शुक्रबार, जेठ ४ गते २०८१    
images
images

४ सय ७१ किलोमिटर सडक निर्माणदेखि स्तरोन्नतिमा ८४ अर्ब खर्च गर्दै सरकार, कुन सडकमा कति खर्च?

images
शुक्रबार, कात्तिक ४ २०७९
images
images
४ सय ७१ किलोमिटर सडक निर्माणदेखि स्तरोन्नतिमा ८४ अर्ब खर्च गर्दै सरकार, कुन सडकमा कति खर्च?
images
images

काठमाडौं- सरकारले नयाँ सडक निर्माणदेखि सञ्चालनमा रहेका सडकको स्तरोन्नतिलाई प्राथमिकतामा राख्दै काम गरिरहेको छ। पछिल्लो सयम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत वन तथा वातावरण मन्त्रालयले ६ वटा सडक मर्मत तथा निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक गरेको छ।

images
images
images

केही दिनअगाडि मात्रै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत वन तथा वातावरण मन्त्रालयले सवा ५ अर्ब रुपैयाँ लागतको १ सय २ किलोमिटर गैरिटाड-कमद बजार-तुर्माखांद-जंगलेघाट-बबियाचौर-चिसापानी सडक स्तरोन्नतिको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक गरेको हो।

images

योसँग सरकारले ६ वटा सडक खण्डको कामका लागि भन्दै वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक गरेको छ। 

images
images

वन तथा वातावरण मन्त्रालयले कुल ४७१.४२६ सडक स्तरोन्नतिदेखि निर्माणका लागि वातावणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक गरेको छ। जसको लागत मात्रै ८४ अर्ब रुपैयाँ हाराहारी रहेको छ।

images
images

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १ सय २ किलोमिटरको गैरिटाड-कमद बजार-तुर्माखांद-जंगलेघाट-बबियाचौर-चिसापानी सडक ५ अर्ब २३ करोड रुपैयाँको लागतमा स्तरोन्नति गर्न लागेको छ।

यसैगरी ६२.४२६ किलोमिटरको कोसी करिडोर अन्तर्गत पर्ने चतरा-लेगुवाघाट सडक, ३० किलोमिटरको कोसी करिडोर अन्तर्गत नै पर्ने चतरा-मुलघाट सडक, १३० किलोमिटरको कमला-ढल्केबर-पथलैया सडक चार लेनमा विस्तार, ३५ किलोमिटरको भगवानपुर-कल्याणकोट-शिवगढी-गोबरडिहा  सडक र  ११२ किलोमिटरको सुर्खेत-जुम्ला सडकको बांगेसिमल-सैन खण्ड विस्तार गर्न लागिएको छ।

गैरिटाड-चिसापानी १०२ किलोमिटर सडकको स्तरोन्नति हुने

सरकारले गैरिटाड-कमद बजार-तुर्माखांद-जंगलेघाट-बबियाचौर-चिसापानी १०२ किलोमिटर सडकको स्तरोन्नति गर्ने भएको छ। झन्डै सवा ५ अर्बको लागतमा सडक स्तरोन्नतिका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांक रिपोर्ट सार्वजनिक गरिएको छ।

यो सडक खण्ड सुदूरपश्चिम प्रदेशको अछाम र कैलाली जिल्लामा पर्ने छ। सडक विभागको प्रस्तावमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत सडक स्तरोन्नतिका लागि वन तथा वातावरण मन्त्रालयमा वातावरणीय प्रभाव मूल्यांकन पेस गरिएको हो। रिपोर्टमा सडक स्तरोन्नतिमा लागि कर सहित ५ अर्ब २३ करोड रुपैयाँ लागने अनुमान गरिएको छ।

सडक सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ७ र लम्किचुहा नगरपालिका वडा नम्बर ३ र अछाम जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर १, २, ५, ६,८,९,१०, ढकारी गाउँपालिका वडा नम्बर ८ र तुर्माखांद गाउँपालिका वडा नम्बर  ४,५,७ तथा कर्णाली प्रदेश अन्तर्गत पन्चपुरी नगरपालिका वडा नम्बर ५,६,७,८,१०,११ अन्तर्गतका पर्दछ।

प्रस्तावित सडकको कुल लम्बाई १०२ किलोमिटर र विद्यमान चौडाइ ५.८ मिटर रहेको छ। सडक क्षेत्रको क्षेत्राधिकार सडककोबीच रेखाबाट दायाँ बायाँ दुवै तिर १५/१५ मिटर रहने गरी ३० मिटर र फर्मेसन चौडाइ ९.५ मिटर रहने रिपोर्टमा उल्लेख छ। यस सडक खण्ड समुद्री सतहबाट २१० मिटर देखि २१२० मिटर को उचाईसम्म रहेको छ।

कुल १०२ किमी लम्बाइ रहेको यस सडक खण्डलाई हालको ग्रावेल माटे सडकबाट स्तरोन्नति गरी दोहोरो बिटुमिनस सतह बनाउन प्रस्ताव रिपोर्टमा गरिएको छ। सडक स्तरोन्नतिमा क्रममा  ३ हजार ९ सय ७८ वटा रख कटानी हुने छ। रिपोर्टमा सडक स्तरोन्नतिका कामका लागि १ हजार १ सय ७० जना अदक्ष र १ सय ८२ जना दक्ष जनशक्ति आवश्यक पर्ने उल्लेख छ।

चतरा-लेगुवाघाट सडक

कोसी करिडोर अन्तर्गत पर्ने चतरा-लेगुवाघाट सडक निर्माणमा ४ अर्ब १७ करोड ६ लाख ९९ हजार रुपैयाँ लागत अनुमान भएको छ। वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा ६२.४२६ किलोमिटर सडक निर्माणका लागि उक्त रकम लाग्ने उल्लेख छ।

सडक विभाग भू-वातावरण तथा सामाजिक सुरक्षा शाखाको प्रस्तावमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत वन तथा वातवरण मन्त्रालयममा पेस भएको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा सडक निर्माणमा प्रतिकिलोमिटर ६ करोड ६८ लाख १० हजार ३ सय ३ रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।

यो सकड धनकुटा जिल्लाको तीनवटा गाउँपालिकामा पर्नेछ। सडकखण्ड साँगुरीगढी गाउपालिकाको वडा नम्बर १०, शहीदभूमी गाउँपालिकाको वडा नम्बर १, २, ४ र ५ र पाख्रीवास गाउँपालिकाको वडा नम्बर ५, ६ र ८ भएर सडक जाने छ।

६२.४२६ किलोमिटर लम्बाई हुने सडकको ९ मिटर चौडाइ रहने छ। ७ मिटर कालोपत्र र सडकको दायाँ वायाँ १-१ मिटर सोल्जर रहने रिपोर्टमा उल्लेख छ। यो सडकखण्ड सबै नयाँ निर्माण हुने छ। यो सडकले चतरा-धरान र कोसी रार्जमागलाई जोड्द छ। यो सडक खण्ड समुन्द्री सतहबाट १४७ मिटरदेखि ५९४ मिटरसम्म रहेको छ।

यो सडक सप्तकोसी नदी र अरुण नदीको किनारा हुँदै जाने छ। सडक सिमाको ५० मिटर भू-उपभोगमा कृषि  जमिन १९ हेक्टर, वन क्षेत्र २९२ हेक्टर, झाडी ११.९ हेक्टर, घाँसे मैदान ३.५ हेक्टर र बालुवा जमिन ६.५१ हेक्टर पर्ने वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ।

आयोजनाबाट निर्माण अवस्थामा तीन वर्षको लागि (८ लाख ३८ हजार ७ सय ३५ मानव दिन दक्ष र २१ लाख १० हजार १३० मानव दिन अदक्ष) स्थानीय जनतालाई रोजगारीको सृजना हुने रिपोर्टमा उल्लेख छ। आयोजना प्रभावित क्षेत्रका गरिब र पिछडिएका जनतालाई पहिला प्राथमिकताका साथ आयोजनाको निर्माण कार्यमा लगाइने हुँदा उनीहरूको सीप विकास हुने रिपोर्टमा उल्लेख छ।

आयोजनाको निर्माणबाट स्थानीय जनतालाई बाह्रै महिना यातायातको सुविधा हुने विषय पनि उल्लेख छ। उक्त आयोजनाले यातायात सहज हुने तथा यातायातको समय र खर्च घटाउने छ। आयोजनाले उक्त क्षेत्रमा गरिबी कम गर्न तथा ग्रामीण समुदायमा आर्थिक विकासमा सहयोग गर्ने लक्ष्य लिइएको छ।

सडक निर्माण हुँदा बजार, जिल्ला सदरमुकाम तथा अन्य ठाउँमा सहज पहुँच पुग्दछ जसले आर्थिक विकासमा सहयोग मिल्नुको साथै सडक सञ्चालन हुँदा कोशी राजमार्गको धरानधनकुटा सडक खण्डमा यातायातको चाप घट्ने रिपोर्टमा उल्लेख छ। बढ्दो पहुँच र यातायात अवसरले गर्दा अझ आर्थिक, सामाजिक विकास जस्तै शिक्षा, स्वास्थ्य, सञ्चार, बजार र बैंकिङ सेवाको विकास र विस्तार हुने रिपोर्टमा उल्लेख छ।

चतरा-मुलघाट सडक

कोसी करिडोर अन्तर्गत पर्ने चतरा-मुलघाट सडक निर्माणको लागत  २ अर्ब ६३ करोड २३ लाख ९४ हजार २ सय ५८ रुपैयाँ उल्लेख गरिएको छ। यही आधारमा सडक निर्माणमा प्रतिकिलोमिटर ७ करोड ५२ लाख ११ हजार २ सय ६४ रुपैयाँ लाग्छ। यो सडक सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका र धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकामा पर्नेछ। वराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ र साँगुरीगढी गाउपालिकाको वडा नम्बर ७, ८, ९ र १० भएर सडक जाने छ।

३० किलोमिटर लम्बाई हुने सडकको ९ मिटर चौडाइ रहने छ। ७ मिटर कालोपत्र र सडकको दायाँ वायाँ १-१ मिटर सोल्जर रहने रिपोर्टमा उल्लेख छ। यो सडकखण्ड सबै नयाँ निर्माण हुने छ। यो सडक सप्तकोसी नदी र तमोर नदीको किनारा हुँदै जाने छ। सडक सिमाको ५० मिटर भू-उपभोगमा कृषि  जमिन ७.५४ हेक्टर, वन क्षेत्र १५२.८२ हेक्टर, झाडी ९.४ हेक्टर र घाँसे मैदान ५.३३ हेक्टर पर्ने वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ।

आयोजनाबाट निर्माण अवस्थामा तीन वर्षको लागि (४ लाख १७ हजार २० मानव दिन दक्ष र १० लाख ५० हजार मानव दिन अदक्ष) स्थानीय जनतालाई रोजगारीको सृजना हुने रिपोर्टमा उल्लेख छ। आयोजना प्रभावित क्षेत्रका गरिब र पिछडिएका जनतालाई पहिला प्राथमिकताका साथ आयोजनाको निर्माण कार्यमा लगाइने हुँदा उनीहरूको सीप विकास हुने रिपोर्टमा उल्लेख छ।

आयोजनाको निर्माणबाट स्थानीय जनतालाई बाह्रै महिना यातायातको सुविधा हुने विषय पनि उल्लेख छ। उक्त आयोजनाले यातायात सहज हुने तथा यातायातको समय र खर्च घटाउने छ। आयोजनाले उक्त क्षेत्रमा गरिबी कम गर्न तथा ग्रामीण समुदायमा आर्थिक विकासमा सहयोग गर्ने लक्ष्य लिइएको छ।

सडक निर्माण हुँदा बजार, जिल्ला सदरमुकाम तथा अन्य ठाउँमा सहज पहुँच पुग्दछ जसले आर्थिक विकासमा सहयोग मिल्नुको साथै सडक सञ्चालन हुँदा कोशी राजमार्गको धरानधनकुटा सडक खण्डमा यातायातको चाप घट्ने रिपोर्टमा उल्लेख छ। बढ्दो पहुँच र यातायात अवसरले गर्दा अझ आर्थिक, सामाजिक विकास जस्तै शिक्षा, स्वास्थ्य, सञ्चार, बजार र बैंकिङ सेवाको विकास र विस्तार हुने रिपोर्टमा उल्लेख छ।

कमला-ढल्केबर-पथलैया सडक चार लेनमा विस्तार गरिने

सरकारले पूर्व-पश्चिम राजमार्गको कमला-ढल्केबर-पथलैया सडक चार लेनमा विस्तारका लागि यो वर्ष प्रक्रियाअघि बढाउने भएको छ। विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानीमा ‘स्टाटेजिक रोड कनेक्टिभिटि एण्ड ट्रेड इम्प्रुभमेन्ट प्रोजेक्ट’अन्तर्गत सडक विस्तार अघि बढाउन लागिएको सडक विभागले जनाएको छ।

सो सडक चार लेनमा विस्तार गर्न लागिएको भए पनि सहरी क्षेत्रमा दायाँबायाँ दुवैतर्फ ‘सर्भिस लेन’ थप एकएक लेनमा निर्माण गरिने र विभिन्न स्थानमा सवारीसाधनका लागि ‘अण्डर पास’ तथा ‘ओभर पास’ निर्माण तथा जनावरका लागि सडक पार गर्न संरचना बनाइने विभागका भनाइ छ।

झण्डै आठ ठाउँमा जनावरका लागि पास बनाइने गरी डिजाइन भइरहेको छ। वातावरणीय अध्ययन तथा सर्वेक्षणको काम सम्पन्न भएर सडक तथा पुलहरु डिजाइन भइरहेको छ। जम्मा १३० किमी लम्बाइको सडकमा झण्डै ७६ पुल निर्माण हुने भएको छ। बागमती, बकैया र कमला खोलामा गरी तीन स्थानमा ‘सिग्नेचर पुल’ निर्माण गरिने भएको छ। डिजाइनमा नै सवारीसाधन एक सय किमी प्रतिघण्टाका दरले गुड्ने गरी र कतिपय स्थानमा ७५ किमी गुड्नसक्ने छ।

सडक विस्तारका लागि जग्गा अधिग्रहण गर्न नपर्ने भएपनि कतिपय स्थानमा भइरहेका संरचना हटाउनुपर्ने हुनसक्ने विभागले जनाएको छ। उक्त सडक सन् २०२७ सम्ममा निर्माण गरिने अनुमान गरिएको र यसको लागत अनुमान ६४ अर्ब रुपैयाँ रहेको छ। 

भगवानपुर-गोबरडिहा ३५ किलोमिटर सडक निर्माण हुने

सरकारले भगवानपुर-कल्याणकोट-शिवगढी-गोबरडिहा ३५ किलोमिटर सडक निर्माण गर्ने भएको छ। सडक निर्माणका लागि हुलाकी राजमार्ग आयोजना निर्देशनालय प्रस्तावक रहँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत वन तथा वातावरण मन्त्रालयमा वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट पेस भएको छ।

रिपोर्टमा सडक आयोजनका कुल लागत १ अर्ब ५४ करोड ३९ लाख ८५ हजार ४ सय ७० रुपैयाँ रहेको छ। रिपोर्टमा प्रतिकिलोमिटर निर्माण लागत ४ करोड ४१ लाख १३ हजार रुपैयाँ रहने उल्लेख छ।

भगवानपुर-कल्याणकोट-शिवगढी-गोबरडिहा सडक हुलाकी राजमार्ग आयोजना अन्तर्गत लुम्बिनी प्रदेश, कपिलबस्तु जिल्ला, शिवराज नगरपालिका वडा नम्बर ९ र विजयनगर गाउपालिका वडा नम्बर १ तथा दाङ जिल्ला, गढवा गाउँपालिकावडा नम्बर १ र २ मा पर्ने छ। प्रस्तावित सडक खण्ड सुरु विन्दु शिवराज नगरपालिका वडा नम्बर ९ बिचगौरी र अन्तिम विन्दु गढवा गाँउपालिका वडा नम्बर २ कोठारी रहेको छ।

यस सडक खण्डको लम्बाइ ३५ किलोमिटर र सडकको क्षेत्राधिकार बीच रेखा बाट दायाँ/बायाँ दुवैतिर १५/१५ मिटर गरी ३० मिटर रहने रिपोर्टमा छ। सडक खण्डको फर्मेशन विथ ११ मिटर छ भने क्यारिज वे ७ मिटर रहेको छ।

सुर्खेत-जुम्ला सडकको बांगेसिमल-सैन खण्ड ६ अर्ब लागतमा २ लेनमा स्तरोन्नति हुँदै

कर्णाली राजमार्गको स्तरोन्नतिलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ। त्यहीअनुसार कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत-जुम्ला सडक खण्डको बांगेसिमल-सैन सडक खण्डको स्तारोन्नतीका लागि वातारणीय प्रभाव मूल्यांकन गराएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले वातावरण मन्त्रालयले उक्त अध्ययन गरेको हो। 

यो सडक खण्डको स्तरोन्नतिका लागि ६ अर्ब १३ करोड ६ लाख ८४ हजार रुपैयाँ लागत अनुमान गरिएको छ। यो सडकमा हाल ६ मिटरदेखि ५० मिटरसम्मका पुल छन् र निर्माण हुने छन्। अहिले यो सडक खण्डमा १५ वटा पुल सञ्चालनमा छन् भने ५ वटा नयाँ पुल बनाउन प्रस्ताव गरिएको छ।  १ सय १२ किलोमिटर सडक खण्डमा हाल कालो पत्रे गरिएको छ भने अब स्तरोन्नति गर्दा अस्फाल्ट कंक्रिट बनाउने भनिएको छ। यो सडकमा बेरिंग कोर्स अस्फाल्ट कंक्रिट ५० मिलिमिटर हुनेछ। 

सडकको क्षेत्राधिकार ३० मिटरको हुने छ भने ९ मिटरको फर्मेसन चौडाइ हुने यो सडक डबल लेनको हुनेछ। यो आयोजना कर्णाली प्रदेश सञ्चालन हुनेछ। सुर्खेत र दैलेख जिल्लामा बन्ने यो सडकको सुरु बिन्दु सुर्खेतको बांगेसिमल र अन्तिम बिन्दु दैलेकको साईगाउँ रहेको छ। 

यो सडकको प्रभावित क्षेत्रमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नं २ र बराहताल गाउँपालिका वडा नं ५, ७ र ७ तथा दैलेखको गुराँस गाउँपालिका वडा नं १ र २, दुल्लु नगरपालिका वडा नं १, २ र ३, चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं ७ र आठबीस नगरपालिका वडा नं १, २ र ३ रहेको छन्। 

यो सडक खण्डको डिजाइन गति ६० किलोमिटर प्रतिघण्टा रहेको छ। सडक निर्माणका लागि १३ हजार ५९ मेट्रिक टन सिमेन्ट, ५१ हजार ४ सय ८६ घनमिटर बालुवा, ५ लाख ३१ हजार ८ सय ४५ घनमिटर ढुंगा, १६ लाख ७९ हजार ३ सय ७३ घनमिटर गिट्टी, १५२.८८ टन फलाम र ३२ हजार ५ सय ८६ लिटर बिटुमिन लाग्ने अनुमान गरिएको छ। 

करिब २ लाख घण्टा विभिन्न मेसिनरी उपकरण चलाउनु पर्ने छ। सो समय मेसिन तथा गाडी चलाउनका लागि १४ लाख ५ हजार ५ सय २७ लिटर डिजेल र बिटुमिनमा मिसाउन ८ हजार १ सय ४७.५ लिटर मट्टितेल खपत हुनेछ।


प्रकाशित : शुक्रबार, कात्तिक ४ २०७९०२:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend