ईभी ब्याट्रीको विषयमा अब यसकारण चाहिँदैन डर र दोधार

ईभी ब्याट्रीको विषयमा अब यसकारण चाहिँदैन डर र दोधार

बिग्रिएको ब्याट्रीमा नै पनि अझै मूल्य हुने हुँदा त्यो वातावरणमा यसै मिल्कने छैन। प्रयोग भएर दक्षता कम भएका ब्याट्रीमा भएको तत्त्वहरूलाई अधिकतम रुपमा पुन: प्रयोगमा ल्याउनका लागि धेरैले अर्बौँ लगानी गरेर अनुसन्धान गरिरहेका छन्।

काठमाडौं- विद्युतीय कारका विषयमा जति पनि सवाल-जवाफ छन् त्यसको केन्द्रमा रहन्छ ब्याट्री। कतिपयलाई ब्याट्रीको विषयमा नै डर पनि रहन्छ र त्यसबारे बुझेपछि ढुक्क हुन्छन्।

उत्सुकता, अनुसन्धान, उत्पादन र प्रयोगबीचको लामो यात्रामा विश्व बजारका यस्ता घागडान कम्पनीहरू ब्याट्री उत्पादन र विकासमा लागिरहेका छन् जसले भविष्य थप उज्यालो देखिँदैछ।

बिजुली गाडीको माग बढेसँगै त्यसका लागि अत्यावश्यक ब्याट्रीको मागसमेत स्वाभाविक रुपमा नै बढेको छ। ब्याट्री उत्पादनमा ठूला कम्पनीबीच प्रतिस्पर्धा नै देखिन्छ। यो प्रतिस्पर्धाले नयाँ प्रविधिको विकासका साथै दीगोपनसहित विश्वासको वातावरण बनिरहेको छ।

आउँदो समयमा इन्टरनल कम्पस्चन इन्जिन (आईसीई) सवारीको प्रयोग क्रमशः घट्दै जाने निश्चित छ। विश्वका विभिन्न ठूला कार उत्पादक कम्पनीले सयम तोकेरै आईसी इन्जिन सवारी उत्पादन बन्द गर्ने घोषणासमेत गरेका छन्। यसैले पनि अबको युग विद्युतीय सवारीकै युग हो।

ईभी ब्याट्रीको विकासमा समेत आउने समयमा ठूलो फड्को मार्ने देखिन्छ। ब्याट्रीले विद्युत स्टोर गर्ने क्षमता बढाउन व्यापक अनुसन्धानहरू भइरहेका छन्। ब्याट्रीको पुन: प्रयोग र लाइफ साइकल बढाउन पनि ब्याट्री उत्पादकहरू लागिपरेका छन्।

विकास हुन थालिसकेको विद्युतीय सवारीलाई सन् १९०० को दशकमा पेट्रोलियममा आधारित सवारीले घुँडा टेकाएको भए पनि अहिले समय फेरिएको छ। यो फेरिएको समयको केन्द्रमा छ बलियो बन्दै गएको ब्याट्री प्रविधि।

अहिले विद्युतीय सवारी लिथियम आयन ब्याट्रीमा आधारित छन्। यी ब्याट्रीहरूमा पनि निरन्तर विकास भइरहेका छन्। आईसी इन्जिन सवारीको विकल्पमा जाने विश्वको संकल्पका कारण पनि ब्याट्री प्रविधिमा अनुसन्धान र विकास भइरहेका छन्। लिथियम आयन ब्याट्रीकै विकल्पका रुपमा समेत सोलिड-स्टेट ब्याट्रीको विकास भइरहेको छ।

सन् २०२४ सुरु भएसँगै ईभी ब्याट्री जगतमा राम्रा संकेतहरू देखिएका छन्। २०२५ को अन्त्यसम्ममा त ईभी ब्याट्रीको लागतमा उल्लेख्य गिरावट आउने विश्वभर भइरहेका अनुसन्धानहरूले देखाएका छन्। ब्याट्रीको मूल्यमा कमी आएपछि विद्युतीय कारको मूल्यमा पनि कमी आउने नै छ।

विश्वभर भइरहेको ब्याट्री प्रविधिको विकासका कारण यसमा चिन्ता लिनुपर्ने अवस्था नरहेको अग्नि इनर्जीका वरिष्ठ कार्यकारी प्रबन्धक प्रमोद भण्डारी बताउँछन्। नेपालमा सुरुवाती दिनमा सन् २००७ तिर लिड एसिड ब्याट्री प्रयोग भएको विद्युतीय सवारी रेभा बिक्री गरेका उनले अहिलेको प्रविधि हेर्दा ब्याट्रीलाई समस्याका रुपमा लिन नपर्ने बताउँछन्।

‘लिथियम आयन ब्याट्रीमा पनि निरन्तर विकास हुँदै आइरहेको छ। लिथियम आयन फोस्फेटदेखि ब्लेड ब्याट्रीहरू आइसकेका छन्। हाइड्रोजन सेलमा काम हुँदैछ। ब्याट्रीमा निरन्तर अनुसन्धान र प्रयोग भइरहेका छन्। अर्को त ब्याट्रीमा हुने लागत पनि घटिरहेको छ जसले उपभोक्ता मूल्य स्वत: घट्ने छ’, उनले भने।

सन् २०१९ मा प्रतिकिलोवाट आवर ब्याट्रीको लागत १ सय ६० डलरभन्दा बढी थियो भने यो २०२३ को अन्त्यसम्ममा १ सय ५० डलर हाराहारी पुगिसकेको थियो। २०२४ को अन्त्यसम्ममा प्रतिकिलोवाट आवर ब्याट्री उत्पादन लागत १ सय १५ डलर वरिपरि पुग्नेछ भने २०२५ मा लागत ९० डलर हाराहारी हुने अनुमान छ। त्यस्तै २०३० सम्म पुग्दा त ब्याट्रीको प्रतिकिलोवाट आवर लागत ५०/६० डलर वरिपरि आइपुग्ने विभिन्न अध्ययनहरूको अनुमान गरिएको छ।

ईभी ब्याट्रीको कच्चा पदार्थको मूल्य कम हुनु र नवीनतम प्रविधिको विकास भइरहनुले ब्याट्रीको मूल्य निरन्तर घटिरहेको छ। मूल्य घट्नुका साथै प्रविधिमा भइरहेको विकासले उपभोक्तालाई राहत मिलिरहेको छ।

जस्तो कि लिड एसिड ब्याट्री प्याकमा आठवटा ब्याट्री हुन्थ्यो जसमा एउटामात्र ब्याट्री बिग्रियो भने पनि पूरै प्याक नफेरि सुख थिएन। ब्याट्री प्याक नै फेर्नुपर्थ्यो। आठ वटाकै मूल्य तिर्नुपर्ने थियो। अब लिथियम आयन ब्याट्रीमा बिग्रिएको हरेक सेललाई छुट्टै फेर्दा भयो। अब आउने प्रविधिले यसमा समेत थप विकास गर्ने नै छ।

चीनको कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी कम्पनी लिमिटेड (सीएटीएल), दक्षिण कोरियाको एलजी इनर्जी सोलुसन, चीनको बीवाईडी कम्पनी लिमिटेड, जापानको प्यानासोनिक कर्पोरेसन, चीनकै एसभोल्ट इनर्जी टेक्नोलोजी जस्ता कम्पनीहरूले ब्याट्रीमा निरन्तर अध्ययन अनुसन्धान गरिरहेका छन्। यी ठूला कम्पनीहरूले ब्याट्रीको प्रविधिमा गरिरहेको विकासले पनि ब्याट्रीको भविष्य सुरक्षित देखिन्छ।

सन् २०२० यता ब्याट्रीको मागमा भएको व्यापक वृद्धिलाई मध्यनजर गर्दै यी कम्पनीहरूले उत्पादन बढाइरहेका छन्। यिनीहरू ब्याट्रीमा मात्र विशेष ध्यान दिएर काम गरिरहेका छन्। भविष्यलाई हेरेर थप लगानी गरिरहेका छन्। विश्व ब्याट्री बजारमा आफ्नो हिस्सा निरन्तर बढाइरहेका छन्।

यसमा अमेरिकाको टेस्ला, चीनको ईभीई इनर्जी कम्पनी लिमिटेड, दक्षिण कोरियाको एसके अन कम्पनी लिमिटेड र चीनको सीएएलबी ग्रुप कम्पनी लिमिटेड जस्ता कम्पनीहरु पनि निरन्तर अघि बढिरहेका छन्।

ब्याट्री बिग्रियो भने के गर्ने, ब्याट्रीको आयु सकिएपछि के गर्ने भन्नेजस्ता आम उपभोक्ताको सवालमा पनि यी कम्पनीहरूको कामले नै जवाफ आइरहेको छ। ईभीको ब्याट्री प्याक नै फेर्नु पर्नेगरी बिग्रँदा नै पनि त्यसको पुन: प्रयोग हुने यकिन कम्पनीहरूले गरिसकेका छन्। बिग्रिएको ब्याट्रीमा नै पनि अझै मूल्य हुने हुँदा त्यो वातावरणमा यसै मिल्कने छैन।

'लिथियम आयन प्याक ब्याट्री भनेको यस्तो भ्यालुएवल चिज हो, जो ब्याट्री सतप्रतिशत नै डेट भएको अवस्थामा पनि केही हजार डलरको लिथियम तत्व बाँकी नै रहन्छ। त्यो कसैले पनि ड्रम्पिङ साइटडमा फ्याँक्दैनन् र फ्याँक्नु पनि पर्दैन। सवारीको हकमा ७० देखि ५० प्रतिशत तल झर्दासम्म पनि चल्छ। ब्याट्रीको इफिसियन्सी घट्ने हो त्यो शून्यमा झर्दैन। त्यसपछि पनि अन्य प्रयोजनमा प्रयोग गर्न मिल्छ। ब्याट्री व्यवस्थापन भनिएजस्तो जटिल पक्कै छैन' सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले भने।

ब्याट्री व्यवस्थापनका लागि विभिन्न कम्पनी आइसकेको हुँदा त्यसमा कुनै समस्या नहुने उनी बताउँछन्। 'डम्पिङ साइटमै लगेर फ्याक्न पर्ने छैन। पुन: प्रयोगमा जाने नै छ। लिथियम आयन ब्याट्रीको रिसाइकलका लागि धेरै कम्पनीहरूले अध्ययन गरिरहेको र केहीले सफलता पनि पाइसकेको हुँदा व्यवहारिक प्रयोगमा आउने क्रममा रहेको छ' उनले भने। 

प्रयोग भएर दक्षता कम भएका ब्याट्रीमा भएको तत्त्वहरूलाई अधिकतम रुपमा पुन: प्रयोगमा ल्याउनका लागि धेरैले अर्बौँ लगानी गरेर अनुसन्धान गरिरहेका छन्। यसरी ब्याट्रीको पुन: प्रयोग अर्थात रिसाइकल भएर वातावरणीय मुद्दा पनि कम हुनेछ र ब्याट्रीको लागतसमेत घट्नेछ।

ब्याट्रीमा सन्तुलनको काम मिलाउने ‘ब्याट्री म्यानेजमेन्ट सिस्टम’ (बीएमएस) मा भइरहेको विकासले भने ब्याट्रीलाई लिएर हुने चिन्ता कम गरिरहेको छ। बीएमएस ब्याट्रीको सम्पूर्ण विषय हेर्ने पाटो हो।

‘एउटा ब्याट्री प्याकभित्र धेरै सेलहरू हुन्छन्। त्यो सेलहरूलाई पनि निश्चित रुपमा आकारदेखि सबै कुरा मिलाइएको हुन्छ। त्यसमा हरेक सेललाई नै मनिटरिङ गर्नुपर्ने हुन्छ। सेलमा कति भोल्टेज छ कति करेन्ट छ भन्नेलगायतको मनिटरिङ गर्ने काम बीएमएसमार्फत हुन्छ। सेलका साथै ब्याट्री प्याकको भोल्टेजलगायतका विषयमा पनि ध्यान दिनुपर्ने हुन्छ। चार्जिङ र डिस्चार्जिङका कुरा पनि मनिटरिङ भइरहेको हुन्छ। यसमा भइरहेको विकासले पनि ब्याट्री प्रविधिलाई बलियो बनाइरहेको छ’, विद्युतीय गाडी बिक्री गरिरहेको सिप्रदीमा मेकानिकल इन्जिनियर रहेका दिग्विजय आचार्यले भने।

प्रविधिमा भइरहेको विकास बुझिरहेका उपभोक्ताहरू ब्याट्रीको विषयमा अहिले खास चिन्ता गर्दैनन्। ८/१० वर्षपछि ब्याट्री फेर्नुपर्ने समस्या आएमा पनि त्यसबेला ब्याट्रीको मूल्य व्यापक घटिसकेको हुने छ भन्ने उनीहरूले बुझेका छन्। ईभीमार्फत वर्तमानमा मिलिरहेको वृहत फाइदा हेर्दा भविष्यमा ब्याट्रीबारे हुने समस्या सोचेर निराश हुनुपर्ने अवस्था छैन।

ब्याट्री व्यवस्थापनको विषयमा सरकारले भने नीतिगत स्पष्टतासहित काम गर्नुपर्ने बताउँछन् वरिष्ठ अधिवक्ता महेशकुमार थापा। ईभी प्रयोगकर्तासमेत रहेका उनी विद्युतीय सवारीमा ब्याट्रीलाई समस्या हुन नदिन पनि स्पष्ट नीतिगत कामहरु हुनुपर्ने बताउँछन्।

‘भोलिको दिनमा ब्याट्रीको डिस्पोज कहाँ गर्ने हो भन्ने कुरा आइरहेका छन्। राज्यले यसलाई चाहिँ व्यवस्थापन गर्नुपर्छ। हुन त ब्याट्रीहरू पनि विस्तारै विकास हुँदै गइसकेका छन्। अब ब्याट्रीको विकास सबैतिरबाट भएर आउने नै छ’, उनले भने।

उपभोक्ताहरू अब ब्याट्री कति टिक्ला के होला भन्ने दुविधाबाट बाहिर निस्किरहेका छन्। विद्युतीय सवारीलाई लिएर हुने गरेका डर, आशंका र कुनै पनि सन्देह अब पुरानो हुनेछन्। ब्याट्रीको सम्बन्धलाई लिएर देखिएको धरमर र दोधार हटेर अहिले ब्याट्रीमा भएको विकासले स्पष्ट जवाफ दिइरहेको छ।


प्रकाशित : शनिबार, वैशाख १ २०८११२:०३

प्रतिक्रिया दिनुहोस