शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

थोकबजार केन्द्र खुलेपछि खुसी छन् किसान

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक १३ २०७९
images
थोकबजार केन्द्र खुलेपछि खुसी छन् किसान

दैनिक १० हजार मेट्रिक टन कृषि उपज बिक्री गर्ने लक्ष्यका साथ मिलनसार सामाजिक महिला उद्यमी सहकारी संस्थाले कृषि थोक बजार सङ्कलन केन्द्रको निर्माण गरेको छ। यहाँ तरकारी, बाख्रा, गेडागुडी बिक्रीस्थल बनाइएको छ।

images
images

पाल्पा- तानसेन नगरपालिका-१० तेल्घा सुनडाँडा गाउँमा तरकारी खेती गर्ने किसानका ५० घरपरिवार छन्। उनीहरूले दैनिक रु एक लाख बढीको तरकारी बिक्री गर्दै आएका छन् । तरकारी बिक्री गर्ने मुख्य थलो बुटवल र तानसेन बजार हो। सिद्धार्थ राजमार्गको जरेपिपलमा व्यापारीहरू भेटिन्छन्। पाल्पामा थोक बजार केन्द्र नहुँदा यो गाउँका सबैले व्यापारीकै मूल्यमा तरकारी बिक्री गर्दै आएका छन्। 

images
images
images

तानसेन होलाङ्गदीमा थोक बजार सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन भएपछि भने यहाँका कृषक उत्साही भएका छन्। तेल्घाकी ४२ वर्षीया हेमा अस्लामी मगर गाउँमा काउली, बन्दा, सिमी, टमाटर खेती गरेर जीविका चलाउँदै आएका छन्। गाउँमा थोक बजार नहुँदा व्यापारीकै मूल्यमा बिक्री गर्नुपरेको उनको भनाइ छ। 'सिद्धार्थ राजमार्गमा भेटिएका व्यापारीलाई तोकेकै मूल्यमा बेच्नुपर्छ', उनी भन्छन्, 'थोक बजार सञ्चालन भएपछि बजार मूल्य पाउने आश छ।' 

images
images

दैनिक १० हजार मेट्रिक टन कृषि उपज बिक्री गर्ने लक्ष्यका साथ मिलनसार सामाजिक महिला उद्यमी सहकारी संस्थाले कृषि थोक बजार सङ्कलन केन्द्रको निर्माण गरेको छ। यहाँ तरकारी, बाख्रा, गेडागुडी बिक्रीस्थल बनाइएको छ। कृषि उपज उत्पादनको ग्रेडिङ, प्याकेजिङ, तयारी र प्रोसेसिङ गरी बिक्री गर्ने व्यवस्था मिलाइएको छ। दुईवटा भवन र सात सटर निर्माण गरिएको छ। 'प्रत्येक दिन बजार लगाउने तयारीमा छौँ', सहकारीका अध्यक्ष कमला भण्डारी भन्छिन्, 'गाउँ-गाउँबाट सहकारीको सवारीसाधनमार्फत कृषि उपज आयात गर्ने व्यवस्था मिलाएका छौँ।' 

images
images

थोक बजार केन्द्र लुम्बिनी प्रदेश सरकारबाट ७० लाख, तानसेन कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाबाट ३४ लाख, हेफर इन्टरनेशनलबाट १० लाख र सहकारीको १० लाख गरी एक करोड २४ लाखको लागतमा निर्माण भएको हो। थोक बजार सञ्चालनका लागि बजार विकास समिति र निर्देशिका बनाइएको छ। प्रत्येक दिन कारोबार गर्ने गरी सञ्चालन गर्न थालिएको थोक बजार साताको एक दिन बजार लाग्ने सहयोगी संस्था ग्रामीण आर्थिक विकास सङ्घ रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताए। 

तानसेन नगरपालिकामा दुई रोपनीभन्दा धेरैमा व्यावसायिक तरकारी खेती गर्नेहरू छ सय परिवार छन्। उनीहरूले वार्षिक ५० लाख बढीको तरकारी बिक्री गर्दै आएका छन्। यहाँ बाख्राको पकेट क्षेत्रसहित चारवटा स्रोत केन्द्र छन्।

तानसेनबाट दुई करोड बढीको बाख्रा निर्यात हुँदै आएको छ। तानसेन बाख्राको मासुमा आत्मनिर्भर छ। तानसेन नगरपालिकाका ग्रामीण वडाबाट वार्षिक ३५ करोड बढीको कृषि तथा पशुजन्य उत्पादन निर्यात हुने गरेको नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीको भनाइ छ। 'जिल्लामै थोकबजार सङ्कलन केन्द्र नहुँदा व्यापारीको मूल्यमा कृषि उपज बिक्री गर्नुपरेको थियो', उनी भन्छन्, 'थोकबजार केन्द्र सञ्चालनले कृषकले राम्रो मूल्य पाउनेछन्।' रासस


प्रकाशित : आइतबार, कात्तिक १३ २०७९०४:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend