शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एक वर्षमा १२८८ बिन्दुले घटेको सेयर बजार चुनावपछि कता जाला?

बिहीबार , मंसिर १ २०७९
एक वर्षमा १२८८ बिन्दुले घटेको सेयर बजार चुनावपछि कता जाला?

२०७८ असोजमा सूचीकृत कम्पनीहरूको संख्या २२२ रहेको थियो। सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६८.६ प्रतिशत रहेको छ। 

काठमाडौं- विगत एक वर्षदेखि सेयर बजार सकारात्मक हुन सकेको छैन। २०७८ भदौमा ३१९९ बिन्दुमा पुगेको सेयर बजार लगातार घटिरहेको छ। बुधबार नेप्से १९११.२६ बिन्दुमा रहेको छ। 

२०७८ असोज मसान्तमा २६५७ रहेको नेप्से सूचक २०७९ असोज मसान्तमा १८५८.३ कायम भएको थियो। २०७९ असोज मसान्तमा धितोपत्र बजार पुँजीकरण २६७२ अर्ब ७९ करोड रहेको छ। २०७८ असोज मसान्तमा बजार पुँजीकरण ३७१९ अर्ब ७२ करोड रहेको थियो। 

२०७९ असोजमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २४२ पुगेको छ। सूचीकृत कम्पनीहरुमध्ये १४६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ५९ जलविद्युत कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। 

२०७८ असोजमा सूचीकृत कम्पनीहरूको संख्या २२२ रहेको थियो। सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६८.६ प्रतिशत रहेको छ। 

त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १०.५ प्रतिशत, लगानी कम्पनीको ६.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.४ प्रतिशत, होटेलको हिस्सा १.७ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.१ प्रतिशत रहेको छ। 

नेप्सेमा २०७९ असोजसम्ममा सूचीकृत ६ अर्ब ८२ करोड सेयरको चुक्ता मूल्य ६७२ अर्ब ६९ करोड रहेको छ। आर्थिक वर्ष २०७९/८० को तीन महिनामा ३५ अर्ब बराबरको विकास ऋणपत्र, २५ अर्ब ४४ करोड बराबरको डिबेन्चर, ९ अर्ब २९ करोड बराबरको बोनस सेयर, ६ अर्ब ५७ करोड बराबरको साधारण सेयर जारी को अनुमती दिएको थियो। 

३ अर्ब ८ करोड बराबरको म्युचुअल फण्ड र १ अर्ब २१ करोड बराबरको हकप्रद सेयर गरी कुल ८० अर्ब ७८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्। समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ४ अर्ब २४ करोड बराबरको डिबेन्चर, ३ अर्ब १५ करोड बराबरको म्युचुअल फण्ड, १ अर्ब ५ करोड बराबरको साधारण सेयर, ९५ करोड बराबरको हकप्रद सेयर गरी कुल ९ अर्ब ३९ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ।

चुनावपछि के होला? 

चुनाव आउन केही दिन मात्रै बाँकी हुँदा सेयर बजार सकारात्मक देखिइएको छ। चुनावअघि बजार बढ्ने आंकलन गरेता पनि बढ्न सकेन। गत आइतबार १०.५४ अंकले घटेको बजारमा सोमबार दोहोरो अंकको वृद्धि देखिएको थियो। तर मंगलबार भने बजार ६.५९ अंकले घटेको थियो। पुन बुधबार सेयर बजार सकारात्मक बनेको हो। 

बुधबार नेप्से परिसूचक १३.४० अंकले बढेर १९ सय ११.२६ बिन्दुमा रोकिएको छ। बुधबार २४ लाख ९५ हजार कित्ता सेयर किनबेच हुँदा ८५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको हो।  चुनावपछि बन्ने नयाँ सरकार र अर्थमन्त्री हेरेर मात्रै बजार बढ्ने अनुमानकाबीच बुधबार केही सुधार देखिइएको हो। जसका कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन्। 

मंगलबार सेयर बजार ६.५९ अंकले घटेर १८ सय ९७.८६ बिन्दुमा रोकिएको थियो। मंगलबार २७ लाख ४५ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब २ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। सेयर बजार सुधारतर्फ बढ्ने अपेक्षा भइरहँदा सोमबारको वृद्धिले केही आश जगाएको र उतारचढावपूर्ण बजार चुनावपछि लयमा फर्कने अनुमान विश्लेषकहरूले गरेका छन्। 

सोमबार २१.२६ अंकले बढेर बजार १९०४.४३ बिन्दुमा पुगेको थियो। १४८ कम्पनीको सेयर मूल्य बढ्दा ९४ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो। 

पछिल्लो समय उतारचढावपूर्ण अवस्थामा देखिएको सेयर बजारमा लगानीर्ताहरू निरास भइरहेको संकेतहरू देखिएका छन्। चुनावी माहोलले बढ्ने अपेक्षा गरिएको बजारमा खास उत्साह देखिन सकेको छैन। बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि उस्तै छ। 

यता वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर नबढाउने भएका छन्। नेपाल बैंकर्स संघको मंगलबार बिहान बसेको बैठकले ब्याजदर नबढाउने निर्णय गरेको हो। 

बैंकहरुले कात्तिक महिनाकै ब्याजलाई निरन्तरता दिँदै मंसिर महिनामा ब्याज नबढाउने निर्णय गरेको हो। बढ्दो ब्याज विरुद्ध उद्योगी व्यवसायीले देशब्यापी आन्दोलन गरेपछि ब्याज घट्न सक्ने अपेक्षा गरिए पनि बैंकहरुले कात्तिक महिनाकै ब्याजलाई यथावत राख्ने निर्णय गरेका हुन्। विश्लेषकहरुले अर्थतन्त्रमा केही सुधारका संकेत देखिएकोले चुनावपछि बजार बढ्ने अनुमान गरेका छन्।  धितोपत्र बजार क्रमशः विस्तार हुने क्रममा हुनुका साथै निर्वाचनको माहोल चरम बिन्दुमा पुगेको अवस्थामा पनि बजारले अपेक्षाकृत साथ पाउन सकेको छैन।

सेयर बजार उतारचढावपूर्ण अवस्थाबाट चुनावी चहलपहलसँगै लगातार वृद्धिको बाटोमा देखिने विश्लेषण भइरहँदा त्यसअनुरुप वृद्धि भने देखिन सकेको छैन। अहिलेको अवस्थाबाट बजार वृद्धिमा जाने र त्यो निरन्तर रहने विश्लेषणका बीच लगानीकर्ताहरू अझै पनि पर्ख र हेरको अवस्थामा नै देखिन्छन्।


प्रकाशित : बिहीबार , मंसिर १ २०७९०१:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend