आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

रसुवागढीको सेयर साउन १० सम्म भर्न पाइने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार २७ २०७९
रसुवागढीको सेयर साउन १० सम्म भर्न पाइने

रसुवा- रसुवागढी हाइड्रोपावरले रसुवाका बासिन्दाका लागि बिक्री खुला गरिएको सेयरको माग फाराम भर्ने म्याद थप गरेको छ। यही असार १३ गतेदेखि सुरू भएको सेयर भर्ने म्याद आजदेखि सकिएको र शुक्रबारसम्मको तथ्याङ्कले सेयर खरिद गर्ने रसुवाली नागरिकको सङ्ख्या अत्यन्तै न्यून देखेपछि हाइड्रोपावरले आगामी साउन १० गतेसम्म सेयरको फाराम भर्ने म्याद थप गरेको हो।
              
स्वदेशी पुँजी तथा प्राविधिकको सक्रियतामा पूर्वाधार संरचना निर्माण भइ उपकरण जडान प्रक्रियामा अगाडि बढिसकेको रसुवागढी हाइड्रोपावर कम्पनीले रसुवाली नागरिकलाई ६८ लाख ४२ हजार १०० कित्ता सेयर छुट्याएको छ। गत शुक्रबारसम्म करिब आठ हजार व्यक्तिले मात्र आवेदन दिएका कारण आगामी साउन १० गतेसम्म सेयर बिक्री समयावधि थप गरिएको रसुवागढी हाइड्रो कम्पनीका प्रबन्ध निर्देशक छवि गैरेले बताए। 
         
सेयर भर्नका लागि करिब ४५ हजार नागरिक योग्य रहेको बताउँदै रसुवागढी हाइड्रोपावरले भनेको छ कुनै पनि रसुवाली नागरिक सेयर भर्नबाट नछुटुन् र नदोहोरिउन् भन्ने अपेक्षा राख्दै सेयर खरिद कार्यमा सहभागी भइदिन कम्पनीले अनुरोध गरेको छ।
        
जागिरमा कार्यरत रही सञ्चयकोषमा सञ्चयकर्ताको हिसाबले यसभन्दा अगाडि सेयर फाराम भरिसकेका रसुवाली नागरिकले दोहोरो हुनेगरी आवेदन पेश नगर्न अनुरोध गरिएको छ। दोहोरो भर्न नपाइने  र भरेको पाइएमा रद्द हुनेसमेत रसुवागढी हाइड्रोले स्पष्ट पारेको छ। अनेत्र जिल्लाबाट विसं २०६८ साउन १७ गते अगाडि रसुवामा बसाइँ सरी आएका नागरिकको हकमा बसाइँसराइको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने प्रावधान राखिएको बताइएको छ। 
              
विसं २०६८ यताको हकमा भने बसाइँसराइको प्रमाणपत्रका साथै रसुवाको कुन स्थानमा आएर बसोबास गरेको हो त्यस स्थानमा घर हुनुपर्ने, घरमा विद्युत् मिटर जडान भएको कम्युटर बिल, बालबालिका विद्यालय भर्ना एवं पानी धाराको शुल्क बुझाएको बिलका साथै सम्बन्धित वडा कार्यालयले सेयर भर्नका लागि योग्य हो भनी गरिदिएको सिफारिसका आधारमा मात्र सेयर कित्ता स्वीकृत हुने उक्त हाइड्रोपावरले जनाएको छ। रासस


प्रकाशित : सोमबार, असार २७ २०७९१३:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend