आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

अन्तर्राष्ट्रिय बजारमा निरन्तर घट्दै सुनको मूल्य, डलर बलियो हुँदा नेपालमा देखिएन प्रभाव 

बुधबार, साउन ४ २०७९
अन्तर्राष्ट्रिय बजारमा निरन्तर घट्दै सुनको मूल्य, डलर बलियो हुँदा नेपालमा देखिएन प्रभाव 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएपनि यसको प्रभाव नेपाली बजारमा भने देखिएको छैन। नेपाली बजारमा सुनको मूल्य अझै पनि तोलाको ९४ हजार रहेको छ। मंगलबारको तुलनामा स्थिर रहेको छ। 

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य गएको ११ महिनाकै न्यून बिन्दु पछ्याइरहेको छ। पछिल्ला केही महिनादेखि निरन्तर ओरालो लागेको सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा कमजोर भएको छ। 

ब्लुमबर्ग मूल्य सूचक अनुसार सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा सन् २०२१ को अगष्टको न्यून बिन्दु नजिक पुगेको छ। यही साता सुनको मूल्य प्रति आउन्स १७०० अमेरिकी डलर पुगेको थियो। यो गत वर्षको अगष्टको न्यून बिन्दु हो। अगष्टपछि सुनको मूल्य निरन्तर उकालो लागेको थियो। सन् २०२२ को मार्चमा सुनको मूल्यले उचाइ छोएको थियो। त्यतिबेला सुनको मूल्य प्रति आउन्स २ हजार डलरमाथि पुगेको थियो। 

मार्चपछि निरन्तर ओरालो लागेको सुनको मूल्य अहिले प्रति आउन्स १७ सय अमेरिकी डलरको आसपास पुगेको छ। मंगलबार सुनको मूल्य १७१९ अमेरिकी डलर पुगेको थियो। 

संसारभर मूल्यवृद्धिमा उछाल आएको छ। विकासोन्मुखदेखि विकसितसम्मका मुलुकमा मूल्यवृद्धिले ऐतिहासिक बिन्दु छोइरहेको छ। सामान्यतया सेयर बजार ओरालो र मूल्यवृद्धि उकालो लाग्दा सुनको मूल्यमा वृद्धि देखिन्छ। यस्तो अवस्थामा लगानीको उत्तम बिकल्प मानिने सुन यो वर्षको मूल्यवृद्धिमा लय समात्न सकेन। उल्टो विगतको विरासत गुमाउन पुगेको छ। 

विशेषगरी पछिल्लो समय अमेरिकी डलर बलियो हुँदै गएको छ। डलर बलियो हुँदा लगानीकर्ताको ध्यान डलर एक्सचेन्ज तथा बन्ड मार्केटमा लगानी बढिरहेको छ। यही कारणले सुन कमजोर भइरहेको छ। जति डलर बलियो हुँदै जान्छ त्यति सुनको मूल्य ओरालो लाग्ने प्रक्षेपण छ। 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएपनि यसको प्रभाव नेपाली बजारमा भने देखिएको छैन। नेपाली बजारमा सुनको मूल्य अझै पनि तोलाको ९४ हजार रहेको छ। मंगलबारको तुलनामा स्थिर रहेको छ। 

यद्यपि नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट देखिएको छैन। डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदा सुनको मूल्यमा खासै प्रभाव देखिएको छैन। अमेरिकी डलरको भाउ उच्च बिन्दु उन्मुख छ। मंगलबार मात्र नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएर एक डलर बराबर १२८.२६ रुपैयाँ कायम भएको थियो। 


प्रकाशित : बुधबार, साउन ४ २०७९०५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend