शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

बैंकिङ प्रणालीमा तरलता अभाव चर्किएपछि ट्रेजरी बिलको ब्याजदर १२ प्रतिशतमाथि पुग्यो

शुक्रबार, कात्तिक १८ २०७९
बैंकिङ प्रणालीमा तरलता अभाव चर्किएपछि ट्रेजरी बिलको ब्याजदर  १२ प्रतिशतमाथि पुग्यो

पछिल्लो साता पुनः बैंकको निक्षेप घटेको छ। नेपाल बैंकर्स संघको तथ्यांकअनुसार गत सातासम्म ४५ खर्ब ४१ अर्ब पुगेको निक्षेप अहिले १७ अर्ब रुपैयाँले घटेर ४५ अर्ब २४ अर्बमा झरेको छ।

काठमाडौं- तरलता अभाव हुन थालेपछि ट्रेजरी बिलको ब्याजदर पुनः बढ्न थालेको छ। बैंकिङ प्रणालीमा लगानी योग्य रकमअभाव हुँदै जाँदा ट्रेजरीको ब्याजदर पनि पुनः बढ्न थालेको हो।

नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक ५ गतेदेखि १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब रुपैयाँ निक्षेप घटेको छ। नेपाल बैंकर्स संघका अनुसार कात्तिक दोस्रो सातामै १७ अर्ब निक्षेप घटेको छ। 

वाणिज्य बैंकहरुमा असोज महिनामा ६१ अर्ब ६४ करोड रुपैयाँ निक्षेप थपिएको थियो। तर कात्तिकमा पनि लगातार निक्षेप घटिरहेको छ। पछिल्लो साता पुनः बैंकको निक्षेप घटेको छ। नेपाल बैंकर्स संघको तथ्यांकअनुसार गत सातासम्म ४५ खर्ब ४१ अर्ब पुगेको निक्षेप अहिले १७ अर्ब रुपैयाँले घटेर ४५ अर्ब २४ अर्बमा झरेको छ। यता ऋण प्रवाह भने ४२ खर्ब २५ अर्ब रहेको छ। जुन गत साता पनि ऋण सोही अंकमा रहेको थियो।

चुनाव र चाडबाडपछि निक्षेप बढ्ने अनुमान गरिए पनि निक्षेप भने बढ्न सकेको छैन। बैंकिङ प्रणालीमा अहिले पनि ३ खर्ब रुपैयाँ आवस्यक रहेको छ। जसका कारण वित्तीय संस्थाहरु ऋण लगानी गर्न सक्ने अवस्थामा छैनन। हुन्डीमार्फत आउने रकमलाई कानूनी प्रक्रियामा ल्याई बैकिङ प्रणालीमा ल्याउने तथा सरकारले गर्ने पुँजीगत खर्च व्यवस्थित गर्न सरकारकै समितिहरुले सुझाव दिएपनि कार्यन्वयन हुन भने सकेको छैन। 

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ ।

कात्तिक ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब २४ अर्ब रुपैयाँमा झरेको एनबीएको तथ्यांकमा उल्लेख छ। बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप घटेकै बेला जारी भएको ट्रेजरीमा डिस्काउन्ट रेट झन्डै १३ प्रतिशत नै माग गरिएको पाइएको छ। पछिल्लोपटक जारी भएको १६ अर्ब ६६ करोड रुपैयाँकोे ट्रेजरीमा उक्त ब्याजदरको अफर गरिएको हो ।

राष्ट्र बैंकले गत साता मात्रै  ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि १ अर्ब ५६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो। आन्तरिक ऋण उठाउन प्रयोग गरिएको उक्त अल्पकालीन सरकारी ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाहरुले अधिकतम १२.७०४४ प्रतिशतसम्म डिस्काउन्ट रेटको अफर गरेका हुन्।

९१ दिने ५ अर्ब १० करोड रुपैयाँको ट्रेजर खरिदका लागि १९ बैंक वित्तीय संस्थाले ४ वटा आवेदनमार्फत १० अर्ब १ करोड रुपैयाँको बोलकबोल पेस गरेका थिए। जसमा न्यूनतम ९.०४११ प्रतिशत र अधिकतम ११.४३८ प्रतिशत डिस्काउन्ट अफर गरिएको थियो। उक्त ट्रेजरीको औसत डिस्काउन्ट रेट ११.१९६० प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ।

यस्तै १८२ दिने ट्रेजरका लागि १८ बैंक तथा वित्तीय संस्थाले १०२ वटा आवेदनमार्फत ११ अर्ब १४ करोड रुपैयाँको बोलकबोल पेस गरेका थिए। राष्ट्र बैंकका अनुुसार यो अवधिको ट्रेजरीमा न्यूनतम १०.३००१ प्रतिशत र अधिकतम १२.७०४४ प्रतिशत डिस्काउन्ट अफर गरिएको थियो। यसमा औसत डिस्काउन्ट रेट भने ११.६४२५ प्रतिशत कायम भएको छ।

केन्द्रीय बैंकले ३६४ दिने ट्रेजरीका लागि १६ बैंक तथा वित्तीय संस्थाबाट ५९ वटा आवेदनमार्फत ७ अर्ब १९ करोड रुपैयाँको बोलकबोल पेस भएको जनाएको छ। यसमा न्यूनतम १०.५०९४ प्रतिशत र अधिकतम ११.४३०० प्रतिशत डिस्काउन्ट अफर गरिएको थियो। औसत डिस्काउन्ट रेट १०.९७५७ प्रतिशत कायम भएको छ।


प्रकाशित : शुक्रबार, कात्तिक १८ २०७९०२:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend