शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

नेपाल बैंक : असफलताको नमिठो पाठदेखि सफलताको उचाइसम्म

बुधबार, कात्तिक ३० २०७९
नेपाल बैंक : असफलताको नमिठो पाठदेखि सफलताको उचाइसम्म

नेपाली बजारमा भारतीय रुपैयाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले खेलेको भूमिका इतिहासका पानामा स्वर्णिम अक्षरले लेखिएका छन्। 

काठमाडौं- नेपालको पहिलो बैंक कुन होला? आम मानिसलाई सोध्दा सहजै उत्तर दिन्छन्- नेपाल बैंक।

मुलुकको नामबाटै राखिएको यो बैंकको आफ्नै गौरवपूर्ण इतिहास छ। नियामक निकायका रुपमा रहेको नेपाल राष्ट्र बैंकभन्दा पनि जेठो यस बैंकले अनेकन घुम्ती, मोड र सुखदुःख व्यहोरेको छ। बैंकिङ प्रणालीको सामान्य सिद्धान्त विपरीत दिइएका कर्जाका कारण कुनै समय समस्यामा परेको सो बैंक पछिल्ला दिनमा भने अन्य निजी क्षेत्रका संस्था जस्तै सबल र सक्षम बन्दै गएको छ। 

सो बैंकका वित्तीय विवरणले पनि अब सबल संस्थाका रुपमा नेपाल बैंक आफ्नो गन्तव्यमा स्पष्ट छ भन्ने सन्देश दिएको छ। विसं १९९४ देखि २०१३ सम्म देशको केन्द्रीय बैंकको भूमिका समेत निर्वाह गरेको गौरवपूर्ण इतिहास समेत बोकेको छ। 

नेपाली बजारमा भारतीय रुपैयाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले खेलेको भूमिका इतिहासका पानामा स्वर्णिम अक्षरले लेखिएका छन्। 

विसं १९९४ कात्तिक ३० गते सोमबार लक्ष्मीपूजाका दिन स्थापना भएको सो बैंक आजदेखि ८६ वर्षमा प्रवेश गरेको छ। नेपालको समग्र आर्थिक एवं वित्तीय क्षेत्रको एउटा ऐनाका रुपमा रहेको बैंकले विगतमा अनेकन आरोह अवरोह भोगेको छ। 

बैंकको उद्घाटन तत्कालीन राजा त्रिभुवनले गरेका थिए। विश्वव्यापी रुपमा बैंकिङको अभ्यास धेरै पहिले भए पनि नेपालमा भने २०औँं शताब्दि कुर्नुपरे पनि नेपालको नामसँगै जोडिएको यो बैंक सार्वजनिक निजी साझेदारीमा ढाँचामा सुरु भएको पहिलो वित्तीय संस्था हो। 

स्थापना गर्दा बैंकमा १० जना लगानीकर्ता थिए। सुरुवाती वर्षमा आठ लाख ४२ हजार चुक्तापुँजी र १७ लाख रुपैयाँ निक्षेपबाट सुरु भएको बैंकले गत असोज मसान्तसम्म एक खर्ब ९७ अर्ब रुपैयाँ बराबर निक्षेप संकलन गरेको छ। त्यस्तै एक खर्ब ७३ अर्ब ५४ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले जानकारी दिए। 

छयासी वर्ष पहिले सुुरु भएको सो बैंकको चुक्ता पुँजी हाल १४ अर्ब ४० करोड रुपैयाँ बराबर छ। हरेक वर्ष मुनाफा कमाउँदै आएको सो बैंकको जगेडा कोषमा २१ अर्ब ६८ करोड रुपैयाँ बराबरको रकम छ। कुनै समय खराब कर्जाका कारण समस्यामा फसेको सो बैंकले क्रमशः त्यसलाई व्यवस्थापन गरेर हाल वित्तीय परिसूचकका आधारमा नेपालको बैंकिङ क्षेत्रको एउटा सशक्त बैंकका रुपमा उभिएको छ।

प्रमुख कार्यकारी अधिकृत अधिकारी भन्छन्, 'हामी अस्तीभन्दा हिजो उन्नत, हिजोभन्दा आज उन्नत र आजभन्दा भोलि उन्नत, गुणस्तरीय, भरपर्दो र अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउन सदैव प्रयत्नशील छौँ।'

बालक, वृद्ध, प्रौढ हुँदै ज्येष्ठ नागरिकको रोजाइमा रहेको भन्ने दाबी गर्ने बैंकमा हाल २३ लाख बढी ग्राहक जोडिएका छन्। एकाध वर्ष पहिलेसम्म पनि निजी क्षेत्रका अन्य बैंकले अत्याधुनिक प्रविधिको सुरु गर्दासमेत सो बैंक परम्परागत  रुपमा नै ढ्डामा नै आधारित थियो।

समय बदलियो, बैंकको नेतृत्व बदलियो, सोच र योजनामा पनि परिवर्तन आयो। फलस्वरुप नेपाल बैंकले पनि आधुनिक बैंकिङ प्रणाली अवलम्बन गर्‍यो। बैंकिङ क्षेत्रमा उपलब्ध सबै प्रकारका सेवा उपलब्ध गराइरहेको सो बैंकले डिजिटल बैंकिङ सेवा पनि प्रदान गरेको छ। कुल दुई सय २६ शाखामार्फत् कारोबार गर्दै आएको सो बैंकको एक सय १९ एटीएम, ५० वटा एक्सटेन्सन काउन्टर सञ्चालन गरिरहेको छ। 

आधुनिक प्रविधिसँगै बैंकमा युवा पुस्ताको प्रवेशले बैंकलाई गतिशील व्यवहारिक र प्रविधिमा पनि उत्तिकै निपूर्ण बनाएको बैंकका सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवालीको भनाइ छ। बैंकमा कार्यरत जनशक्तिको औसत उमेर ३६ वर्ष छ भने राज्य अंगालेको समावेशीतालाई पनि उत्तिकै आत्मसात गरेको छ। 

कृषि, पर्यटन, जलविद्युत जस्ता क्षेत्रमा सरकारको नीति अनुसार प्राथकिता प्राप्त क्षेत्रमा बैंकले उल्लेख्य लगानी गरेको छ। युवा स्वरोजगार, विदेशबाट फर्किएका सीपयुक्त जनशक्तिलाई आत्मनिर्भर बनाउनका लागि बैंकले अन्य संस्थाको तुलनामा महत्वपूर्ण योदना दिएको छ। रासस


प्रकाशित : बुधबार, कात्तिक ३० २०७९११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend