काठमाडौं- माओवादी केन्द्रको प्रभाव क्षेत्र रहेको रुकुम पश्चिमबाट अर्थमन्त्री जनार्दन शर्मा उम्मेद्वार छन्। सत्ता गठबन्धनबाट उम्मेदवार रहेका शर्मा प्रतिस्पर्धामा सहज स्थितिमा छन्।
रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका शर्मालाई नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादीसहित सत्तागठबन्धनको सहयोग रहेको छ। माओवादी एकल रुपमा उठ्दा पनि निर्वाचन जित्दै आएको सो जिल्लामा गठबन्धनका कारण शर्मालाई थप सजिलो भएको छ।
शर्मासँगको प्रतिस्पर्धामा एमालेका नन्दराम देवकोटा रहेका छन्। शर्मा विगतका निर्वाचनहरूमा निरन्तर रुपमा सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्।
१० वर्षे सशस्त्र युद्धको क्रममा माओवादीले आफ्नो आधार इलाकाको रुपमा विकास गरेको सो क्षेत्रमा तुलनात्मक रुपमा माओवादीको संगठनात्मक उपस्थिति बलियो रहेको छ।
माओवादीभित्र प्रभावशाली नेताको रुपमा स्थापित शर्मा लामो समयदेखि सत्तामा निरन्तर रहेकाले सो निर्वाचन क्षेत्रमा भएका विकासका कामको पनि जस लिइरहने मौका पाएका छन्। चालु आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा विवादित बन्न पुगेका शर्मालाई संसदीय छानबिन समितिले सफाइ दिएपछि थप आत्मविश्वासका साथ निर्वाचनमा होमिएको उनका निकटस्थ बताउँछन्।
२०७४ सालमा भएको निर्वाचनमा ३४ हजार ४ सय २ मत ल्याएर शर्माले जितेका थिए। नेपाली कांग्रेसका गोपालजीजंग शाहलाई उनले १८ हजार ७ सय ४३ मतान्तरले हराएका थिए। गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा ६ वटा पालिका रहेको रुकुम पश्चिमका अधिकांश पालिकामा माओवादीले बिजय हासिल गरेको थियो।
रुकुम पश्चिमका ६ वटा पालिकामध्ये माओवादी एक्लैले ४ वटा पालिका प्रमुख र २ वटा पालिका प्रमुखमा नेपाली कांग्रेसले जित हासिल गरेको थियो। रुकुम पश्चिमको ६ वटा पालिकाको प्रमुखमा एमालेका उम्मेदवारले जम्मा ६ सय मत हासिल गरेका थिए। स्थानीय तह निर्वाचनको आधारलाई हेर्दा गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि साझा उम्मेदवार रहेका अर्थमन्त्री शर्मालाई एमाले उम्मेदवारसँगको प्रतिस्पर्धा अत्यन्तै सहज हुने अनुमान गर्न सकिन्छ।
रुकुममा आधारभूत पूर्वाधार बने, अब गुणस्तरीय विकास गर्नुछ : जनार्दन शर्मा
तपाईंं फेरि पनि रुकुमबाट प्रतिनिधिसभाका लागि प्रत्यासी हुनुहुन्छ। अहिलेसम्मको आफ्नो प्रतिनिधित्वलाई कसरी व्याख्या गर्नुहुन्छ?
म निर्वािचत भएदेखि जनताको अपेक्षा अनुसार धेरै ठूलो परिवर्तन भएको छ। सडक बिजुली, खानेपानी, अस्पतालमा गुणात्मक परिवर्तन भएको छ। यद्यपि त्यो पूर्ण छैन। बाटो नै थिएन मोटर नै आउँदैन थियो अहिले सबै ठाउँमा पुगेको छ। १६४३ किलोमिटर बाटो बनेको छ। तर त्यसलाई गुणस्तरीय बनाउने माग जनताको छ। एकपछि गुणस्तरीय विकासको माग बढेको छ। एक घर एक धाराको माग ५० प्रतिशत पूरा भएको छ। बिद्युतीकरण ८० प्रतिशत पूरा भएको केही गाउँहरू अझै बाँकी छन्। विद्यालय पूर्वाधारमा ७० प्रतिशतभन्दा बढी कक्षाकोठा बनेका छन्।
पछिल्लो समय जनसहभागितामा विकासका आयोजा अघि बढेका छन्। जनताकै सहभागितामा अभिायन अघि बढेका छन्। एकीकृत रुकुम विकास योजना सबैको सहभागितामा अघि बढेको छ। शिक्षा स्वास्थदेखि भौतिक पूर्वाधारको यो योजना तत्कालीन जिल्ला परिषदबाट पास भएको थियो। सबै दलको यसमा समर्थन थियो।
त्योभन्दा पनि मैले पहिलो कार्यकालमा शान्ति प्रक्रियालाई स्थापित गर्ने र जनताका अधिकार संविधान स्थपित गर्नका लागि भूमिका खेलेँ। दोस्रो कार्यकालमा संविधान निर्माणमा योगदान गरे राजनीतिक रुपमा पनि एजेन्डाका हिसाबले पनि।
तेस्रो कार्यकालमा पूर्वाधारलाई गुणस्तरीय बनाउने विषयलाई प्राथमिकता दिएँ। अहिले प्राथमिक चरणमा विकास भएको छ। सडकदेखि बिजुलीसम्म पुगेको छ। फेरि पनि तेस्रो कार्यकालमा मेरो जोड भनेको व्यक्तिगत र आर्थिक अवस्थामा परिवर्तन उत्पादनमा वृद्धि र स्वरोजगार बढाउने कुरा रह्यो। स्थानीय सरकारसँग काम गर्ने हो। यो अवधिमा स्थानीय सरकारले १७ वटा उद्योग खोलेका छन्। जुसदेखि प्लाइ उद्योगसम्म खोलेका छन्। यस्ता उद्योगबाट रोजगारी र उत्पादन बढेको छ।
कृषि सहकारी गठन गरेर सहुलियत ऋण दिएर अनिवार्य उत्पादनमा जोड्नेगरि ऋण पनि दिने र व्यापक उत्पाखनको अभिायनमा लाग्दा कोभिड आयो। यही कारणले गर्दा तेस्रो कार्यकालको अभियानले गति लिन सकेन। अब त्यसले आधार तयार गरेको छ। कृषिलाई उद्योगसँग जोड्ने वन पैदावारलाई पनि जोडेर तयारी वस्तुलाई बजारमा पठाउने तयारी भएको थियो जसलाई कोभिडले रोकेको थियो अबको मुख्य जोड भनेकै यसलाई पूरा गर्नमा हुने छ। यो समग्र पाटोलाई आर्थिक उत्पादन, रोजगारी र समृद्धिको अभियान भनेको छु। आम जनता यसमा प्रशिक्षित छन् र हामीले छिटो गर्नुपर्छ भन्ने उनीहरूको सक्रिय सहभागिता पनि छ। यतिले मात्र पुग्दैन जनताको जीवनस्तर उकास्ने हो।
उन्नत समाज निर्माणको अभियान चलाएका छौँ। यसले समाजको विभेद अन्त्य गर्छ। जातीय तथा लैंगिक वा सम्पूर्ण हिंसा अन्त्य गर्छ। सामाजिक न्यायका लागि हामीले अभियान चलाएका हौँ। कुनै पनि विभेदमा समाजको विकास हुन सक्दैन। योसँगै राज्य जनताको निगरानीमा हुनुपर्छ। जनताको निगरानीमा जनप्रतिनिधि हुनुपर्छ। पार्टीहरू पनि जनताको निगरानीमा हुनुपर्छ। म आफैँलाई खबरदारी गर्नुपर्छ। जनतालाई सक्षम बनाउनुपर्छ। यसका लागि जनतामा चेतना बढाउनुपर्छ। चेतना वृद्धिका लागि संगठित गर्ने प्रक्रिया पनि अघि बढाएका छौँ। जनताकै खबरदारीबाट नेतृत्वको विकास हुनुपर्छ।
मेरो निर्वाचन क्षेत्रमा कुनै पनि निर्वाचनसभाहरू सभाजस्ता छैनन्। संस्कृतिक सभा जस्ता छन्। दर्जनौं झाँकी आउँछन्। ती झाँकीलाई पालो दिन गाह्रो हुन्छ। हाम्रोमा भाषण कम झाँकी धेरै हुन्छ। यहाँको संस्कृतिको रक्षा गर्नु उत्तिकै महत्वपूर्ण छ। विगतदेखि नै हामीले यसको संरक्षण र विकासमा दत्त चित्त छौँ। यसलाई समाजिक संस्कृति रुपान्तरण भनेका छौँ। मुलत दुईवटा अभियान आर्थिक उत्पादन र समृद्धि र सामाजिक संस्कृतिक दुईवटा अभियान चलाएका छौँ। यसबाट एकातिर उत्पादन हुन्छ भने अर्कोतिर न्यायिक वितरणको कुरा यसबाट सफल हुन्छ। त्यहीअनुसारको समाजवादी संस्कृति पनि यसबाट स्थापित हुन्छन्। तेस्रो कार्यकालमा यी काम सुरु भएका छन्।
तपाईंको अबको प्राथमिकता के हो त?
आगामी कार्यकालमा गुणात्मक विकासलाई प्राथमिकता दिने हो। पूर्वाधारमा पनि सडक बाह्रै महिना चल्ने हुनुपर्यो। अन्य पूर्वाधार पनि त्यस्तै हुनुपर्छ। शिक्षामा पनि भौतिक पूर्वाधार त बने अब त्यहाँ डिजिटल पूर्वाधार चाहिन्छ। जिल्लामा मेडिकल तथा आइटी कलेज हुनुपर्छ। यसलाई बनाएर लागू गर्नुपर्छ। पूर्वाधारमा स्तरोन्नतिलगायतका कुरा छन्। कतिपय अहिले नै सुरु पनि भएका छन्। सिँचाइलाई सबैतिर पुर्याउने कुरा पनि होला। जलासपयुक्त आयोजना बनाएर पर्यटन र बिजुली उत्पादन पनि गर्ने अनि हरित हाइड्रोजन ऊर्जा विकासको सुरुवात गर्ने भनेका छौँ।
अर्कोतिर अहिले गठनबन्धन दलको बीचमा सहमति के भएको छ भने रुकुमलाई समाजवादको नमुना जिल्ला बनाउनुपर्छ। यसलाई गठबन्धन दलको साझा अभियान बनाउने हो। यसका लागि संयन्त्र पनि बनाएका छौँ। अबको एजेन्डा भनेको यहाँको गरिबी र बेरोजगारीको अन्त्य हो। यसमा हामी सबै सहमत छौँ। यही सपना र योजना लिएर अघि बढेका छौँ। अहिलेको मुख्य कुरा यो हो।
'जनयुद्ध' रुकुमबाट सुरु भएर यहाँहरू काम गर्ने ठाउँमा सरकारसम्म पुग्नुभयो। यसमा रुकुमका जनताको प्रतिक्रिया के छ? उहाँहरूले के भन्नुहुन्छ?
जनयुद्धमा जनताको सहभागिता, त्याग र बलिदान रहेको छ। रुकुमेली जनताले हरेक आन्दोलनमा उत्तिकै योगदान गरेका छन्। २००८ सालको विद्रोहमा कामी बुढाले योगदान गर्नुभएको थियो। हरेक आन्दोलनमा स्वतन्त्र पहिचान बनाएको छ। पञ्चायतमा पनि रुकुमा फरक पार्टी बनेको थियो। 'जनयुद्ध'मा पनि यसको विशिष्ट सहभागिता भयो। २०६३ मा आइपुग्दा माओवादीले विद्रोह भनिरहँदा हामीले विकास र समृद्धिको कुरा पनि गरेका थियौँ।
पार्टीको केन्द्रीय लाइन विद्रोह नै हुँदा पनि मैले रुकुम आएर अब विद्रोह होइन समृद्धि भनेर घोषणा गरेका थियौँ। त्यसको प्रतिफल आज यहाँका जनता सहभागी छन्। उनीहरूले साथ दिएका छन्। २०६३ देखि जनतालाई विकास र उत्पादनमा जोड्न सफल पनि भएका छौँ। जनताको तागतले मात्र यो भएको हो। जनयुद्धमा त्याग बलिदान भए। अलिकति टक्कर पनि भए। फेरि पनि ती सबैलाई सम्हालेर एकताबद्ध गरेर अघि जाने कुरा भएका छन्।
अहिलेको गठबन्धनबाट त्यसको सुरुवात भएको छ। जनताका अपेक्षा संवैधानिक रुपमा पूरा भएका छन्, व्यावहारिक रुपमा पूरा गर्ने कुरामा पनि एक हदसम्म जनता सन्तुष्ट नै छन्। केही घटनाक्रममा असर त हुने नै भए। तर ती कुरा बिर्सेर जनता अघि बढेका छन्।
तपाईंले पहिला राष्ट्रिय राजनीतिमा शान्ति प्रक्रियामा योगदान गर्नुभयो। पछि ऊर्जा र अहिले अर्थ मन्त्रालयमा हुनुहुन्छ। अब यहाँबाट कस्तो भूमिका अपेक्षा गर्ने?
रुकुमका अग्रगामी जनता माझमा स्पष्ट भनेको छु, उनीहरूको प्रतिनिधि भएकाले मैले राष्ट्रिय राजनीतिमा भूमिका खेल्नुपर्छ। त्यो भनेको संविधानमा लेखिएको अमूर्त समाजवादलाई मूर्त खाका तयार पार्नुपर्ने छ। नेपाली विशेषतासहितको समाजवाद के हुन्छ। सबैले स्वीकार गर्ने के हुन्छ। लोकतान्त्रिक आधारको समाजवादको आधार बनाउने हो। लोकतान्त्रिक प्रणालीभित्रको समाजवाद तयार पार्ने र गठबन्धन दलभित्र सहमति गराउने पहल मैले गर्ने छु। अथवा राष्ट्रिय सहमति गराउने पहल गर्ने छु।
दोस्रो कुरा नेपालको पराराष्ट्र र सुरक्षा नीति छ। जुन ठाउँमा हामी छौँ। जस्तो अवस्थामा छौँ हामीले सन्तुलित सम्बन्ध कायम गर्नका लागि राष्ट्रको हितमा सन्तुलित सम्बन्ध र आर्थिक विकासका लागि परराष्ट्र नीतिको आवश्यकता छ। त्यसका लागि दलहरूबीचमा सहमति गराउने भनेर दोस्रो कुरा भनेको छु।
तेस्रो कुरा भनेको पहिलेदेखि पनि भन्दै आएको कुरा के भने नेपालको अहिलेको विकास मोडलमा समस्या छ। किन यसले काम गरेको छैन। किन गुणस्तर हुँदैन। यसमा नेपालको विकासको मोडल इतिहासदेखि हेर्दा समुदायमा आधारित छ। समुदायमा आधारित विकासलाई लिएर ठेक्का प्रणालीमा हालिदिएका छौँ। त्यसैले यसलाई मिश्रण गर्नुपर्छ। समुदायको भूमिका पनि बढाउन आवश्यक छ। समुदायको सहभागितामा विकास हुनुपर्छ भन्ने खालको छलफल गरेर पार्टीहरू पुग्नुपर्छ भन्ने मेरो एजेन्डा हो।
अर्को कुरा भनेको अहिले बहसमा रहेको कार्यकारी प्रमुखको कुरा पूर्ण समानुपातिकको कुरामा पनि गठनबन्धभित्र निष्कर्षमा पुग्नुपर्छ। त्यसका लागि पनि मैले पहल गर्नुपर्छ। देशको विकास र समृद्धिका लागि जुम्लाबाट १२ घण्टामा काठमाडौं पुग्ने कुरा गर्नुपर्ने छ। सुरुङ बनाएर दूरी छोट्याउने कुरा मैले भनेको छु। त्यस्तै योजनाहरूमा सगरमाथा आधार शिविरसम्म कागबेनीसम्म लिमी भ्यालीसम्म सहजै लाखौँलाख मान्छेलाई पुर्याउने यातायात प्रणाली स्थापना गर्ने र कार्यान्वयन गर्ने कुरामा पहल गर्नुपर्ने छ। उत्पादनमूलक अर्थतन्त्रका लागि मैले बजेटमा प्रस्तुत गरेको कुरालाई कार्यान्वयन गर्ने कुरालाई जनतामा राखेको छु।
अहिलेको व्यापारघाटा अन्त्य गर्नका लागि एकातिर वातावरणमैत्री विकास चाहिएको छ। जलवायु परिवर्तनलाई ख्याल गर्नुपर्ने छ। त्यसका लागि हामीले नेपाललाई इन्धन निर्यात गर्ने मुलुक बनाउने हो। हरित हाइड्रोजन र एमोनिया निर्यात गर्ने मुलुक बनाउनुपर्छ। यसबाहेक शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने र गठनबन्धनलाई अझै १०/१५ वर्षसम्म लैजाने भन्ने कुरा मेरा राष्ट्रिय एजेन्डा छन्।