिक मुद्राको सञ्चिति क्रमशः  बढ्न थालेको छ। सरकारले केही वस्तुको आयातमा गरेको कडाइ गरेसँगै वैदेशिक मुद्राको सञ्चितिमा सुधार भएको हो।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विदेशी विनिमय सञ्चिति १२ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ बराबर पुगेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको तेस्रो महिनासम्मको विवरणअनुसार कुल विदेशी विनिमय सञ्चिति दुई दशमलव पाँच प्रतिशतले वृद्धि भएको हो।

यो वृद्धिसँगै मुलुकको वस्तु आयात गर्न सक्ने क्षमतामा समेत सुधार भएको छ। केन्द्रीय बैंकका अनुसार बाह्य क्षेत्रमा केही सुधार भएको पाइएको हो। अघिल्लो आवको अन्त्यमा विदेशी मुद्राको सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर थियो।

अमेरिकी डलरमा भने विनिमय सञ्चिति शुन्य दशमलव छ प्रतिशतले घटेर नौ अर्ब ४८ करोड कायम भएको छ। अघिल्लो वर्षको अन्यमा यस्तो सञ्चिति नौ अर्ब ५४ करोड थियो।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा गत असोज मसान्तमा चार दशमलव तीन प्रतिशतले वृद्धि भइ ११ खर्ब एक अर्ब ६० करोड रुपैयाँ पुगेको छ।

त्यस्तै बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा एक खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा असोज मसान्तमा नौ दशमलव तीन प्रतिशतले कमी आई एक खर्ब ४४ अर्ब ६२ करोड रुपैयाँ रहेको छ।

चालु आवको पहिलो तीन महिनाकोे कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा उल्लेख छ। विसं २०७८ साउनमा १३ खर्ब ५४ अर्ब ८२ करोड रुपैयाँ बराबर रहेको विदेशी मुद्राको सञ्चिति लगातार ओरालो लागेर गत वैशाखमा ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँमा झरेको थियो।

केन्द्रीय बैंकका अनुसार, अहिले विदेशी मुद्राको सञ्चिति एक महिनामै ५७ अर्बले बढेर १२ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ बराबर पुगेको छ। यो रकमले  नौ दशमलब छ महिनाको वस्तु र आठ दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने विवरणमा उल्लेख छ।


प्रकाशित : बुधबार, कात्तिक ३० २०७९११:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend