बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

के हो ‘स्मार्ट सिटी’ : बैंलोर गर्दैछ अभ्यास, काठमाडौंले के सिक्ने?

images
शनिबार, कात्तिक १९ २०७९
images
images
के हो ‘स्मार्ट सिटी’ : बैंलोर गर्दैछ अभ्यास, काठमाडौंले के सिक्ने?

बैंगलोर स्मार्ट सिटी लिमिटेडका प्रबन्ध निर्देशक पी राजेन्द्र चोलान नेपालका समाचारबाट त्यति अपरिचित छैनन्।

images
images

बैंलोर (भारत)- गएको भदौ २७ गते अपराह्न काठमाडौँको ट्राफिक अकस्मात अस्तव्यस्त भयो। त्रिभुवन विमानस्थलदेखि बानेश्वर हुँदै सोल्टी होटलसम्मको बाटो पूरै खाली गराइएकाले चक्रपथ जाम थियो। काठमाडौंवासी अचम्मित भए। यहाँ जाम त हुन्थ्यो नै तर यसरी घन्टौँसम्म विनासूचना राजधानीका सडक ठप्प भने हुदैनथे। 

images
images

समाचार कक्षको फोन र त्यहाँ रहेका साथीहरूका मोबाइलका घन्टी बज्न थाले। प्रश्न थियो- आज काठमाडौंमा केको जाम हो? अकस्मात धेरै फोन आएपछि हामी पनि छक्क पर्‍यौँ। एकैछिनमा फेसबुक पेजहरूमा जिज्ञासा ओइरिएका थिए ‘लौन आज काठमाडौं किन यस्तो जाम हो?’ पछि थाहा भयो- त्यसदिन चिनियाँ सभामुख नेपाल आएकाले सडक खाली गराइएको रहेछ। उन आउने समाचार त थियो तर ट्राफिक व्यवस्थापनको सूचना भने कतै थिएन। त्यस दिन नागरिकले दुःख पाए र व्यापक आलोचना गरेपछि ट्राफिक प्रहरीले भोलिपल्ट भने राजधानीको ट्राफिक रुट सार्वजनिक गर्‍यो। 

images
images

गत वैशाखमा स्थानीय निर्वाचन सुरु भएसँगै काठमाडौं महानगरमा फोहर थुप्रिन थाल्यो। चुनाव प्रचार हुँदै थियो, उता फोहर पनि थुप्रिँदै। तर पार्टीका उम्मेदवारले ‘स्मार्ट सिटी’ बनाउने नारा र घोषणापत्र प्रचार गर्न भने छाडेका थिएनन्। जनतालाई भने घर अगाडिको फोहरका डङ्गुर हटे हुन्थ्यो भन्ने मात्र थियो। चुनाव सकियो, नयाँ नेतृत्व आयो तर फोहर उठेन। फोहर फाल्ने गरिएको साइटका नागरिकका माग यताको फोहरको डङ्गुर जस्तै बढ्दै गए। काठमाडौं गन्हायो।

images
images

नागरिकस्तरबाट महानगरको आलोचनाको सीमा रहेन। मानिसले स्वयंसेवीरुपमा फोहर उठाउन थाले। करिब दुई महिनामा बल्लतल्ल महानगरले उठायो। सायद लामो समयसम्म थुप्रिएको फोहरबाट पनि अहिलेको कडा खालको डेङ्गु विकसित भएको हुनसक्छ। यो अनुसन्धान हुन भने बाँकी नै छ।

काठमाडौंभित्रका (सम्भवतः नेपालकै) कुनै पनि अस्पतालले आफ्नो सेवा र अवस्थाका बारेमा आफ्ना वेबसाइटमा जानकारी गराएर अपडेट गरेका हुँदैनन्। आफ्ना अस्पतालमा आइसीयू, सीसीयू, बेड तथा अरु के-कस्ता सेवा उपलब्ध छन् या छैनन् भन्नेबारेमा केही जानकारी राख्दैनन्। त्यसो गरिदिँदा बिरामीलाई इमर्जेन्सी सेवामा लैजान सजिलो हुन्थ्यो। स्वभावतः मानिस रगत किन्न रक्तसञ्चार केन्द्र नै जान्छन्।

रक्तसञ्चार केन्द्रले आफूसँग कुन रगत छैन भन्नेबारेको सूचना आफ्नै वेबसाइटमा अनिवार्यरुपमा राख्नुपर्छ। अपडेट गरिदिए मानिस त्यहाँसम्म दुःख पाउनै पर्दैनथ्यो। यस्तो अभ्यास हामीसँग छैन। नागरिकका आधारभूत आवश्यकताको यो उपलब्धताका लागि आवश्यक यो चेतनास्तरसम्म हामी कहिले पुगौँला? त्यसको कुनै योजना पनि अझै हाम्रासामु छैन। 

सानो सहरका साँघुरा बाटोहरूको व्यवस्थापनको कुनै दिगो योजना छैन। चोभार बस्ने मानिसले आफ्ना छोराछोरीको स्कुल बूढानीलकण्ठतिर राखेको छ, महाराजगञ्ज बस्नेले भक्तपुर या ललितपुरतिर होला। अभिभावक या विद्यालयले पनि बिहान र बेलुकाको कार्यालय समयमा आफ्ना बालबालिकाले सवारी जामको समस्या कस्तो भोगेका छन् भन्ने हेक्का कमै राख्छन्। ट्राफिक व्यवस्थापन राम्रो हुँदो हो त शिक्षा अधिकारी, विद्यालय, ट्राफिक प्रहरी तथा अरु आवश्यक सम्बद्ध सरोकारवालाको समन्वय हुन्थ्यो र बसाई र विद्यालय व्यवस्थापनको वैज्ञानिक प्रबन्ध हुन्थ्यो। 

नेपालका सरकारी अड्डाका बीचमा कामको समन्वय छैन। पहिले सडक पिच या ढलान हुन्छ। त्यसको केही हप्तापछि बिजुली या खानेपानीको योजना आउँछ र त्यही पिच खन्न थाल्छ। बाटो भत्किन्छ तर फेरि त्यो सडक बन्न कति समय लाग्छ पत्तो हुँदैन। त्यसपछि लामो समयसम्म वर्षात्मा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छ।  

पूर्वमहानगरप्रमुख विद्यासुन्दर शाक्यले पाँच वर्ष लगाएर निर्माण गरेको स्मार्ट सिटी हो काठमाडौं। उनले महानगर प्रमुखको उम्मेदवार हुँदा गरिएका वाचामा धेरै कुरा थिए तर महानगर यस्तो बन्यो। त्यसो त यो स्मार्ट सिटी शब्दको अर्थ के हो? अर्थात् स्मार्ट सिटी कस्तो हुन्छ? नगर या सहरमा के के कुराको विकास गर्दा स्मार्ट सिटी बन्छ? भन्ने विषयको जानकारी नै धेरैलाई छैन। वाचा या घोषणापत्र बनाउने उम्मेदवारले नै स्मार्ट सिटी बुझेको छैन। 

बैंगलोर स्मार्ट सिटी लिमिटेडका प्रबन्ध निर्देशक पी राजेन्द्र चोलान नेपालका समाचारबाट त्यति अपरिचित छैनन्। अक्टोबरको तेस्रो साता भारतीय विदेश मन्त्रालयलको निमन्त्रणामा पुगेका नेपाली सम्पादक तथा वरिष्ठ पत्रकारको प्रतिनिधिमण्डलसँग बैंगलोरस्थित सो लिमिटेडको कार्यालयमा उनले नेपाल तथा दक्षिण एसियाली देशका कतिपय नगर प्रमुखले स्मार्ट सिटी बनाउने चर्चा गरेका तर यस्ता सिटी निर्माणका काम भने कमै मात्र भएको सुनेको बताए। 
 
कुनै पनि सहरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न नागरिकका आधारभूत आवश्यकताको परिपूर्ति पहिलो सर्त हुनुपर्ने उनको सुझाव छ। उनको आशय थियो- जबसम्म खाना, शिक्षा, स्वास्थ्यसहितका नगरवासीका आधारभूत आवश्यकताको सम्बोधन गरिँदैन, यी आवश्यकताबाहेकको अर्काे स्मार्ट सिटी बन्न सक्दैन। उनको परिभाषामा हाम्रो काठमाडौँको फोहर व्यवस्थापन, पानीको व्यवस्था, वातावरणीय स्वच्छता, शिक्षा र यसको प्राप्तिका भौतिक सुविधा, खाद्यसुरक्षा (स्वास्थ्यका दृष्टिले), आदि स्मार्ट सिटी निर्माणका प्रारम्भिक पूर्वाधार हुन्। 

बैंगलोर स्मार्ट सिटीका प्रमुख इञ्जिनियर विनायक सुगर जसरी नगर महानगरका मेयरहरूले स्मार्ट सिटी बनाउने योजना बनाएका हुन्छन् तीमध्ये ९० प्रतिशतभन्दा बढीलाई त यसको अवधारणा नै थाहा नभएको बताए। स्मार्ट सिटी त्यस सहरका सबै सरकारी निकायको दरिलो समन्वय तथा प्रदेश तथा केन्द्र सरकारका सही इच्छाशक्तिबाट मात्र निर्माण हुने उनको धारणा छ। 

उनीहरूले पहिले त काठमाडौंकै जस्तै सरकारको एउटा निकायले आफ्नो काम सकेर गयो अर्काे निकाय आएर सडक भत्काउनेजस्ता आपसमा समन्वय हुन नसकेको अवस्था देखेका थिए बैंगलोरमा पनि। त्यसपछि उनीहरूले नगरसँग जोडिने सबै सरकारी निकायको समन्वय आवश्यक ठाने। उनहरूका अनुसार त्यसपछिको अर्काे सर्त नागरिक तथा सहरका सरोकारवालाको सहयोग हो।

स्मार्ट सिटीबाट लाभ लिने नगरवासी आफू लाभान्वित हुन पाएकामा खुसी, जानकार र उत्सुक हुनु जरुरी छ। यदि त्यसो भयो भने उनीहरू थप चासो र योजनाका साथ आउनेछन् र उनीहरूका पहलबाट सहर थप राम्रो बन्नेछ। जनसहभागिता र ट्राफिक व्यवस्थापनमा प्रहरीको सहयोगले स्मार्ट सिटी निर्माणमा धेरै सहयोग पुग्ने प्रबन्ध निर्देशक राजेन्द्रको अनुभव छ।  

भारतको ‘आइटी सिटी’ मानिएको बैंगलोरले स्मार्ट सिटी निर्माणको एक उत्कृष्ट अभ्यास गरिरहेको छ। सहरका नागरिकले प्राप्त गर्ने आधारभूत सुविधाको प्राप्तिलाई डिजिटल फर्ममा लगिँदैछ। बसको टिकट काट्न कोही लाइन बस्नुपर्र्दैन, बसपार्कमा मानिसको भीड हुँदैन। सहरमा रहरलाग्दो हरियाली छ। सडकको दायाँबायाँ मात्र होइन गल्लीगल्लीमा र हरेक घरका अगाडि रुख छन्।

घरको रुख हुर्काउने वाचा नगरी घरको नक्सा पास हुँदैन। नक्सा पास भएर घर बनिसकेपछि पनि सरकारी निकायले रुख हुर्काए नहुर्काएको अनुगमन गर्छन्। सहरमा बागबगैँचा ठाउँठाउँमा छन्। अध्ययनका लागि वनस्पति उद्यान छन्। बालबालिकालाई खेल्ने ‘चिल्ड्रेन पार्क’हरू छन्। शिक्षा र स्वास्थ्यका सेवा डिजिटल बनिरहेका छन्। शिक्षालय विश्वविद्यालय, अस्पताल आदिका सूचना सहजै उपलब्ध छन्। अपांगमैत्री सेवा र भौतिक संरचना छन्।

वातावरणीय स्वच्छतालाई प्राथमिकता दिइएको छ। विद्युतीय सवारीलाई प्राथमिकतामा राखिएको छ र यसको प्रवद्र्धनमा सहुलियत दिइएको छ। ट्राफिक व्यवस्थापन सहज छ र विशेष पर्दा सूचना जारी हुन्छ। सरकारी गैरसरकारी निकायका वेबसाइट चुस्त र अद्यावधिक छन्। प्रदूषण मापदण्ड पालनामा कडाइ छ। सीसी क्यामेरा अद्यावधिक छन्, सडक बत्तीको भरपर्दाे प्रबन्ध छ, पार्किङको व्यवस्थित प्रबन्ध छ। कक्षाकोठा डिजिटल बनिरहेका छन्, घरबाट हुने कामका लागि कार्यालय नधाए पनि हुने बनाइँदैछ। 

भारतमा पछिल्लो समय (स्टाटप) नवप्रवर्तन निकै बढ्दो छ। यसलाई नागरिकका जनजीविकालाई सहज र छरितो बनाउनेतर्फ बढी प्रयोग गरिँदैछ। 'अहिले ८२ हजार नयाँ नवप्रवर्तन दर्ता छन् र उनीहरूले भारतको डिजिटल रुपान्तरणको काम गरिरहेका छन्', भन्छन्। इन्भेस्ट इन्डियाकी चिफ अपरेटिङ अफिसर प्रिया रावत। यसमार्फत पनि भारतमा लगानीका नयाँनयाँ सम्भावना र क्षेत्र पहिचान हुँदै गएका उहाँको विचार छ।

बैंगलोर सहरले त झन भारतकै एक गौरवशाली संस्था इन्फोसिस्को दिमागलाई स्मार्ट सिटीको विकासमा प्रयोग गर्न सक्छ। भारतीय आइटी क्षेत्रकै एक थिंकट्यांक बनिरहेको छ इन्फोसिस्, जसको अहिलेको आइटी क्षेत्रको व्यवसाय करिब ७८ अर्ब अमेरिकी डलर बराबरको छ। सफ्टवेयर तथा सेवा कम्पनीको संस्था नेसकमका अनुसार भारतमा दर्ता भएका स्टाटपमध्ये बैंगलोरमा मात्र ४० प्रतिशत छन्। यसको सदुपयोग पनि बैंगलोर सहरले गर्न सक्दछ। रासस


प्रकाशित : शनिबार, कात्तिक १९ २०७९०८:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend