आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

लय खोजिरहेको सेयर बजारमा देखियो लगातार तेस्रो दिन वृद्धि

तीन दिनमा ८५.९३ अंकले बढ्यो

बिहीबार , असार ३० २०७९
लय खोजिरहेको सेयर बजारमा देखियो लगातार तेस्रो दिन वृद्धि

काठमाडौं- उतारचढाव भइरहेको सेयर बजारमा लगातार तीन दिन वृद्धि देखिएको छ। बजारमा थामिने आधार नभेटेर निराश भएका लगानीकर्ता तीन दिनमा देखिएको सुधारपछि केही विश्वस्त देखिएका छन्। पछिल्लो तीन दिनमा बजार ८५.९३ अंकले बढेको छ।

यो साताको पहिलो कारोबारमा सोमबार ७७.०१ अंकको गिरावट आएको बजारमा त्यसपछिका तीन कारोबारमा हरियाली देखिएको हो। मंगलबार उतारचढावका बीच ११.६८ अंकले बढेको बजार बुधबार ५९.५४ अंकले बढेर १९८६.८२ बिन्दुमा पुगेको थियो। 

बिहीबार पनि बजार १४.७१ अंकले बढेर २००१.५३ बिन्दुमा पुगेको छ। बिहीबार २ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ। 

बजारमा लगानीकर्ताका लागि विश्वासयोग्य वातावरण नबन्दा बजारले थामिने बिन्दु भेट्न मुस्किल भइरहँदा लगातार तीन दिन सुधार देखिएको हो। तीन दिनमा सकारात्मक देखिए पनि अहिलेको परिस्थितिमा बजार अझै केही समय यस्तै तलमाथि भइरहने र ठूलो परिवर्तन नहुने विश्लेषकहरू बताउँछन्।

लगानीकर्ताहरू विशेष गरी साउन पहिलो साता आउने मौद्रिक नीतिको पर्खाइमा देखिन्छन्। यसअघि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर लगानीकर्ताले एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड तथा सबै बैंक तथा वित्तीय संस्था गरेर १२ करोडभन्दा बढी ऋण लिन नपाइने व्यवस्था गरेको थियो। उक्त व्यवस्था हट्नुपर्ने माग संगठित लगानीकर्ताहरूको छ। 


प्रकाशित : बिहीबार , असार ३० २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend