आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

शुक्रबार सधैँ ओरालोतिर लाग्ने बजारमा देखियो सुधार, चार दिनमा ९३ अंकको वृद्धि

शुक्रबार, असार ३१ २०७९
शुक्रबार सधैँ ओरालोतिर लाग्ने बजारमा देखियो सुधार, चार दिनमा ९३ अंकको वृद्धि

काठमाडौं- धरमराइरहेको सेयर बजारमा लगातार चार दिन वृद्धि देखिएको छ। शुक्रबारे आधा समयको कारोबारमा नफापिरहेको बजारमा यसपटक भने हरियाली देखियो। पछिल्लो चार दिनमा बजारमा ९३.८६ अंकको वृद्धि देखिएको छ। 

शुक्रबार ७.९३ अंकले बढेर बजार २००९.४६ बिन्दुमा पुगेको छ। शुक्रबार १ अर्ब ४५ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ।

यो साताको पहिलो कारोबारमा सोमबार ७७.०१ अंकको गिरावट आएको बजारमा त्यसपछिका तीन कारोबारमा हरियाली देखिएको थियो। मंगलबार उतारचढावका बीच ११.६८ अंकले बढेको बजार बुधबार ५९.५४ अंकले बढेर १९८६.८२ बिन्दुमा पुगेको थियो। बिहीबार पनि बजार १४.७१ अंकले बढेर २००१.५३ बिन्दुमा पुगेको थियो। 

बजारमा लगानीकर्ताका लागि विश्वासयोग्य वातावरण नबन्दा बजारले थामिने बिन्दु भेट्न मुस्किल भइरहेको विश्लेषकहरू बताउँछन्। चार दिन सकारात्मक देखिएको बजार अहिलेको परिस्थितिमा अझै केही समय यस्तै तलमाथि भइरहने र ठूलो परिवर्तन नहुने विश्लेषकहरू बताउँछन्। लगानीकर्ताहरू विशेष गरी साउन पहिलो साता आउने मौद्रिक नीतिको पर्खाइमा देखिन्छन्। 

यस्तोमा शुक्रबारको कारोबार भने अहिलेसम्म खास सुखद देखिन सकेको थिएन। सरकारले जेठदेखि लागुहुने गरी आइतबार बिदा दिएसँगै शुक्रबारसमेत सेयर कारोबार सुरु भएको हो। असारदेखि आइतबारे सार्वजनिक बिदा खारेज भए पनि शुक्रबारसमेत १ बजेसम्म सेयर कारोबार गर्न थालिएको हो। 

कुन शुक्रबार बजार कस्तो?

सेयर बजारमा अहिलेसम्म शुक्रबार भएको नौँ कारोबारमा दुई दिनमात्र बजार बढेको छ। कारोबार रकमका हिसाबले पनि शुक्रबार सुखद हुन सकिरहेको छैन। 

जेठ ६ गते शुक्रबारको पहिलो कारोबारमा सेयर बजार १५.८२ अंकले घटेर २२३५.०९ बिन्दुमा झरेको थियो। जहाँ ९३ करोड २२ लाख ६ हजार ८४ रूपैयाँको मात्र कारोबार भएको थियो। 

जेठ १३ गते शुक्रबार १४.८२ अंकले घटेर बजार २२२३.७८ बिन्दुमा झरेको थियो। जसमा १ अर्ब २९ करोड रुपैयाँको कारोबारमात्र भएको थियो।

जेठ २० गते शुक्रबार ३३.७६ अंकले घटेर २०७८.७० बिन्दुमा झरेको थियो। जसमा १ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको थियो। 

जेठ २७ शुक्रबार १४.६४ अंकले घटेर बजार २०४८.१६ बिन्दुमा झरेको थियो। जसमा ८९ करोड ४१ लाख रुपैयाँको मात्र कारोबार भएको थियो। 

असारको पहिलो शुक्रबार १ बजेसम्म भएको कारोबार पनि लगानीकर्ताका लागि सुखद हुन सकेन। असार ३ गते शुक्रबार ७.५७ अंकले घटेर १९७१.३६ बिन्दुमा झरेको थियो। जहाँ ७३ करोड ६३ लाख रुपैयाँको मात्र कारोबार भएको थियो।

असार १० गते शुक्रबार भने १३.७८ अंकले बढेर बजार १८६२.०६ बिन्दुमा पुगेको थियो। जहाँ १ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको थियो। 

असार १७ गते शुक्रबार ८.८७ अंकले घटेर सेयर बजार २०२८.७७ बिन्दुमा पुगेको थियो। जहाँ १ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको थियो। 

असार २४ गते शुक्रबार ३४.७१ अंकले घटेर बजार १९९२.६१ बिन्दुमा झरेको थियो। जसमा १ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको थियो।


प्रकाशित : शुक्रबार, असार ३१ २०७९०७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend