आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

पुँजी बजारमैत्री नीति कार्यक्रम आउने चर्चाले सेयर बजारमा उत्साह, सुधारको नीतिले उच्च अंक पछ्याउला?

बिहीबार , साउन १२ २०७९
पुँजी बजारमैत्री नीति कार्यक्रम आउने चर्चाले सेयर बजारमा उत्साह, सुधारको नीतिले उच्च अंक पछ्याउला?

काठमाडौं- नेपाल धितोपत्र बोर्डले पुँजी बजारमैत्री नीति ल्याउने चर्चाले सेयर बजारमा बिहीबार उत्साह देखिएको छ। बोर्डले पुँजी बजार सुधारसहितका कार्ययोजना आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममार्फत ल्याउने तयारी गरेको छ।

नयाँ ब्रोकर लाइसेन्स, ब्रोकर कम्पनीमार्फत मार्जिन ल्याण्डिङको सुविधा, नयाँ स्टक कम्पनी ल्याउन अध्ययनसहितका कार्यक्रम ल्याउने तयारी बोर्डले गरेको छ। सोही तयारीसँगै सेयर बजारमा हरियाली देखिएको छ। बिहीबार १५.४४ अंकले बढेर बजार २१२७.४२ बिन्दुमा पुगेको छ। जहाँ ४ अर्ब ९७ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरूको पुँजी वृद्धिसमेत गर्ने गरी नीति कार्यक्रमा समावेश गर्न लागेको छ। बजारसम्बन्धी वित्तीय साक्षरता कार्यक्रमलाई समेत उच्च प्राथमिकता दिने समेत नीतिमार्फत आउँदैछ। पछिल्लो समय लगानीकर्ताहरू स्वविवेकले भन्दा पनि अरुले भनेको भरमा सेयर खरिदबिक्री गर्दा फस्ने क्रम बढेको निष्कर्षसहित बोर्डले सोसम्बन्धी साक्षरता कार्यक्रमलाई अघि बढाउन लागेको छ। 

बैंकको मर्जरको सम्झौता भएपछिको कारोबार फुकुवा गराउनेसमेत नीतिमार्फत घोषणा गर्न लागिएको छ। वैदेशिक रोजगारमा गएका नेपालीलाई साधारण सेयरमा १० प्रतिशतको कोटा छुट्याउने व्यवस्था कार्यान्वयन गर्ने समेत नीतिमा आउने छ। त्यस्तैगरी गैरआवासीय नेपालीहरूलाई दोस्रो बजारमा लगानीको अवसर दिनेसमेत नीति तथा बुक विल्डिङमार्फत चुस्त ढंगले ठूला कम्पनीमा जनतालाई लगानीको नीतिमा समावेश हुनेछ। 

बुधबार सेयर बजारमा तीब्र उतारचढावका बीच दोहोरो अंकले बढेको थियो। मंगलबार घटेको बजार पुनः बुधबार हरियाली भएर बन्द भएको  थियो। मौद्रिक नीतिपछि लगातार बढेको बजार मंगलबार भने ४४.८० घटेको थियो। बुधबार सेयर बजार २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेको थियो।

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार गएको असार ९ गते १८४८ सम्म झरेको थियो। गएको शुक्रबार मौद्रिक नीति आएपछि यो साता आइतबार ६१.०५ अंकले र सोमबार ५४.४५ अंकले बढेको थियो। जसलाई मौद्रिक नीतिको प्रभावका रुपमा अर्थ्याइएको थियो। 


प्रकाशित : बिहीबार , साउन १२ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend