काठमाडौं- विद्युतीय सवारी ब्याट्रीबाट चल्ने साधन हो र ब्याट्री रिचार्ज गरेर पुनः गुडाउनु पर्ने हुन्छ। आईसी इन्जिन गाडीमा पेट्रोल/डिजेल भरेजस्तो सजिलो र छोटो समयमा अहिले उपलब्ध प्रविधिअनुसार विद्युतीय सवारी चार्ज गर्न सम्भव छैन।
आईसी इन्जिन सवारीको विरासत लामो भएकाले यसका सम्भव भएजति सजिला पक्षहरू प्रयोगमा आइसकेका छन्। प्रदूषण धेरै गर्ने र पर्यावरण बिग्रँदै गएकाले विश्वले स्वच्छ सवारीमा जाने निधो गरिसकेको छ। परिणामतः विद्युतीय सवारीको उत्पादन, प्रयोग र अनुसन्धालाई तीव्र पारिएको छ।
आईसी इन्जिन सवारीको विश्व जायन्टहरू पनि प्रदूषण नगर्ने सवारीको खोजमा छन्। वर्तमान समयमा ब्याट्रीमा आधारित विद्युतीय सवारी नै विकल्पका रुपमा विश्वसामु खडा भएको छ।
विद्युतीय सवारीका लागि सिंगो इकोसिस्टम निर्माण गर्नुपर्ने हुन्छ। इकोसिस्टम बनेको अवस्थामा ईभी चलाउँदा चार्जिङ स्टेसनको समस्या नहुने, ब्याट्रीमा समस्या आउँदा मर्मत वा बदली गर्न सकिने, सवारीमा सञ्चालन समस्या आएमा मर्मत सहजै हुने र ब्याट्रीको व्यवस्थापन पनि सँगै जोडिएर आउँछ। सवारी उत्पादकहरूले इकोसिस्टम निर्माणमा जोड दिएका हुन्छन्।
नेपालमा सवारी उत्पादन नभएपनि आयात भएर राम्रो संख्यामा विद्युतीय सवारी बिक्री हुन थालिसकेको छ। सोही कारण सवारी आयातकर्ताहरूले विद्युतीय सवारीको इकोसिस्टम निर्माणलाई प्राथमिकता दिन थालेका छन्।
संसारभर नयाँ प्रविधि भएको र त्यसको स्वीकार्यता आम उपभोक्तादेखि ग्यारेजसम्म हुनै बाँकी छ। उत्पादित सवारीबारे जानकारी भएपनि त्यसका अन्य प्राविधिक विषयमा सिक्ने क्रम सुरु हुँदैछ। सोहीकारण नेपालजस्तो देशमा आयातकर्ताहरूले विद्युतीय सवारीको इकोसिस्टम नै खडा गर्नुपर्ने हुन्छ। यसका लागि पहिलो सर्तका रुपमा सरकारले विद्युतीय सवारीमा स्थिर नीति लिनुपर्नेछ।
विद्युतीय सवारीको इकोसिस्टम बनाउन ठूलै लगानी आवश्यक पर्ने भएकाले व्यवसायीहरूले लगानीको सुनिश्चितताका लागि स्थिर नीति खोजेका हुन्।
हाल नेपालमा विद्युतीय सवारी बिक्री गर्ने सबैजसो कम्पनीहरूले इकोसिस्टम निर्माणका लागि केही केही काम सुरु गरिसकेको छन्, चाहे प्यासेन्जर कार बिक्रेता हुन् वा कमर्सिलय बिक्रेता।
इकोसिस्टममा विद्युतीय सवारीदेखि चार्जिङ पूर्वाधार, डेडिकेटेड वर्कसप, दक्ष प्राविधिक, तालिम, ब्याट्रीको समस्या पहिचान गरेर मर्मत गर्ने क्षमता भएको ब्याट्री डायग्नोस सेन्टर, स्पेयर पार्टस र सर्भिसलगायत कुराहरू पर्छन्।
विद्युतीय सवारी बिक्रेतामध्ये टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले समग्र इकोसिस्टमको विषय धेरै काम गरिसकेको जनाएको छ। सिप्रदीले देशभर १७ वटा ईभी डेडिकेटेड वर्कशप बनाइसकेको छ।
त्यस्तै अर्को ब्रान्ड हो बीवाईडी। बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालि पनि ईभी सर्भिसदेखि चार्जिङ पूर्वाधार विकासको विस्तारमा तीव्र गतिमा अघि बढेको छ।
यसका साथै एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स, हुन्डाईको बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल, निटा भीको बिक्रेता सीजी मोटर, कियाको बिक्रेता कन्टिनेन्टल ड्रेडिङ तथा नयाँ ब्रान्डका रुपमा भित्रिएका दीपल, ओमोडा, स्काइवेललगायतले पनि इकोसिस्टम निर्माणको काम सुरु गरेका छन्।
यसका साथै कमर्सिलय ईभी बिक्रेताहरूमा सीजी मोटर्स, दीगो, हाइगर, एसआएएमलगायत ब्रान्डले पनि इकोसिस्टम निर्माणको तयारीमा लागेका छन्।
सिप्रदीले टाटाको ईभीमा मर्मतका लागि देशका सबै सहरसहितका ईभी डेडिकेटेड सर्भिस सेन्टर बनाएकाले ईभीमा समस्या भएर समाधान हुने व्यवस्था मिलाएको सिप्रदीका प्यासेन्जर बिजनेस हेड सावन्त सिजापतिले बताए।
’ईभी बनाउनका लागि चाहिने सबै उपकरणहरू त्यहाँ छन्। त्यसका लागि चाहिने म्यानपावर पनि त्यहाँ रहेको छ। आवश्यक पूर्वाधारहरू सबै बनाइएको छ,’ उनले भने, ‘कहिले-कहिले कुनै अलि जटिल समस्या नै पनि हुनसक्छ। त्यस्तो अवस्थामा हाइ भोल्टेज कम्पोनेन्टहरू चलाउने काम गर्न चाहिँ हामीले दिँदैनौँ। त्यस्ता समस्याका लागि चाहिँ काठमाडौं कामहरू हुन्छ। तर त्यसमा पनि गाडी ल्याउने र बनाउनेजस्ता काममा एक महिना लगाउने भनेको होइन, छिटो नै हुन्छ। प्राय त यहाँबाट दक्ष प्राविधिकलाई पठाएर समस्या समाधान गराउने काम पनि गर्छौं।’
सिप्रदीको बलियोमध्यको पक्ष भनेको नै यसको केन्द्रमा उपभोक्ताहरू छन्। उपभोक्तालाई परेको समस्या सिप्रदीको आफ्नो समस्या हो, त्यसलाई जतिसक्दो छिटो समाधान गर्नतर्फ लागेको उनको भनाइ छ। ‘उपभोक्ताहरूले पनि सर्भिसमा सिप्रदी राम्रो छ भनेर प्रतिक्रिया दिइरहनुभएको हुन्छ। हुन पनि यसमा हामी एक कदम अगाडि नै छौँ,’ उनले भने।
हालसम्म टाटाले तीन दर्जन डीसी चार्जर बनाइसकेको छ भने १ सय ३५ वटा एसी फास्ट चार्जर पनि जडान गरिसकेको छ। त्यो सबै ७ किलोवाटको चार्जर हो। त्यसमा कोशी प्रदेशमा १७ वटा, मधेशमा १३ वटा, बागमतीमा ५० वटा, गण्डकीमा १५ वटा, लुम्बिनीमा ३१ वटा, कर्णालीमा दुई र सुदूरपश्चिममा सातवटा रहेका छन्।
यिनीहरू सिप्रदीको जहाँ-जहाँ सर्भिस सेन्टर छ त्यहाँ त भइ नै हाल्यो, त्यसबाहेक हाइवे टचप्वाइन्टहरूमा रहेका छन्। विद्युतीय गाडी बढी गुड्ने क्षेत्रहरूमा सिप्रदीले चार्जर, वर्कशप पुर्याउँदै लगेको छ।
ईभीमा भइरहेको वृद्धि र थपिएका कम्पनीहरूसँगै यसको समग्र पूर्वाधारलगायतमा विकासको कामहरू सबैतिरबाट भइ नै रहेका छन्। त्यसैले अब यसमा व्यापक विकास हुने देखिन्छ। सिप्रदीले पनि आफ्नो तर्फबाट गर्नुपर्ने सबै कामहरू गरिरहेको जनाएको छ। सिप्रदीले नेपालमै पहिलो ईभी ब्याट्री डायग्नोस सेन्टर स्थापना गरिसकेको छ। जहाँ ब्याट्रीको सबैसमस्या पहिल्याएर निधान गर्न सकिनेछ।
त्यस्तै बीवाईडीले पनि डीसी फास्ट चार्जरको संख्या बढाउँदै लगोको छ। काठमाडौंको गौरीघाटमा वीवाडीको सर्भिस सेन्टर रहेको र ललितपुर र भक्तपुरमा एक एक वटा सर्भिस सेन्टर २ महिना भित्रै सञ्चालनमा ल्याउँदैछ।
त्यसैगरि देशका सबै मुख्य सहरहरूमा बीवाईडीको उपस्थित भइसकेको छ। सर्भिस सेन्टरहरूलाई बीवाईडीको स्ट्यान्डर्ड मापदण्डमा अपग्रेड गरिरहेको र यो काम पनि ४५ दिनभित्रै सकिने कम्पनीको भनाइ छ। ८ वटा सर्भिस सेन्टर चलिरहेको छ भने पाँच वटा बन्ने क्रममा रहेको बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकका सर्भिस हेड सुशिल तन्डूकारले बताए।
अहिले साइमेक्सले ३३ वटा डीसी फास्ट चार्जिङ पोइन्ट सञ्चालनमा छ। यो चाहिँ हरेक शोरुम तथा ग्राहकलाई सहजता हुने गरी प्रमुख सहरमा राखेको र यसलाई थप विस्तार गरिरहेको तण्डुकारको भनाइ छ।
‘अबको केही महिनामै १ सय वटा डीसी फास्ट चार्जहरू राख्ने र त्यसलाई चार्जर म्यानेजमेन्ट प्रणाली (सीएमएस)लाई समाय सापेक्षिक अपग्रेड गराउने गरी काम गरिरहेका छौँ,’ उनले भने, ‘त्यस्तै हामीले स्पेयर पार्टस, दक्ष प्राविधिक तथा ब्याट्री मर्मत तथा व्यवस्थापनका लागि काम मिहीन ढंगले काम गरिरहेका छौँ।’
यसका साथै प्यासेन्जर कार बिक्रेता पारामाउन्ट मोटर्सले एमजीको विद्युतीय कारका लागि चार्जिङ पूर्वाधारदेखि सर्भिस सेन्टर देशभर विस्तार गर्ने क्रममा रहेको छ। सवारी बिक्री संख्या बढेसँगै कम्पनीले सर्भिस तथा चार्जिङ नेटवर्क विस्तार गरिरहेको जनाएको छ। सबैजसो विद्युतीय सवारी बिक्रेताहरूले गाडी बिक्री गरिसकेपछि चाहिने सर्भिस र स्पेयर पार्टसमा केन्द्रित भएकार काम गरिरहेका छन्।
कमर्सियल ईभी बिक्रेताहरूले पनि इकोसिस्टम निर्माणका काम गरिरहेका छन्। प्यासेन्जर कार बिक्रेताले मात्र नभइ कमर्सियल बिक्रेताले ईभी इकोसिस्टम निर्माणमा अझ बढी काम गर्नुपर्नेछ। कमर्सियल ईभी चलाउनेहरूले समयमा सर्भिस र स्पेयर पाएनन् उनीहरूको आम्दानीमै असर पर्ने भएकाले समयमै नपाउँदा ईभी इकोसिस्ट नै खलबलिन सक्छ। त्यसैले विद्युतीय सवारीका लागि इकोसिस्टम अपरिहार्य नै छ।