आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

बेलायतको लण्डनमा ग्लोबल आईएमई बैंकको अन्तरक्रिया 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ३१ २०७९
बेलायतको लण्डनमा ग्लोबल आईएमई बैंकको अन्तरक्रिया 

'यसका लागि तपाईँहरूले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खेलिदिनुपर्यो । नेपालमा थप वैदेशिक लगानी भित्र्याउन सहजीकरण गरिदिनुपर्यो,' उनले भने।

काठमाडौं- विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोल्न गैर आवासीय नेपालीहरूलाई आह्वान गर्दै ग्लोबल आईएमई बैंकले बेलायतको लण्डनमा बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

ग्लोबल आईएमई बैंक लिमिटेडको संयुक्त अधिराज्यको लण्डनस्थित वैदेशिक प्रतिनिधि कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहरूलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा जानकारी दिनुका साथै मुलुकभित्र विदेशी मुद्रा तथा विदेशी लगानी भित्र्याउन गैर आवासीय नेपालीहरूलाई आह्वानसमेत गरिएको बैंकले जानकारी दिएको छ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोलेर मुलुकभित्र विदेशी मुद्रा भित्र्याउन र दिगोरुपमा नेपालमै वैदेशिक मुद्राको श्रोत बन्ने पर्यटन पूर्वाधार तथा जलविद्युत आयोजनामा लगानी गर्न गैर आवासीय नेपालीहरूलाई आग्रह गरे।

वरिष्ठ उपाध्यक्ष ढकालले धेरै मुलुकहरूको दाँजोमा नेपालमा लगानीको सम्भावना बढी रहेको र प्रतिफल पनि राम्रो रहेको बताए।

“हामीले चन्द्रागिरिमा एकीकृत पर्यटकीय गन्तव्य विकास गरेका छौं र यस्तै मोडलको एकीकृत पर्यटन पूर्वाधार नेपालका ७ वटै प्रदेशमा निर्माण गर्न गइरहेका छौँ । गैर आवासीय नेपालीहरूसँगको सहकार्यमा लम्जुङको जिल्लामा निर्माण भएको जलविद्युत आयोजना सम्पन्न हुने क्रममा रहेको छ भने म्याग्दी जिल्लाको कालिगण्डकी नदीमा दुईवटा जलविद्युत आयोजना निर्माण गर्दैछौ,” उनले भने। 

उनले नेपाल सरकार, नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति आएको कमीलाई मध्यनजर गर्दै नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्न मिल्ने प्रावधान ल्याएको बताउँदै यसमा सहयोग गर्न गैर आवासीय नेपाली संघ तथा सम्पूर्ण नेपालीहरूलाई आग्रह समेत गरे। 

“यता विदेशमा विना व्याजमा यहाँका बैंकमा राखेको पैसा यदि नेपालमा नेपाली बैंकमा विदेशी मुद्रामा नै राख्ने हो भने त्यसको व्याज समेत पाइन्छ । आवश्यक परेको समयमा नेपालबाट पैसा फिर्ता ल्याउन पनि सकिने सुविधा रहेको छ । भिसा कार्ड तथा मास्टर कार्डमार्फत यहाँहरुले विदेशमा खर्च गर्न पनि सक्ने र आवश्यकताअनुसार नेपालमा लगानी गर्न वा घरपरिवारका सदस्यहरूले उक्त बचतलाई नेपालमा नेपाली रुपैयाँमा निकाल्न मिल्ने सुविधा यसमा रहेको छ,” उनले भने। 

उनले मुलुकको अर्थतन्त्रमा देखिएको संकट टार्न र मुलुकलाई थप आर्थिक संकटबाट मुक्त गर्न सबै नेपालीहरूले भूमिका खेल्नुपर्ने बताए। 

'यसका लागि तपाईँहरूले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खेलिदिनुपर्यो । नेपालमा थप वैदेशिक लगानी भित्र्याउन सहजीकरण गरिदिनुपर्यो,' उनले भने।

बेलायतस्थित नेपाली राजदूतावासका डीसीएम रोशन खनालले मुलुकको अर्थतन्त्र बचाउन र मुलुकको विकासमा गैर आवासीय नेपालीहरूको भूमिका महत्वपूर्ण रहेको बताए।

उनले नेपालमा वैदेशिक लगानी भित्र्याउन र पर्यटक बढाउन गैर आवासीय नेपालीलाई समेत आग्रह गरे।


प्रकाशित : शुक्रबार, असार ३१ २०७९१०:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend