शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

बढ्दो ब्याजदरले निर्माणाधीन तारे होटलको लगानी बढ्यो, प्रतिफल अनिश्चित

images
बुधबार, कात्तिक ९ २०७९
images
images
बढ्दो ब्याजदरले निर्माणाधीन तारे होटलको लगानी बढ्यो, प्रतिफल अनिश्चित

पछिल्लो समय विदेशी पर्यटकको आगमनको सङ्ख्यामा उल्लेख्य गिरावट तथा बढ्दो ब्याजदरका कारण लागत बढिरहेको तर आम्दानी सो अनुसार बढ्न नसकेको भन्दै हानले सरकारसँग कर्जाको पुर्नतालिकीकरण र पुर्नकर्जाको व्यवस्थाको माग गरेको हो । 

images
images

काठमाडौं- काठमाडौँ नक्सालमा शङ्कर ग्रुपले रु आठ अर्ब लगानीमा पाँचतारे होटल हिल्टन निर्माण गरिरहेको छ । होटल निर्माणका लागि शङ्कर ग्रुपले रु छ अर्ब बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको छ । होटलले लिएको रु छ अर्ब कर्र्जाको न्यूनतम् ब्याजदर १२ प्रतिशत मात्रै मान्ने हो भने पनि वार्षिक रु ७० करोड त ब्याजमा मात्रै खर्च गर्नुपर्छ । यद्यपि अहिले वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पु¥याइसकेका छन् । हिल्टन होटलमा कूल एक सय ७४ वटा कोठा रहनेछन् । यदि होटलमा भएका सबै कोठा तीन सय ६५ दिन नै सञ्चालन हुने हो भने कर्जाको ब्याज तिर्नका लागि मात्रै प्रत्येक कोठाले न्यूनतम दैनिक नौ हजार पाँच सय रुपैयाँभन्दा बढी आम्दानी गर्नुपर्छ । तर पछिल्लो समय घट्दो अवस्थामा रहेको पर्यटकको सङ्ख्याका आधारमा हेर्दा सो अनुसारको आम्दानी हुने सम्भावना निकै कम छ । जुन समस्या हिल्टनले मात्रै होइन अन्य निर्माणधीन तारे होटलहरुले भोग्नुपर्ने देखिएको छ ।

images
images
images

कोरोना महामारीको असर, बढ्दो ब्याजदर, पर्यटक आगमनमा भएको सङ्कुचन तथा सस्तो दरमा कोठा बिक्री गर्नुपर्ने बाध्यताका कारण तारे होटलहरुमा भइरहेको अर्बौ लगानी जोखिममा देखिएको जानकारहरुको बुझाइ छ । निर्माणाधीन होटलहरुमा कोरोना महामारी, बढ्दो ब्याजदर, पर्यटक आगमनमा भएको सङ्कूचन तथा सस्तो दरमा कोठा बिक्री गर्नुपर्ने बाध्यताका कारण होटलमा भइरहेको लगानी जोखिममा पर्ने देखिन्छ । होटल एशोसिएशन नेपाल (हान)का अनुसार अहिले मुलुकभरका होटलको औसत ‘अकुपेन्सी’ २५ प्रतिशत छ । अझ काठमाडौँ बाहिरका होटलमा करिब १५ प्रतिशतको अकुपेन्सी छ । आजका दिनमा होटलमा भइरहेको लगानीमाथिको प्रतिफल सुनिश्चितका लागि पूर्ण दरमा बिक्री गर्ने हो भने पनि अकुपेन्सी ९० प्रतिशतभन्दा माथि हुनुपर्छ । नेपाल भ्रमण वर्ष २०११ का संयोजक रहेका तथा हानका पूर्वअध्यक्ष पर्यटन व्यवसायी योगेन्द्र शाक्य पनि होटलमा ओइरिएको लगानीमाथिको प्रतिफल आजका दिनमा सुनिश्चित नभएको स्वीकार गर्छन्। 

उनका अनुसार हाल तारे होटलहरुले औसतमा प्रतिकोठा न्यूनतम ७० देखि ९० डलरसम्म बिक्री गरिरहेका छन् । यही अवस्था रह्यो भने होटलहरुले ब्याज मात्रै तिर्न पनि हम्मेहम्मे पर्ने उनको भनाइ छ । 'यदि पूर्ण दरमा कोठा बिक्री गर्न नसक्ने हो भने कर्जा चुक्ताका लागि मात्रै पनि होटलहरुले बराबरको आम्दानी गर्न सक्दैनन् । होटलहरुले गर्ने आम्दानीको ७० प्रतिशत हिस्सा कोठा बिक्रीबाट आउँछ भने बाँकी ३० प्रतिशत आम्दानी खाना र अन्य कार्यक्रममार्फत् हुन्छ' उनले भने। 

images

होटलहरुले लगानीमाथिका प्रतिफल सुनिश्चितका लागि औसतमा कोठाहरु तीन सयदेखि ३५० डलरमा बिक्री गर्न सक्नुपर्छ ।

images

तर सो बराबरको खर्च गर्ने पर्यटकको सङ्ख्या नबढ्दासम्म सम्भव देखिंदैन । 'सन् २०११ मा नेपाल भ्रमण वर्ष मनाउँदा होटलहरुको सङ्ख्याका आधारमा हेर्दा १० लाख पर्यटक आवश्यक थियो, सन् २०२० मा होटलहरुको सङ्ख्या र पूर्वाधारका आधारमा २० लाख पर्यटक चाहिन्थ्यो भने अब त्यो सङ्ख्या बढेर ३० लाख पुगेको छ”, उहाँले भन्नुभयो “तर कोभिडअघिकै अवस्थामा पुग्न पनि हामीलाई अझै दुई वर्ष लाग्ने देखिन्छ।' उनका अनुसार सन् २०११ र २०२० मा पर्यटक ल्याउने लक्ष्य लिनुका पछाडि केही वैज्ञानिक कारणहरु थिए । यसमा बढ्दो होटलहरुको सङ्ख्या र अकुपेन्सीका आधारमा त्यति पर्यटक आवश्यक छ भनिएको थियो । लक्ष्यअनुसार पर्यटक नआउँदाको प्रत्यक्ष असर होटलहरुमा बढिरहेको लगानी र त्यसको प्रतिफलमा देखिने अनिश्चित भएको शाक्यको भनाइ छ। 

उद्योग विभागको तथ्याङ्क हेर्ने हो भने हाल निर्माणाधीन तारे होटलहरुमा भएको लगानी मात्र  ५० अर्बभन्दा बढी छ ।  एकातिर धमाधम तारे होटलहरुमा लगानी बढिरहने र अर्कोतर्फ अपेक्षाकृत रुपमा विदेशी पर्यटकको सङ्ख्या नबढ्दा लगानीमाथिको प्रतिफलको सुनिश्चित हुन सकेको छैन । करिब ४० वर्षदेखि पर्यटक व्यवसायमा समर्पित वसन्त मिश्र पनि होटलहरुमा भइरहेको लगानीको प्रतिफल सुनिश्चित हुने आधार आजका दिनमा नदेखिएको बताउँछन्। 

हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहका अनुसार हाल नेपालमा सञ्चालित होटलहरुमा करिब ५० हजार कोठा छन् । त्यसबाहेक निर्माण भइरहेका होटलका कारण दुई हजार कोठा थप हुनेछन् । एकातिर होटलहरुमा लगानी बढिरहेको छ भने अर्कोतर्फ आम्दानी सङ्कुचन हुँदै गएको छ । कोरोना महामारीका कारण घटेको पर्यटक आगमनको सङ्ख्या सन् २०१९ मा जत्तिकै पु¥याउन सन् २०२५ सम्म कुर्नपर्ने अवस्था छ । उद्योग विभागका अनुसार हाल पाँचतारे मान्यता प्राप्त होटलको सङ्ख्या १७ वटा छ । यसमा कोरोना महामारीपछि दरबारमार्गको होटल डेला अन्नपूर्ण र लाजिम्पाटको होटल सांग्रिला बन्द छन् । त्यसबाहेक सञ्चालित होटलहरुको कोरोना महामारीपछि आम्दानीमा सुधारका सङ्केतहरु देखिन थालेका छन् । हाल निर्माणाधीन केही पाँचतारे होटलहरुमा हिल्टन, सेराटन, बुढानीलकण्ठ हेरिटेज, द म्यासिफ, ट्रयाङकुलिटी रोयल, इस्टर्न होटल, सूर्य नेपाल, होटल सेफ्रोन, गोपिकृष्ण कम्प्लेक्स, आयुष्मानलगायतका होटल छन् ।

कोरोना महामारी र ब्याजदरले अतिरिक्त लगानीले बढ्यो 

काठमाडौँ नक्सालमा शङ्कर ग्रुपले निर्माण गरिरहेको पाँच तारे होटल ‘हिल्टन’को लागत कोरोनाअघिको तुलनामा एक अर्ब ८० करोड रुपैयाँले बढेको छ । कम्पनीका अनुसार शुरुमा प्रतिकोठा लगानी दुई करोड ८० लाख रुपैयाँ हुने अनुमान गरिएकामा एक करोडले बढेर तीन करोड ८० लाख रुपैयाँ पुगेको छ । अब होटलको कुल लगानी आठ अर्ब रुपैयाँ पुग्नेछ । हिल्टन मात्रैको होइन, ठमेल चोकमा निर्माण भइरहेको होटल बाराहीको लागत पनि करिब ३५ प्रतिशतले बढेको सञ्चालक विप्लव पौडेलको भनाइ छ  । चार वर्षअघि ९० करोड रुपैयाँ लाग्ने अनुमान गरिए पनि विभिन्न कारणले होटल निर्माणमा ढिलाइ हुँदा लागत बढेको छ ।

ब्याज तिर्नै नसक्ने अवस्थामा होटल

होटल सङ्घ नेपाल (हान)ले केही दिनअघि एक विज्ञप्ति जारी गरी आम्दानीमा भइरहेको सङ्कुचन तथा ब्याजदर वृद्धिका कारण तत्काल बैंक तथा वित्तीय संस्थालाई कर्जाको साँवा र ब्याज तिर्नै नसक्ने अवस्था भएको स्पष्ट पारिसकेको छ । हानले यस्तो गम्भीर अवस्थामा कम्तीमा दुई वर्षका लागि कर्जाको पुर्नतालिकीकरण वा पुर्नकर्जाको सुविधा उपलब्ध गराउनुपर्ने माग सरकार समक्ष गरेको छ । पछिल्लो समय विदेशी पर्यटकको आगमनको सङ्ख्यामा उल्लेख्य गिरावट तथा बढ्दो ब्याजदरका कारण लागत बढिरहेको तर आम्दानी सो अनुसार बढ्न नसकेको भन्दै हानले सरकारसँग कर्जाको पुर्नतालिकीकरण र पुर्नकर्जाको व्यवस्थाको माग गरेको हो । 

 


प्रकाशित : बुधबार, कात्तिक ९ २०७९०८:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend