ईभी ट्याक्सीमा देखिएको जितबहादुरको खुसी

ईभी ट्याक्सीमा देखिएको जितबहादुरको खुसी

जितबहादुर र सन्तबहादुर जस्ता ट्याक्सी चालकहरूका लागि अहिले ईभी ट्याक्सीले आम्दानी बढाउने माध्यमका साथै भविष्य हेरेर सन्तुष्ट हुने अवसरसमेत दिएको छ। इन्धन खर्च तथा मर्मत लागत निकै कम हुँदा उनीहरू खुसी छन्।

काठमाडौं- निजगढका जितबहादुर जिम्वालले विद्युतीय ट्याक्सी किनेर चलाउने कुरा गर्दा उनका साथीभाइले खुब खिसीट्युरी गरे। भइरहेको छाडेर नहुने बाटोमा नलाग भनेर नमागेको सल्लाहसमेत दिए। हाँसठट्टाको विषय बनाएर उडाए। तर उनले विद्युतीय गाडीमा बनाएको योजना त्यागेनन्, अघि बढे। त्यो उत्साहले अहिले सन्तुष्ट छन्। 

जितबहादुरले यातायातको क्षेत्रमा काम गर्न थालेको २८ वर्ष भयो। पछिल्ला १० वर्ष त उनले ट्याक्सी चालककै रुपमा काम गरेको समय भइसक्यो। तर गएको एक वर्षयता उनी जुन सन्तुष्टिमा छन् त्यो पहिले थिएन। विद्युतीय ट्याक्सी चलाएर उनले जति आम्दानी बढाइरहेका छन् त्योभन्दा धेरै बढेको छ उनको खुसी। 

‘पहिलेको ट्याक्सीमा पेट्रोलमा नै धेरै खर्च हुन्थ्यो। अहिले इलेक्ट्रिकमा खर्च निकै कम भएको छ। पहिले पेट्रोलमा मासिक ४०/४५ हजार रुपैयाँ खर्च हुने गरेको थियो भने अहिले त चार/पाँच हजार रुपैयाँ भए पुग्छ’, जितबहादुरले सुनाए।

यो त भयो खर्चको हिसाब। कमाइको हिसाबलाई भने जितबहादुर खट्न सक्ने समयसँग तुलना गर्छन्। राम्रो खट्न सक्ने हो भने त विद्यतीय ट्याक्सीबाट हुने कमाइ पहिले अरू ट्याक्सीबाट हुनेभन्दा निकै राम्रो हुने उनको अनुभव छ।

‘खट्दै खटेन र पोट खेलेर बस्यो, अरूको कुरामा रमाएर काम गरेन भने त आम्दानी हुँदैन नै। अहिले त अनलाइनमा बसेर यात्रु लिने हो भने पनि राम्रो नै छ। ५६ हजार रुपैयाँजति किस्ता तिरेर पनि मासिक ६० हजार रुपैयाँ आफूलाई बस्छ’, उनले भने। 

अहिले यो विद्युतीय ट्याक्सीबाट पहिलेको पेट्रोलबाट गुड्ने ट्याक्सीबाट भन्दा बढी सन्तुष्टि पाएको जितबहादुरले सुनाए। 

‘केही समय चाहिँ अलि राम्ररी चलाउन नजान्दा सन्तुष्टी थिएन। अहिले त सबै बुझिसकेको छु। अहिले पूरा चार्जमा दुईसय किलोमिटरसम्म गुडाउँछु’, उनी भन्छन्, ‘यात्रुहरूले पनि यो विद्युतीय ट्याक्सी अरू ट्याक्सीहरूभन्दा आरामदायी भएको बताउँछन्। भित्रको स्पेशहरू राम्रो छ, खुट्टा ठोक्किँदैन भनेर यात्रुहरू खुसी हुन्छन्। आवाज नआउने एसीमा सरर हिँड्न पाउने राम्रो नै छ।'

सुरुमा एकपटक त ईभी गाडीबारे बुझ्नुपर्ने कुराहरू नबुझ्दा आफूले समस्या भोगेको भए पनि सबै विषय बुझेपछि आरामदायी भइरहेको उनले सुनाए।

‘ईभी नयाँ निकाल्नेहरूलाई तेलको गाडीमा भन्दा धेरै कुरा फरक हुन्छ भन्ने नबुझेर पनि सुरूमा त तनाब हुन्छ। सबै सिस्टम बुझिसकेपछि भने समस्या छैन’, उनले सुनाए, ‘यसको मोटर अलि छिटो कुद्छ, पावर धेरै हुन्छ। जानेन भने त खुइअँ यही नाच्दिन्छ। हामीले सन्तुलन मिलाएर सबै बुझेर चलाउँदा राम्रो छ। उकालोमा चढ्दैन ह्यानत्यान सब कुराहरू झुटो हो।'

यो सबै भ्रमहरूबीच पनि ईभीको आनाबानी भने बुझेर चलाउनुपर्ने जितबहादुर सुनाउँछन्। भैँसी पाल्नुसँग तुलना गर्दै उनी भन्छन्, ‘भैँसीको पनि त दूध दुहुँदा आनीबानी बुझेन भने दूध दिँदैन, लात्तीले हान्छ। यस्तै ईभीको पनि सबै कुरा बुझ्नुपर्‍यो। पानी परेको ठाउँमा चिप्लो भएर चढ्दैनसम्म भने मानिसहरूले, तर किन नचढ्नु? मजाले चढ्छ। कच्ची हिलो जतासुकै जान्छ।' 

ललितपुर दक्षिण भेगको अप्ठ्यारो ठाडो उकालोमा चलाएकोदेखि बर्दिबास, धरान सबैतिर ईभी ट्याक्सीमा नै गएको सुनाउँदै उनले बाहिर जाँदा पनि ठूलो खर्च केही नहुँदा खुसी लागेको बताए। ‘यहाँबाट मेरो घर निजगढ जान पहिला त १२ सय/१३ सय रुपैयाँको पेट्रोल खर्च हुन्थ्यो। अहिले त चार्ज गरेर जाँदा १ सय ३० रुपैयाँमा पुग्छु। खर्च निकै कम हुन्छ।'

यो सबैमा आफैले गरेको निर्णयले खुसी मिलेको हुँदा पनि उनमा सन्तुष्टि बढेको छ। अरूका अनेक सल्लाह र खिसीट्युरीमा ध्यान नदिइ उनले आफ्नै निर्णयले ईभी ट्याक्सी लिएका थिए। अहिले आफ्नो निर्णय सही थियो भन्ने पुष्टी भइसकेको उनलाई लाग्छ। 

‘यो ट्याक्सी लाइनभित्र दलाली गर्ने मान्छेहरूको कुरा सुनेर निर्णय गर्न हुँदैन। सबै कुरा आफैले बुझेर जानेर निर्णय लिनुपर्छ। दलालीमा रमाउनेहरूले त काम गरेर खाने ट्याक्सी गुडाउनेहरूलाई भड्काउँछन्, हरेक नयाँ कुरा आउँदा काम छैन भनेर निरुत्साहित पारिरहेका हुन्छन्। यो नराम्रो त्यो नराम्रो, काम छैन भनिरहेका हुन्छन्। त्यसैले निर्णय आफैले बुझेर लिनुपर्छ। मैले पनि यो सबै भोगिसकेको छु। त्यसैले यसपाली कसैको कुरा नसुनेर सिधै गएर आफैले पहिले नै बुक गरेँ’, उनले सुनाए।  

जितबहादुरले विद्युतीय ट्याक्सी लिइसकेपछि पनि धेरैको गाली खाए। यो काम छैन तँ डुबिससम्म भनिदिए। ‘कतिसम्म भने कोहीले त एउटा हम्मर बोकेर हिँडसम्म भने। किनभने गाडीभित्र हुँदा लक भयो भने सीसा फुटाएर निसक्ने अरे। यस्तो हावा कुराहरू त कति कति। बजारमा त विभिन्न कुराहरू हुन्छ’ उनले भने। तर उनले बजारको हल्ला सुनेनन् आफै निर्णय लिए र मेहनत गरिरहे। जसले अहिले उनलाई हरेक दिन ट्याक्सी लिएर निस्कँदा मुस्कुराउन सक्ने ऊर्जा दिएको छ।  

बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने पुराना ट्याक्सीलाई विद्युतीय बनाउनुपर्ने व्यवस्था गरेसँगै सिप्रदी ट्रेडिङ प्रालिले टाटाले उत्पादन गरेको विद्युतीय ट्याक्सी ल्याएर बिक्री सुरुगरेपछि यसमा जोडिने ट्याक्सी चालकहरूमा अहिले जितबहादुरको जस्तै खुसी देखिन्छ। 

त्यस्तै खुसी देखिएका छन् दोलखाका सन्तबहादुर श्रेष्ठ पनि। २०७१ सालमा दुई/तीन महिना ट्याक्सी चलाएर छाडेपछि अरू गाडी चलाउने काममा लागेका उनले पछिल्लो चार महिनायता ईभी ट्याक्सी चलाइरहेका छन्। 

उनलाई पहिलेदेखि नै ईभी खुब मन परेको हो। त्यही भएर ईभी चलाउने भनेर एकवर्ष अघिदेखि नै सोचिरहेका थिए। गएको पुस ४ गते त ईभी ट्याक्सी लिएर चलाउन नै थाले।

lithiam ion.jpeg
सन्तबहादुर श्रेष्ठ

‘ट्याक्सी लाइनमा योबाट राम्रो भइरहेको छ। अरु गाडीमा हो भने तेलमा खर्च हुन्थ्यो। तेल पनि बढिरहने गर्दा समस्या नै हुन्थ्यो। यसमा चाहिँ चार्जबाट चलाउने हुँदा आफ्नै देशको बिजुलीले भयो। तेल हालेर चलाउनुपर्ने हुँदा पैसा अर्काको देशमा जान्थ्यो। अहिले आफ्नै देशको विद्युतबाट आफैले कमाएर खान पाइरहेको छु, खुसी छु’, उनले भने।   

सन्तबहादुर पनि आम्दानी राम्रो छ। महिनामा १ लाख २० हजार रुपैयाँजति कमाइ भइरहेको सुनाउने उनी राम्रो प्रविधिको गाडी भएकाले अलिकति महँगो भए पनि सबै हिसाबले सोच्दा सन्तुष्ट रहेको बताउँछन्। 

‘बिजुलीको लागि महिनामा पाँच हजार रुपैयाँ जतिले पुगेको छ। चार्जिङलगायतका विषयमा समस्या छैन। सर्भिसका लागि चाहिँ ठाउँहरू अलि बढी भए सजिलो हुन्थ्यो। उपत्यकाबाहिर जाँदा पनि समस्या छैन। चार्जिङ स्टेसनहरू त ठाउँठाउँमा छन्’, उनले भने। 

जितबहादुर र सन्तबहादुर जस्ता ट्याक्सी चालकहरूका लागि अहिले ईभी ट्याक्सीले आम्दानी बढाउने माध्यमका साथै भविष्य हेरेर सन्तुष्ट हुने अवसरसमेत दिएको छ। इन्धन खर्च तथा मर्मत लागत निकै कम हुँदा उनीहरू खुसी छन्। अर्को त यात्रुहरूले ‘राम्रो ट्याक्सी’ भनिदिँदा पनि उनीहरूको सन्तुष्टि बढेको छ। 


प्रकाशित : शनिबार, वैशाख १ २०८११२:०४

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ