आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

१७८ अंकको वृद्धिपछि सेयर बजार ओरालोतिर, फेरि हौसिएका साना लगानीकर्ता नै जोखिममा

मंगलबार, साउन १७ २०७९
१७८ अंकको वृद्धिपछि सेयर बजार ओरालोतिर, फेरि हौसिएका साना लगानीकर्ता नै जोखिममा

काठमाडौं- गएको सातादेखि हरियाली छाइरहेको सेयर बजारमा लगातार १७८.६२ अंकको वृद्धिपछि उतारचढावबीच मंगलबार झिनो अंकको गिरावट देखिएको छ। 

गएको साता र यो साता आइतबार र सोमबार दुई दिनको कारोबारमा गरी बजारमा देखिएको १७८.६२ अंकको वृद्धिले सकारात्मक संकेत गरेपनि मंगलबारको उतारचढाव फरक रह्यो। मंगलबार उतारचढावका बीच बजारले ओरालो बाटो समातेको छ।

गएको साता १२२.८९ अंकले बढेर विश्वासको वातावरण फर्काउँदै यो साता आइतबार ५४.५८ र सोमबार १.१५ अंकले बढेको बजार मंगलबार २.८१ अंकले घटेको छ। मंगलबार ३ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ।   

ठूला लगानीकर्ताले १८४८ आसपासमा किनेको सेयरबाट नाफा उठाइरहँदा साना लगानीकर्ता भने अझै पनि जोखिममा रहेको विश्लेषकहरु बताउँछन्। ठूलो अंकको वृद्धिमा साना लगानीकर्ता हौसिदा जोखिममा परिरहेको उनीहरू बताउँछन्। आफ्नो नाफा सुरक्षित गर्न ठूला लगानीकर्ताको पकडमा रहेको बजारले सुधारको स्थायी आधार अझै भेट्न नसकेको विश्लेषकहरू बताउँछन्। 

अहिलेको अवस्थामा ठूलो अंकको वृद्धिपछि बजारमा करेक्सन आएको नभइ फेरि पनि चलखेलमै देखिएको विश्लेषकहरू बताउँछन्।विश्वासयोग्य वातावरण बनेको भनिएको सेयर बजारमा फेरि पनि ठूला लगानीकर्ताकै चलखेल देखिएको उनीहरूको भनाइ छ। लामो समयदेखि घट्दो ट्रेन्डको बजारमा केही दिन उछाल ल्याउँदै बाहिरिने गरिरहँदा बजारले विश्वासको स्थायी आधार भेट्न मुस्किल भइरहेको छ।

तरलता अभाव, ब्याजदरमा आउने वृद्धिले दबाब नै भएकोले अझै बजार उतारचढावमै रहने विश्लेषकहरूको भनाइ छ। यस्तोमा बजारमाथिको चलखेल र अनावश्यक क्रियाप्रतिक्रियासमेत बढिरहेको छ। नीतिगत निर्णय र बजारका सूचकहरूको आधारमा भन्दा लहडका भरमा चलिरहेको आरोप लाग्ने सेयर बजारमा अहिलेको अवस्थामा बजार उच्च अंकतर्फ फर्किने संकेत नदेखिएको विश्लेषकहरू बताउँछन्। विश्लेषकहरू अहिलेको उतारचढावपूर्ण अवस्थाले बजारलाई २५ सय बिन्दुको हाराहारीमा पुर्‍याउने देखिएको भए पनि पहिलेको उच्च बिन्दु भेट्न भने समय लाग्ने बताउँछन्। 


प्रकाशित : मंगलबार, साउन १७ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend