शुक्रबार, चैत १६ गते २०८०    
images
images

गाजा दहले फेर्दैछ पर्यटकीय परिचय

images
बिजनेस न्युज
images
गाजा दहले फेर्दैछ पर्यटकीय परिचय

लेकाली परिवेशमा खानपान र बासको मेसो मिलाउँछन्। मौलिक संस्कृति पस्कन्छन्। अहिले तीन घरमा मात्र होमस्टे सेवा छ। पाहुना बढी हुँदा छरछिमेकमा व्यवस्था गर्ने गरिएको सञ्चालकहरू बताउँछन्।

images
images

बलेवा- हिउँदमा गुराँस फुलेर दक्षिण बागलुङ मुस्कुराएजस्तै देखिने गाजाको दह क्षेत्र यतिबेला चिटिक्क सिङ्गारिएको छ। प्राकृतिक ‘भ्यूटावर’का रूपमा गाजाको दह क्षेत्रलाई चिनिन्छ। 

images
images
images

बागलुङको जैमिनी र गल्कोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको सङ्गमस्थल हो गाजाको दह। गाजाको दहमा शनिबारदेखि वैकुण्ठ चतुर्दशी मेला लागेको छ। गाजाको दहलाई चिनाउने यो एउटा नियमित परम्परा हो। जैमिनीको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल गाजाको दहमा हरेक वर्षझैँ यस वर्ष पनि वैकुण्ठ चतुर्दशीको अवसरमा तोरण तार्ने योजना युवाहरूले बनाएका छन्। 

images

सरोकारवालाको नजर कम पुगेको गाजाको दहमा युवाहरूले हरेक वर्ष गर्ने यो प्रयासले प्रचार-प्रसार र प्रवर्द्धनमा सहयोग गर्छ। मेलाका अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। ऐतिहासिक परम्परा र संस्कृतिको संरक्षण गर्न युवाहरूले गाजाको दह संरक्षण, सांकृतिक तथा खेलकुद विकास मञ्च लागेको छ। मञ्चका अध्यक्ष शेरबहादुर पुनका अनुसार गाजाको दह दक्षिण बागलुङको महत्वपूर्ण पर्यटकीय क्षेत्र हो। तर यहाँ राज्यका संयन्त्रको नजर कम पुग्ने गरेका कारण गाजाको प्रचार हुनसकेको छैन।

images
images

गण्डकी प्रदेश सरकारले तयार गरेको पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत गाजा दह जैमिनी नगरपालिका-३ दमेकमा पर्छ। दुई हजार चार सय ८० मिटर उचाइमा रहेको गाजाले सजिलै पर्यटकलाई लोभ्याउँछ। तर प्रचार-प्रसार र संरचना निर्माणको अभावमा गाजाको दहमा अन्य पर्यटकीय क्षेत्रमा जस्तो पर्यटक पुर्‍याउन नसकिएको पुन बताउँछन्।

'गाउँ, पाखा र वन हुँदै सवारी चढेरै गाजाको दह आउन सकिन्छ, बास बस्न आउनेका लागि यहाँ घरबासको पनि व्यवस्था छ', उनले भने, 'बागलुङ नगरपालिकाको सिगाना, काठेखोला गाउँपालिकको रेश, बरेङको धुल्लुबास्कोट र जैमिनी नगरपालिकाको दमेकको बाटो भएर यहाँ आउन सकिन्छ।'  उनका अनुसार गाजा दहलाई पहिले-पहिले रुद्रताल पनि भनिन्थ्यो। सो दहको पुरानो स्वरुप खल्बलिएको छैन। सौन्दर्य बिग्रन नदिन संरक्षण गरिएको छ।

हिउँदका घमाइला दिनमा दहमा छचल्किने हिमालका दृश्य कैद गर्न आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका भए पनि सन्तोषजनक नरहेको जैमिनी-३ का वडाध्यक्ष कृष्ण भुजेल बताउँछन्। 'केही समय पहिला गाजाको विकासका लागि पहल भए, रोकिए, पछिल्लोपटक हामीले सीमा जोडिएका सबै वडासँगको समन्वयमा यहाँ पूर्वाधार विकास गर्ने भनेका छौँ', उनी भन्छन्,  'वैकुण्ठ चतुर्दशीमा मात्रै होइन यहाँ सधैँ मेला लागेजस्तै पर्यटक भित्र्याउने गरी काम गर्नुछ।' त्यहाँबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमशृङ्खलाको दृश्यावलोक गर्न सकिन्छ। दह परिसरमा बराह थान छ। गाउँलेको धार्मिक आस्था त्यसमा गाँसिएको छ। 

खेती किसानी गरेर जीविका चलाउँछन् गाजावासी। त्यहाँको मुख्य बाली आलु र भाँगो हो। पर्यटन गतिविधि हुन थालेपछि गाउँलेमा व्यावसायिक चेत पसेको छ। व्यवसायी मिलेर पर्यटकलक्षित ‘सिद्धबराह सामुदायिक होमस्टे’ खोलेका छन्। घरबासमा आउने पाहुनालाई उनीहरू स्थानीय परिकार चखाउँछन्। लेकाली परिवेशमा खानपान र बासको मेसो मिलाउँछन्। मौलिक संस्कृति पस्कन्छन्। अहिले तीन घरमा मात्र होमस्टे सेवा छ। पाहुना बढी हुँदा छरछिमेकमा व्यवस्था गर्ने गरिएको सञ्चालकहरू बताउँछन्। कोदो, मकै, भटमास, आलु, गुन्द्रुकलगायत स्थानीय परिकार घरबासका भान्छामा पाक्छन्। मासुमा गाउँकै रैथाने कुखुरा प्रयोग हुने गरेको उनले बताए।

सडकको पहुँच, प्रचारप्रसार, घरबासलगायत सुविधा पाइन थालेपछि  गाजा दहमा बढ्न थालेको पर्यटकीय आकर्षण कोरोना महामारीपछि थला परेको छ। 'पहिले थेगिनसक्नु भीड लाग्थ्यो, कोरोनापछि निकै घटेको छ', उनले भने, 'घुम्ने याममा आन्तरिक पर्यटक बाक्लै आउँथे, अहिले त्यस्तो छैन।' गाजाको दह क्षेत्रमा पूर्वाधार विकास गर्नसके गाजामा उल्लेख्य पर्यटक भित्र्याउन सकिने उनले बताए।
 
पाँच वर्षअघि पर्यटन कार्यालय पोखराको सहयोगमा दह वरिपरि तारजाली र पर्खाल लगाउने काम भएको थियो। त्यसयता पूर्वाधारमा खास काम भएको छैन। घरबास कार्यक्रमका लागि प्रदेश सरकारबाट आएको १० लाख बजेटबाट सांस्कृतिक भवन बनाइएको छ। नगरपालिकाबाट आएको एक लाख पनि त्यहीँको फर्निचरमा खर्च भएको जनाइएको छ। गाजाको धुरी दहभन्दा तीन सय २० मिटर माथि पर्छ। गाजा क्षेत्रको जङ्गल जडीबुटीका लागिसमेत प्रख्यात छ। गाजा क्षेत्रको समग्र विकासका लागि गुरुयोजना बनाइए पनि त्यो कार्यान्वयनमा आएको छैन। गुरुयोजनामा ‘भ्यूटावर’, पदमार्ग, सामुदायिक लजजस्ता पूर्वाधार बनाउने उल्लेख छ। रासस

images

प्रकाशित : आइतबार, कात्तिक २० २०७९०४:४६
प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ