काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक नीति २०७९/८० मार्फत बैंकले बैंकहरुलाई मर्जरमा जाने छुट सुविधाको अवधि बढाएसँगै बीमा समितिले पनि समय बढाउने भएको छ। सोही सुविधा उपयोग गर्न भन्दै प्रभु र सेञ्चुरी बैंकले मर्जरमा जाने सम्झौत गरेका छन्।
चुक्तापुँजी वृद्धि गर्न बीमा समितिले निर्देशन दिएसँगै बीमा कम्पनीहरूले मर्जरको सम्झौता असार मसान्तसम्म गरेका थिए। अधिकांश बीमा कम्पनीहरू मर्जरमा जानका लागि असार मसान्तमै सम्भौता गर्न सफल भएका छन्। असार मसान्तसम्म मात्रै मर्जरको सम्झौता गर्ने बीमा कम्पनीलाई सुविधा दिने घोषणा गरेको समितिले पुस मसान्तसम्म समय लम्ब्याउने भएको छ। योसँगै बीमा कम्पनीहरु अझै मर्जरमा जाने देखिएको छ।
हालसम्म १८ बीमा कम्पनीहरुले मर्जर सम्झौता गरिसकेको र बाँकि पनि मर्जरमा जान इच्छुक देखिएको हुँदा छुटसम्बन्धी समय थप गर्न लागेको समितिले जनाएको छ।
बीमा समितिले निर्देशन जारी गर्दै असार मसान्तसम्म बीमा कम्पनीहरूलाई मर्जरमा जाने सम्झौता गर्न निर्देशन दिएको थियो। निर्देशनसँगै हिमालयन र एभरेष्ट इन्स्योरेन्सले १००ः८५ को स्वाप रेसियोमा मर्जर सम्भौता गरेर पहिलो एकिकृत कारोबार सुरु गरिसकेको छ। बीमा समितिले मर्जरमा जाने कम्पनीहरुलाई विभिन्न छुट र सुविधा दिने निर्णय गरेको थियो। साउनदेखि मर्जरमा जानेहरुले सुविधा उपयोग गर्न नपाउने भनेपछि अब सुविधा पुस मसान्तसम्म पुर्याइएको छ।
समितिले गाभिएपश्चात कायम हुने आउने सेयरधनीहरूले दुई वर्षभित्रमा सेयर बिक्री गर्दा लाग्ने आयकर छुट पाउनेछन्। बीमक कम्पनीले गाभिएको दुई वर्षभित्रमा लाभांश वितरण गर्दा त्यस्तो लाभांशमा कर नलाग्ने व्यवस्था समेत रहेको छ। मर्जर निर्देशिका अनुसार मर्जरमा जाने बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृतहरुलाई कुलिङ्ग अवधी लागू हुने छैन।
त्यस्तै, गाभिनेक्रममा कर्मचारीहरू अवकासमा जान चाहेमा एकमुष्ठ भुक्तानी गर्दा अवकास रकममा कर कट्टी गर्दा ५० प्रतिशत कर छुट दिने व्यवस्थासमेत रहेको निर्देशनमा उल्लेख गरिएको छ। निर्देशनमा २०८० असारमसान्त भित्र मर्जर सम्झौतासम्पन्न हुनेमात्रै सुविधा पाउने समेत उल्लेख गरिएको छ।
सुविधासँगै बीमा कम्पनीहरू धमाधम मर्जरमा जाने घोषणा गरेका थिए। बीमा समितिले चुक्तापुँजी बढाउने निर्णय गरेसँगै कम्पनीहरू मर्जमा जाने सम्झौता गर्न गरिरहेका छन्। जीवन र निर्जीवन बीमा कम्पनीहरू दुवैले मर्जका लागि जोडि खोज्ने र सम्झौता गर्नेक्रम बढेको थियो।
समितिले गत चैत १० गते बीमा कम्पनीको चुक्तापुँजी वृद्धिको निर्णय गरेको थियो।
बीमा समितिको संचालक समिति बैठकले हाल २ अर्ब रुपैयाँ चुक्तापुँजी भएका जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र १ अर्ब रुपैयाँ चुक्तापुँजी भएका निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय गरेको थियो। नेपालमा अहिले १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र २ वटा पुनर्बीमा कम्पनी संचालनमा रहेका छन्।
असार ३२ गतेसम्म १८ बीमा कम्पनीले मर्जरमा जाने सम्झौता गरेका छन्। सम्झौताअनुसार मर्जर सफल भएमा ९ वटा कम्पनीमा झर्ने छन्। अहिले रहेका ४१ कम्पनी मध्ये २३ मा झर्नेछन्। अन्य कम्पनीहरु पनि चुक्तापुँजीको दबाबमा रहेकाले मर्जरमै जाने छन्। हिमालयन र एभरेष्ट इन्स्योरेन्सले गत महिना देखि एकिकृत कारोबार सुरु गरेका छन्। त्यस्तै प्रभु र अजोड इन्स्योरेन्सले पनि १००ः७० को अनुपातमा मर्जर सम्झौता गरेका छन्।
त्यस्तै ज्योति लाईफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स पनि मर्जरमा जाने सम्झौता गरिसकेका छन्। दुई कम्पनीबीच डीडीएपछि मात्रै स्वाप रेसियो टुंगो लगाउने सम्झौता गरेका छन्।
त्यस्तै सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्यारेन्सले १००ः१०० को अनुपातमा मर्जर सम्झौता गरेका छन्। प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि बराबरी १००ः१०० को स्वाप रेसियोमा मर्जरमा जाने सम्झौता गरिसकेका छन्।
त्यस्तै सगरमाथा र लुम्बिनी इन्स्योरेन्स कम्पनीले पनि बराबरी हैसियत १००ः१०० स्वाप रेसियोमा मर्जरमा जाने सम्झौता गरेका छन्। सानिमा जनरल र जनरल इस्योरेन्स कम्पनीले पनि १००ः१०० स्वाप रेसियोमा मर्जरमा जाने सम्झौता गरेका छन्।
यता युनियन लाइफ र गुराँस लाइफले पनि मर्जर सम्झौता गरेका छन्। दुई बीमा कम्पनीले पनि डीडीए प्रतिवेदनपछि मात्रै स्वाप रेसियो टुंगो लगाउने सम्झौता गरेका छन्। यता सिद्धार्थ र प्रिमियर इस्योरेन्सले पनि १००ः१०० अनुपातमा मर्जरमा जाने सम्झौता गरिरहेका छन्।