बुधबार, मंसिर १९ गते २०८१    
images
images

बेनी-जोमसोम-कोरला सडकअन्तर्गत चार खण्डको निर्माण सकियो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २२ २०७८
images
images
बेनी-जोमसोम-कोरला सडकअन्तर्गत चार खण्डको निर्माण सकियो

'सडक सुविधायुक्त र सहज हुने हो भने पर्यटक आगमन बढ्छ, कोरला नाका सञ्चालन गर्न दवाव पुग्छ, स्थानीयवासी भन्छन्, 'सडकको स्तरोन्नति र कालोपत्र हुन थालेपछि हामी उत्साहित भएका छौँ।'

images
images

म्याग्दी- उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनाको चार वटा खण्डको निर्माण सम्पन्न भएको छ। 

images
images
images

चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने यस आयोजनाको ११ मध्ये हालसम्म चार वटा खण्डको स्तरोन्नति सम्पन्न भएको हो। सो आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७३/७४ देखि सुरु भएको छ। 

images

आयोजनाका निमित्त प्रमुख आश्विनीकुमार यादवका अनुसार चार वटा खण्ड भएको ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकको ६५ र सात वटा खण्ड भएको ११० किलोमिटर दूरीको जोमसोम-कोरला खण्डको ८५ प्रतिशत निर्माण सकिएको छ।  'जोमसोम-कोरला सडकको सातमध्ये चार वटा खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेका छन्', उनले भने, 'बाँकी तीन वटा खण्डको काम अन्तिम चरणमा पुगेको छ।' 

images

दिवा-रौताह-एपेक्स जेभीले ठेक्का लिएको लोमान्थाङ गाउँपालिका-१ छोसेरदेखि कोरला नाकाको २४ नम्बर पिलरसम्मको १६ किलोमिटर सडक विसं २०७५ मा ११ मिटर फराकिलो, नाली, गयावियन पर्खाल, मेशिनरी पर्खाल निर्माण र ग्राभेल गरिएको थियो। भेना-घिलिङ, जोमसोम-कागबेनी-ताङ्वे र ताङ्वे-चैले खण्डको सडक पनि स्तरोन्नति गर्ने काम सकिएको आयोजनाले जनाएको छ। छ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा आर्थिक वर्ष २०७७/७८ सम्ममा पाँच अर्ब १३ करोड ४८ लाख रुपैयाँ खर्च भइसकेको छ। 

सडक निर्माण र मोटरेबल पुल निर्माणका लागि आयोजनामार्फत आर्थिक वर्ष २०७३/०७४ मा ४६ करोड २० लाख, २०७४/७५ मा एक अर्ब ५२ करोड ५२ लाख, २०७५/७६ मा एक अर्ब ३१ करोड, २०७६/७७ मा ९० करोड २५ लाख र आव २०७७/७८ मा एक अर्ब २४ करोडमा ९३ करोड ५० लाख रुपैयाँ बजेट खर्च भएको आयोजनाले जनाएको छ। पछिल्लो आव २०७७/७८ मा सडक स्तरोन्नतितर्फ ८१ करोड ३२ लाख र पुल निर्माणतर्फ १२ करोड ८७ लाख रुपैयाँ खर्च भएको थियो। यस सडकको विभिन्न ठाउँमा करिब २० वटा मोटरेबल पुल निर्माणाधीन छन्। 

आयोजनाअन्तर्गत म्याग्दीको गलेश्वर-नारच्याङ पुल (१९ किलोमिटर), मुस्ताङको कोबाङ-जोमसोम (१९ किलोमिटर) र चराङ-छोसेर खण्ड (२५ किलोमिटर) दूरीको सडकको भौतिक प्रगति कम देखिएको छ। कोबाङ-जोमसोम सडक कालोपत्र र चराङ-छोसेर खण्डको सडक ग्राभेल गर्न कोशी एण्ड न्यौपाने जेभीले ठेक्का लिएको थियो। शर्मा-युनाइटेड जेभीले ठेक्का लिएको गलेश्वर-नारच्याङ पुल खण्डमध्ये गलेश्वरदेखि बेगखोला सम्मको करिब छ किलोमिटर सडक कालोपत्र सुरु भएको छ। शर्मा-गजुरमुखीले ठेक्का लिएको मुस्ताङको थासाङ गाउँपालिकाको खन्तीदेखि कैकुखोलासम्मको १६.५ किलोमिटर सडक कालोपत्र सुरु गरिएको छ। बर्खाका कारण रोकिएको सडक कालोपत्रलाई दसैँलगत्तै पूर्णता दिने निर्माण कम्पनीले जनाएका छन्। 

प्रवेश बिन्दुमा पर्ने बेनी नगरपालिका-९ गलेश्वरमा करिब एक किलोमिटर र चौथो नम्बर प्याकेजमा पर्ने कोवाङदेखि जोमसोमसम्मको १८ किलोमिटर सडक पनि कालोपत्र गर्न लागिएको आयोजनाका इञ्जिनीयर आशिष मानन्धरले बताए। 

'बेनी घाँसा खण्डको दुई प्याकेजमा डिबिएसडी र घाँसा जोमसोम खण्डको दुई प्याकेजमा असपाल्ट प्रविधिको कालोपत्र हुँदैछ', उनले भने, '११ मिटर फराकिलो बनाइएको सडकको सातदेखि आठ मिटर चौडाइमा कालोपत्र हुन्छ ।' बेनीदेखि जोमसोमसम्म दुई लेन कालोपत्र र जोमसोमदेखि कोरलासम्म ११ मिटर फराकिलो ग्राभेल सडक बनाउन सञ्चालित यो आयोजना राष्ट्रिय गौरवको हो । 

यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ को रपमा लिने गरिन्छ। यो आयोजनाले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मीक स्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने बताइएको छ। कोरला नाकासम्म सहज रुपमा सडक सुबिधा प्राप्त भएमा नाका सञ्चालन गर्ने वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवं तिर्थयात्रीको आगमन बढ्ने, स्थानीयवासीलाई सुविधा पुग्ने, कालीगण्डकी र आसपासका नदीहरुमा जलविद्युत्को विकास हुने अपेक्षा गरिएको छ।

'सडक सुविधायुक्त र सहज हुने हो भने पर्यटक आगमन बढ्छ, कोरला नाका सञ्चालन गर्न दवाव पुग्छ, स्थानीयवासी भन्छन्, 'सडकको स्तरोन्नति र कालोपत्र हुन थालेपछि हामी उत्साहित भएका छौँ।' रासस


प्रकाशित : शुक्रबार, असोज २२ २०७८०७:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend