आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

घट्दो सेयर बजारमा उतारचढावबीच देखियो वृद्धि, सुधारको बाटोमा कि अप्रत्याशित बिन्दुतिर?

मंगलबार, असार २८ २०७९
घट्दो सेयर बजारमा उतारचढावबीच देखियो वृद्धि, सुधारको बाटोमा कि अप्रत्याशित बिन्दुतिर?

काठमाडौं- निरन्तर घट्दो क्रममा देखिएको सेयर बजार मंगलबारको कारोबारमा थामिएर सामान्य वृद्धि देखिएको छ। यसले बजारप्रति विश्वास गुमाइरहेका लगानीकर्ताहरूलाई केही राहत मिलेको छ। 

मंगलबार उतारचढावका बीच ११.६८ अंकको वृद्धिसँगै बजार १९२७.२८ बिन्दुमा पुगेको छ। मंगलबार १ अर्ब ७० करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ। 

यसअघि यो साताको पहिलो कारोबारमा सोमबार ७७.०१ अंकको गिरावटसँगै बजार १९१५.६१ बिन्दुमा झरेको थियो। 

बजारमा लगानीकर्ताका लागि विश्वासयोग्य वातावरण नबन्दा बजारले थामिने बिन्दु भेट्न मुस्किल भइरहेको छ। यस्तोमा बजारमाथिको चलखेल र अनावश्यक क्रियाप्रतिक्रियासमेत बढिरहेको छ। गएको साता समग्रमा ३६.२ अंकको गिरावट देखिएर बजारमा यो साता पनि उल्लेख्य सुधार आउने अवस्था देखिँदैन। 

नीतिगत निर्णय र बजारका सूचकहरूको आधारमा भन्दा लहडका भरमा चलिरहेको आरोप लाग्ने सेयर बजारमा मंगलबारको अवस्थालाई पनि बजार लयमा फर्किने संकेतका रुपमा अर्थ्याउन नमिल्ने विश्लेषकहरू बताउँछन्। अहिलेको परिस्थितिमा बजार अझै केही समय यस्तै तलमाथि भइरहने र ठूलो परिवर्तन नहुने विश्लेषकहरू बताउँछन्। बजार अझैपनि घट्दो क्रममा नै रहेकाले १७५० को बिन्दुसम्म झर्ने र अब नियामकीय साथ पाए नयाँ बिन्दुतर्फ अघि बढ्ने उनीहरूको भनाइ छ। 

लगानीकर्ताहरू विशेष गरी साउन पहिलो साता आउने मौद्रिक नीतिको पर्खाइमा देखिन्छन्। राष्ट्र बैंकले यसअघि मौद्रिक नीतिमार्फत सेयर कर्जामा व्यक्तिगततर्फ ४ करोड र संस्थागततर्फ १२ करोडको सीमा लगाएसँगै बजारमा संकट आएको लगानीकर्ताको बुझाइ छ। यस्तोमा उक्त नीति परिवर्तनका लागि संगठित लगानीकर्ताहरूले खबरदारीसमेत गरिरहेका छन्।


प्रकाशित : मंगलबार, असार २८ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend