पूर्वी नेपालमा तराईबाट पहाड उक्लँदै विद्युतीय गाडी

पूर्वी नेपालमा तराईबाट पहाड उक्लँदै विद्युतीय गाडी

इटहरी- यतिबेला पूर्वी नेपालमा रहेका माइक्रो भ्यानलाई भ्याइनभ्याइ छ। भोजपुरबाट मात्रै दैनिक ८ वटा विद्युतीय माइक्रो भ्यानले भोजपुर सदरमुकामदेखि विराटनगर इटहरीसम्मका यात्रुलाई सेवा दिइरहेका छन्। पाँचथर, ताप्लेजुङमात्रै होइन पूर्वका सबै जिल्लामा यतिबेला सार्वजनिक यातायाताको रुपमा माइक्रो भ्यानको सेवा बढिरहेको छ। 

पछिल्लो समय यस्ता भ्यान यात्रुको पनि रोजाइमा परेको बताउँछन् भोजपुरमा विद्युतीय भ्यान सञ्चालन गरिरहेका अर्जुन बस्नेत। ‘हामीलाई त फाइदा नै छ, यात्रु पनि खुसी छन्,’ बस्नेतले भने।

सीजी मोर्टसले बिक्री गर्दै आएको केवाईसी भ्यान गत मंसिरमा खरिद गरेर काम सुरु गरेका बस्नेतले हरेक दिन भोजपुरबाट विरानटनरसम्म यात्रु लानेलैजाने सेवा गरिरहेका छन्। ‘किस्ता र खर्च कटौती गरेर मासिक ५० हजार रुपैयाँ नाफा नै बस्ने गरेको छ’ बस्नेतले भने। 

भर्खरै पूर्वी नेपालमा भित्रिएको हाइलङ कम्पनीले तीन सातामा २० वटा गाडी बिक्री गर्‍यो। इटहरी सोरुमबाट हाइलङका आधिकारिक बिक्रेता सप्तकोसी ट्रेडिङले विद्युतीय भ्यानहरू धमाधम बिक्री गरिरहेको छ। 

हाइलङको मात्र होइन एसआरएम कम्पनीको ११ सिटे भ्यानको पनि बिक्री बढ्दै गएको छ। एसआरएम कोशी प्रदेशका बजार व्यवस्थापक श्याम ढुङ्गेलका अनुसार छोटो समयमा २० वटाभन्दा बढी गाडी बिक्री भएका छन्। पहाडी जिल्लाहरूमा सहजै पुर्‍याउन सकिने भएकाले विद्युतीय गाडीको माग बढेको उनको बुझाइ छ।

पछिल्लो समय दैनिक उपभोग्य सामग्री डेलिभरीको लागि विद्युतीय गाडीको प्रयोग हुँदै आएको छ। गाडीमा सामग्री राखेरै घरैसम्म सेवा दिन व्यवसायीहरूले विद्युतीय गाडीको प्रयोग गर्ने गरेका छन्।

सुन्दरहरैचाका अर्जुन भट्टराईले विद्युतीय गाडी भाडामा लिएर घरघरमा ग्यास डेलीभरि गर्ने काम थालेका छन्।

डेलिभरी तथा यात्रुबहाक भ्यानबाहेक साना गाडीको पनि बिक्री बढेको छ। भर्खरै ओमोडा ईफाइभ खरिद गरेका इटहरीका शैलेष कुमार विष्ट आफू सन्तुष्ट रहेको बताउँछन्। एकपटक लगानी गरेपछि कुनै तनाव लिनु नपर्ने भएकाले पेट्रोल कार बिक्री गरेर विद्युतीय गाडी किनेको उनको भनाइ छ। 

इन्जिन सिज हुनेदेखि पेट्रोल मोबिललगायत सर्भिसिङको झन्झट नहुने उनको बुझाइ छ। ब्याट्रीको समेत इन्स्योरेन्स भएकाले आफू एकदमै ढुक्क भएको सुनाएका विष्टले कहिलेसम्म यसैगरी चल्छ भन्नेबारे भने थाहा नभएको बताए।

जिल्ला अस्पताल इलामका डाक्टर देवराज घिमिरेले विद्युतीय कार प्रयोग गरेको पाँच महिना भयो। हालसम्म आफू सन्तुष्ट भएपनि भविष्यमा के होला भन्नेबारे अन्योलमा छन् उनी। अफिसियल प्रयोजनको लागि विद्युतीय गाडी सहज हुने बताउँदै उनले अपर्झट यात्रा गर्नुपर्ने व्यवसायीको लागि त्यति उपयुक्त नहुने सुनाए। 

बजारमा बिक्री भएका गाडीमा अहिलेसम्म कुनै समस्या नदेखिएको ओमोडा कम्पनीका बजार व्यवस्थापक दिलीप चौधरी बताउँछन्। केही गाडीमा माइलेजको समस्या आएपनि त्यसलाई ठूलो इस्युको रूपमा लिन नहुने उनको भनाइ छ। कतिपय सडकको अवस्था र सवारी चालकको व्यवहारले समेत माइलेज निर्धारण हुने उनको तर्क छ। 

सङ्खुवासभा चैनपुरका सुमन कुमार डाँगीले ईभी भ्यान किनेर चलाएको तीन महिना भयो। सुरुमा यात्रु पाउनै गाह्रो पर्ने उनलाई अहिले धान्न गाह्रो पर्दै गएको छ। उनले भने, ‘आवाज नआउने र सुविधाजनक भएकाले यात्रुले पनि मन पराएका छन्। यसमा इन्जिन तात्नेदेखि धुँवा उड्ने समस्या नभएकाले सजिलो भएको छ। धेरै साथीहरूले अहिले ईभी गाडी किन्नु भएको छ। खाँदबारी, भोजपुर, बेलटार, काँकडभिट्टा, इलामतिर पनि यस्ता गाडी धेरै कुद्ने गरेका छन्। तर कहिलेसम्म यसैगरी चल्छ भन्ने चाहिँ अन्योलै छ।’

हाल पूर्वमा एमजी, ओमोडा, टाटा, आयोनिक, कोनालगायत कम्पनीका सानो गाडी बिक्री हुने गरेका छन्। मुख्यतः व्यापारिक प्रयोजनमा र डाक्टर तथा बैंकर्सले यी गाडी बढी खरिद गर्ने गरेका छन्। 

हलुका सवारी भएकाले सार्वजनिक यातायातको रूपमा समेत यसको प्रयोग बढिरहेको छ। विद्युतीय सवारीको दर्ता धेरै भएपनि हालसम्म कति भए भन्नेबारे यकिन तथ्यांक नभएको यातायात व्यवस्था कार्यालय (सवारी) इटहरीका प्रमुख राजकुमार गुप्ताले बताए। छुट्टै तथ्यांक नभए पनि पछिल्लो समय दर्ता हुनेमध्ये अधिकांश विद्युतीय साना सवारी रहेको उनले प्रष्ट पारे।


प्रकाशित : शनिबार, वैशाख १ २०८११२:०५

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ