आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

बढ्दो ट्रेन्डमा देखियो सेयर बजार, बीमाको सेयरमा लगानीकर्ता झुम्मिएपछि उछाल

आइतबार, साउन १५ २०७९
बढ्दो ट्रेन्डमा देखियो सेयर बजार, बीमाको सेयरमा लगानीकर्ता झुम्मिएपछि उछाल

काठमाडौं- साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ। नेप्सेमा सूचीकृत बीमा कम्पनीहरूको सेयरमा उछाल आउँदा समग्र नेप्से उच्च अंकले बढेको छ। 

आइतबार ५४.५८ अंकले बढेर बजार २१९५.१० बिन्दुमा पुगेको छ। जसमा ४ अर्ब ६० करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ। 

नेपाल इन्स्योरेन्स कम्पनी, आईएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने अधिकांश कम्पनीको सेयर मूल्य पनि उच्चदरमा बढेको छ। लगानीकर्ताहरू बीमा कम्पनीहरूको सेयर खरिदमा झुम्मिने संकेत गरेका छन्।  

यस्तै एनएलजी इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्सको सेयर मूल्य पनि १० प्रतिशत बढेको छ। एसियन लाइफ इन्स्योरेन्सर शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि बढेको छ। लगानीकर्ताहरू पुनः बीमामा आकर्षित हुने देखिएको छ। 

सेयर बजारमा गत साता देखिएको सुखद संकेत यो साताको पहिलो दिन पनि देखिएको छ।  नेपाल राष्ट्र बैंकको नयाँ मौद्रिक नीति साथै नेपाल धितोपत्र बोर्डको नीति तथा कार्यक्रमसँगै लगानीकर्ताहरूमा विश्वासको वातावरण फर्किएको चर्चा भइरहेको छ। मौद्रिक नीतिमार्फत सेयर बजारलाई केही सहज हुनेगरीका व्यवस्था ल्याएको चर्चा भइरहँदा धितोपत्र बोर्डको नीतिले आगामी कदम भने अहिले नै यकिन गर्न मुस्किल हुने विश्लेषकहरू बताउँछन्। 

लगानीकर्ताले विश्वस्त हुने केही आधार भेटे पनि बजार अझै उचाइमा जाने अन्य सूचकहरू नरहेको बताइरहँदा गएको साताभरको अवस्थामा ठूलो अंकको वृद्धि देखिएको थियो। जसमा यो साता पनि सुखद सुरुवात भएको छ। विश्लेषकहरू अहिलेको वृद्धिले बजारलाई २५ सय बिन्दुको हाराहारीमा पुर्‍याउने देखिएको भए पनि पहिलेको उच्च बिन्दु भेट्न भने समय लाग्ने बताउँछन्। 

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार क्रयास नजिक पुगिसकेको थियो। निरन्तर घट्दो ट्रेन्डमा रहेको बजारमा अहिलेको अवस्थाले सुधारको संकेत भने गरेको छ। गएको असार ९ गते १८४८ सम्म झरेको बजारमा अहिलेको संकेत सकारात्मक नै देखिएको विश्लेषकहरू बताउँछन्।

विश्वासयोग्य वातावरण बनेको भनिएको सेयर बजारमा फेरि पनि ठूला लगानीकर्ताकै चलखेल देखिने खतरा रहेको उनीहरू बताउँछन्। घट्दो ट्रेन्डको बजारमा केही दिन उछाल ल्याउँदै बाहिरिने गरिरहँदा बजारले विश्वासको स्थायी आधार भेट्न मुस्किल भइरहेको छ।


प्रकाशित : आइतबार, साउन १५ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend