शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

तीन दिनको वृद्धिपछि घट्यो सेयर बजार, आउने साता पाउला उचाइको लय?

बिहीबार , कात्तिक १७ २०७९
तीन दिनको वृद्धिपछि घट्यो सेयर बजार, आउने साता पाउला उचाइको लय?

काठमाडौं- चाडबाडको समयपछि खुलेको सेयर बजार लगातार तीन दिन बढेर चौथो दिन घटेको छ। चुनावी चहलपहलसँगै लगातार वृद्धि देखिएको सेयर बजारमा बिहीबारको कारोबार भने उही गतिमा रहन सकेन। 

तीन दिनमा ७९.८२ अंकले बढेको बजार सातामा अन्तिम कारोबारको दिन बिहीबार १६.१४ अंकले घटेको हो। ८९ करोड ८९ लाख रुपैयाँको कारोबार भएको बजारमा २७ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। १५३ कम्पनीको मूल्यमा गिरावट आउँदा ५ कम्पनीको सेयर मूल्य परिवर्तन भएको छैन। 

नेप्से परिसूचकमा अंक र कारोबार रकममा समेत वृद्धि भइरहेका बेला बिहीबार भने बजार थामिन पुग्यो। झन्डै एक वर्षदेखि उकालो लाग्न नसकेको सेयर बजारमा तिहारलगत्तै उत्साह देखिएको थियो। चाडपर्वको समयपछि चुनावी माहोलले छुँदा बजारमा हरियाली देखिँदै आएको विश्लेषण भइरहेको थियो।

बिहीबारको बजार नकरात्मक देखिए पनि आउने सातादेखि बजारमा हरियाली नै देखिने विश्लेषकहरू बताउँछन्। सेयर बिश्लेषक बिष्णु बस्यालले अब चुनावले सेयर बजारमा राम्रै पैसा आउने देखिएकोले बजारमा लगातार वृद्धि देखिने बताए। उनका अनुसार चुनावपछि बन्ने नयाँ सरकारको आकारसमेत देखिएकोले पनि बजार सकारात्मक हुँदै जानेछ। 

यो साता पहिलो कारोबारमा सोमबार १६.३९ अंकले बढेर १८७४.८७ बिन्दुमा पुगेको थियो। मंगलबार ५६.११ अंकले बढेर १९३०.९९ बिन्दुमा पुगेको थियो भने १ अर्ब २९ करोड रुपैयाँको कारोबारसमेत भएको थियो। बुधबार ७.३२ अंकले बढेर बजार १९३८.३० बिन्दुमा पुगेको बजारमा १ अर्ब ४६ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ। 

यसअघि कात्तिक ६ गते आइतबारको कारोबारमा १४.३५ अंकले बढेर बजार १८५८.४९ बिन्दुमा पुगेको थियो। जतिबेला उतारचढावपूर्ण स्थिति रहेकाले वृद्धितर्फ देखिएको थिएन। 

चाडपर्वको समयमा सेयर बजारमा सुधार हुने अपेक्षाविपरीत बजार निरन्तर उतारचढावपूर्ण यात्रामा रहेको थियो। प्रतिनिधिसभाको चुनाव पनि नजिकिँदै गर्दा लुकेर रहेको रकम पनि पुनः बैंकमा बढ्ने अनुमानले आगामी दिन बजार सकारात्मक हुनसक्ने आधारहरू तय भएको विश्लेषण भइरहेका छन्। 


प्रकाशित : बिहीबार , कात्तिक १७ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend