काठमाडौं- उपत्यकाको सवारी चापलाई न्यूनीकरण गर्न विद्युतीय बस र्यापिड ट्रान्जिट (ई-बीआरटी) प्रणाली सञ्चालनको सम्भाव्यताको अध्ययन गर्न लगानी बोर्डले परापर्शदाता माग गरेको छ।
काठमाडौं उपत्यकाको चक्रपथमा ई-बीआरटी सञ्चालनका लागि सम्भावना के कस्तो छ भनेर अध्ययनका लागि परापर्श सेवा माग गर्दै बोर्डले सार्वजनिक सूचना आह्वान गरेको छ।
ई-बीआरटी सञ्चालनको आर्थिक, प्राविधिक, वित्तीय तथा वातावरणीय सम्भाव्यता अध्ययन गरी बोर्डलाई सुझाव दिनका लागि परामर्श सेवा माग भएको हो।
काठमाडौं चक्रपथ क्षेत्रमा ई-बीआरटी सञ्चालन, सेवा तथा भौतिक सञ्चालनको डिजाइन प्रणालीको अध्ययन हुने छ। ट्राफिक इन्जिनियरिङदेखि शुल्क संकलनसम्मका विषयमा यसमा अध्ययन हुने छ।
यो प्रणाली लागू भएपछि वातावरणीय लाभको पनि मूल्यांकन हुने बोर्डले उल्लेख गरेको छ।
यो प्रक्रियाबाट छनौट भएको परामर्शदाताले सार्वजनिक निजी साझेदारी लगानी मोडालिटीका बारेमा अध्ययन गर्दै उपयुक्त लगानी मोडलको सिफारिस गर्नुपर्ने छ।
यसअघि नगर विकास कोषले पनि काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण न्यूनीकरणका लागि ‘ई-बीआरटी’ प्रणाली सञ्चालनको योजना अघि सारेको थियो।
सहरी सार्वजनिक यातायातका अन्य विकल्पको तुलनामा सहज र पहुँचयोग्य हुने, पेट्रोलियम पदार्थको खपत न्यूनीकरण हुने तथा प्रदूषण नियन्त्रणमा पनि सहयोग पुग्ने भएकाले ई-बीआरटी अघि बढाउने तयारी कोषले गरेको थियो।
ई-बीआरटी प्रणाली काठमाडौं उपत्यकाका पाँच रुटमा सञ्चालन गर्न सकिने यसअघि नै भएको अध्ययनले देखाएको छ। जापान सहयोग नियोग जाइका र एसियाली विकास बैंकको सहयोगमा भएको अध्ययनले तय गरेका रुटसहित पाँचवटा तय भएको थियो।
ई-बीआरटी सञ्चालन हुनसक्ने रुटमा काठमाडौं उपत्यकाको चक्रपथ, भक्तपुरको सुर्यविनायक- रत्नपार्क मुख्य रुट हुन्। त्यसबाहेक नदी करिडोरमा तीनवटा रुटमा सञ्चालन हुनसक्ने देखिएको छ। बोर्डले फेरि पूराना अध्ययनहरूको समीक्षा गर्दै निजी लगानीकर्ता आकर्षित हुने खालको प्रतिवेदन तयार पार्न भन्दै परामर्श सेवा लिन खोजेको छ।