काठमाडौं- भइरहेका काममा मिसिनुभन्दा कठिन हुन्छ, केही नयाँ सोच्नु। केही नयाँ गर्नु। हिँडिरहेको बाटोमा जोडिनुभन्दा नवलक्ष्यमा बाटो बनाउनु चुनौतिपूर्ण छ। तर केही हुन्छन् जो वर्षौंपछिको गन्तव्य आज देख्छन् र नयाँ पाइला चाल्छन्। व्यापारिक घरानाको ‘पुरानो’ घेराभन्दा बाहिर गएर यस्तै पाइला चालेकी छिन्, आश्रयता कार्की चौधरीले।
‘व्यवसायी नाफाबाहेक हेर्दैनन्। प्राप्तीको इच्छाबेगर लगानी गर्दैनन्’ भन्ने बुझाइभन्दा बाहिर छिन् आश्रयता। लाभमा चल्ने उद्यममा रहेकी उनी समाजको वृहत्तर आयामलाई हेरिरहेकी छिन्। भविष्य देखिरहेकी छिन्। कोसौँपछि भेटिने निर्णायक उचाइमा आज नडराइ लागिरहेकी छिन्। योजना। श्रम। समय। पैसा। त्यसमा जोडिएको छ, निकैको सपना। देशको भविष्य।
नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीकी अध्यक्ष आश्रयतालाई गएको बैशाखमा नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता सफलताका साथ सम्पन्न गरेको जस छ। त्यसपछि नै जोडिएकी हुन् उनी नेपाली खेल जगतमा।
भलै आर्थिक हिसाबले एनएसएल प्रतियोगिताको पहिलो वर्ष घाटामै गएको होस्। त्यसले देखाएको बाटोले आश्रयता हौसिएकी छिन्। जसले उनी यही वर्ष महिला भलिबल प्रतियोगिताको तयारीमा छिन्। आउने वर्षमा बास्केटबल र क्रिकेट प्रतियोगिताको योजना बनाइरहेकी छिन्। उनीसँगै नेपाल स्पोर्टसमा छन्, सुदीप शर्मा र श्रेयांश कार्की।
उदाहरणले नेतृत्व स्थापित गर्ने आश्रयताको प्रयास सफल बनिरहेको छ। उनले समाएको बाटोले व्यापारिक घरानालाई नेपाली खेलकुदमा जोड्न सघाइरहेको छ। धेरैले इच्छाएको बाटोमा आश्रयता मेहनत गरिरहेकी छिन्। उदाहरण बनिरहेकी छिन्। नेपाली खेल जगतमा व्यापारलाई जोडेकी छिन्।
०००
‘नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टमा रहेका हामी सबै जना खेलकुदलाई माया गर्ने नै छौँ। सीईओ सुदिपजी क्रिकेटमा, श्रेयाशं पहिले टेनिस खेलाडी थिए, म पनि पहिले राजस्थानमा हुँदा बास्केटबाल खेल्थेँ। त्यही भएर खेल क्षेत्रमा केही गरौँ भन्ने पहिलेदेखि नै थियो’ आश्रयताले खेलकुदमा जोडिनुको कारण सुनाइन्।
खेलमार्फत युवा विकासको योजनामा लागिरहँदा नेपाल फुटबल संघ (एन्फा)सँगको छलफलपछि सुरुवात फुटबलबाट गरेको उनले बताइन्। ‘नेपाल विश्वस्तरमा पनि राम्रो होस् भन्ने हाम्रो उद्देश्य हो। पुरुष मात्र होइन महिला खेलाडीले पनि खेललाई पेशाका रुपमा नै लैजान सकून् भन्ने सोच छ,’ आश्रयता भन्छिन्, ‘खेलमा भविष्य छैन भनेर खेल्न छाडिन्छ। तर विदेशमा त खेल क्षेत्रमा लाग्नेले राम्रो कमाइरहेका हुन्छन्। उनीहरु समाजमा स्थापित हुन्छन्। अब यहाँ पनि सकिन्छ भन्ने देखाउनुछ।’
आश्रयताले अहिले बनाइरहेको परिचय उनका लागि नौलो हो। अर्बपति व्यापारी बिनोद चौधरीका जेठा छोरा निर्वाण चौधरीसँग बिहेपछि उनी सन् २०१५ मा चौधरी ग्रुपमा जोडिएकी हुन्। त्यसअघि सन् २००९ मा लण्डन स्कूल अफ इकोनोमिक्सबाट स्नातकोत्तर सकेर फर्किएलगत्तै उनले भाइ श्रेयांशसँग मिलेर फ्याब इन्डियाको ‘फ्रेन्चाइज’ नेपाल ल्याएर व्यवसाय सुरु गरेकी थिइन्।
‘अरु धेरै व्यवसायीले खेल क्षेत्रमा इच्छा देखाएपछि हामीले छुट्टै कम्पनीमार्फत काम गरौँ भनेर सुरु गरेका हौँ। खेल र युवा विकासलाई सँगै लगौँ भनेर हो। कम्पनीमा म मात्र पो चौधरी ग्रुपको हो त अरु त हुनुहुन्न। मेरो श्रीमान यसमा सिधा जोडिनुभएको छैन। हामीलाई सल्लाह सुझाव दिनुहुन्छ तर सिधा संलग्न हुनुहुन्न’ उनले प्रष्ट्याइन्।
आफू चौधरी ग्रुपको हुँदा अरु बिजनेस घरानासँग कुराकानी गर्न सजिलो भएको उनी स्वीकार्छिन्। चौधरी ग्रुपमा धेरै वर्ष पछिसम्मको सोचमा हुने योजनाको विकास आश्रयताले नजिकबाट बुझेकी छिन्। अहिले खेल क्षेत्रमा यही वर्ष मात्र होइन आउने दशौँ वर्षसम्मका लागि आश्रयताले बनाएको योजना चोधरी ग्रुपकै शैली हो। नयाँ योजनाले दिने वर्षौंपछिको नाफालाई उनले आज देखिरहेकी छिन्। यसैले भन्छिन्, ‘एक दुई वर्ष काम गरेर निरन्तरता दिन सकिएन भने राम्रो हुँदैन।’
केही गरौँ भन्ने त धेरैलाई लाग्छ तर पहल गरेर सुरुवात कसैले गरिदिनुपर्ने रहेछ। त्यही सुरुवात आश्रयताले गरिन्। अहिले उनको काममा जोडिने व्यवसायी बढिरहेका छन्। खेलकुदमा गरेको नयाँ काम राम्रो भयो भनेर उनलाई धेरैले भने पनि। धेरैले देखाएको इच्छाले नै उनी आउने एनएसएलमा टिम थप्ने तयारीमा छिन्। ‘जब हामीले टिम घोषणा गर्यौँ कतिजनाले ल हामीलाई त थाहा नै थिएन, भन्नु नै भएन, मलाई पनि टिम चाहियो भनेर भन्नुभयो। अब दुईदेखि तीन टिम चाहिँ बढाउने सोचिरहेका छौँ’ उनले भनिन्।
व्यवसायीले प्रतिफल नदेखेर आँट गर्न डराइरहेको क्षेत्रमा आश्रयताले बाटो समाएकी हुन्। त्यसमा लगानीको वातावरण बढाउन उनको भूमिका महत्वपूर्ण हुँदै छ। लगानीको क्षेत्र खेलकुद पनि उपयुक्त हो भन्ने स्थापित गर्न उनी पक्कै सफल हुनेछिन्, त्यसमा देखिएको मेहनतका आधारमा। देश विकासको विभिन्न चरणमा खेल क्षेत्रमा व्यवसायी जोडिनु सामाजिक आयाममा तल्लो तहसम्म मद्धत पुग्ने काम नै हो।
व्यवसायका लागि क्षेत्र सानो छ, त्यसमा पनि खेल क्षेत्रका लागि लगानीको ठूलो अवसर छैन भन्ने सुनिँदै आएको विषय हो। आश्रयताले सुनेको कुरालाई सुनेर मात्र छाडिनन्। त्यसको भित्री तहलाई हेरेर आफै प्रवेश गरिन्। परिवर्तनका लागि। एउटा उदाहरणका लागि। भविष्यमा देखिने सफलताका लागि।
०००
आश्रयताको योजना खेल प्रतियोगिता आयोजनामा मात्र सीमित छैन। पूर्वाधारबिना खेलको विकास हुन नसक्ने उनले बुझेकी छिन्। खेल पूर्वाधारको अभावले खेलाडीहरु नियमित अभ्यासमा संलग्न हुन नसक्ने साथै प्रतियोगिता आयोजनामा नै हुने कठिनाइ पनि आश्रयताले पछिल्ला पाँच महिना नजिकबाट हेरेकी छिन्।
‘खेल पूर्वाधारमा काम गर्ने हाम्रो योजनामा नै भएको विषय हो। अभ्यास गर्ने ठाउँ राम्रो हुनुपर्छ, राम्ररी दर्शक अट्ने रंगशाला हुनुपर्छ। त्यही भएर खेलको विकास गर्न तल्लो तहदेखि नै गरौँ भन्ने सोचमा हामी छौँ’ उनी भन्छिन्, ‘लिगको विकास गर्नु लामो समयका लागि सोचिएको विषय हो। त्योसँगै भौतिक संरचनाको विकास गर्नुपर्छ भन्ने पनि हामीले सोचेका छौँ। स्पोर्टस् एकेडेमी, ट्रेनिङ सेन्टर, मल्टि स्पोर्टस् युनिभर्सिटी जस्ता विषय हाम्रो योजनामा छ।’
आफूहरु सय पाइला सोचेर बढिरहँदा भर्खर पहिलो पाइला चालेको उनलाई लाग्छ। त्यसैले जानुपर्ने लामो बाटोमा उनी अहिले चुनौतीबाट आत्तिएकी छैनन्। ‘बल्ल त सुरुवात गरेका छौँ। हाम्रो योजना धेरै छ। सबैको साथ पायौँ भने अझ राम्रो हुनेछ। हामीले यो सबैका लागि भौतिक पूर्वाधारको विकास त गर्नै पर्छ। अहिले नभएको कुरा नै त्यही हो। जबसम्म राम्रो पूर्वाधार हुँदैन तबसम्म खेलाडीले राम्रो मौका नै पाउँदैनन्।’
एनएसएललाई काठमाडौंबाहिर अरु सहरमा पनि लैजान सकिन्छ कि भन्ने सोचमा नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टमा कुराकानी भइरहेको छ। पहिलो सिजनमा कोभिडका कारण पनि काठमाडौंभन्दा बाहिर जान नसकेको आश्रयता सुनाउँछिन्। त्यसैले अब भलिबलको लिग पोखरामा गर्ने सोच बनिरहेको उनले बताइन्। विस्तारै काठमाडौंबाट बाहिर खेलको माहोल बनाउँदै खेल अर्थतन्त्र चलायमान बनाउने योजनामा काम बढिरहेको छ।
आश्रयता भारतको राजस्थानमा विद्यालय पढ्दा बास्केटबल खेल्थिन्। उच्च शिक्षाका लागि बेलायत गएपछि भने खेल रोकियो। तर बेलायतमा फुटबल लगाव उनले नजिकबाट हेरिन्। विशेष गरी आर्सनलको। सन् १९९८ को फ्रान्स ओलम्पिकमा उनी फ्रान्समै थिइन्। त्यो खेल उत्सवले त अझ फुटबलमा नजिक बनायो। यी धेरै कुराहरु छन् जसले आश्रयताले खेल जगत नियालिरहेकी छिन्। त्यसैमा लामो यात्रा तय गर्न खोज्दै छिन्।
यात्रा लामो भए पनि त्यसमा निरन्तरताका लागि नाफाको खोजी हुनुपर्छ भन्ने चौधरी ग्रुपको उद्यममा लागिरहेकी आश्रयताले नबुझ्ने कुरै भएन। त्यसैले पहिलो सिजन घाटामा गएको एनएसएललाई थप व्यापक बनाउँदै अरु खेलमा पनि जोडिने योजना बनिरहेको छ।
‘एनएसएलमा जोडिने सबैले गरेको लगानीको प्रतिफल त हामीले दिन सक्नुपर्छ नै। लिग सफल भएन भने त्यसको विकास कसरी हुन्छ? मुख्य उद्देश्य पैसा कमाउने होइन, तर केही कुरा विकास गर्नका लागि त्यसमा आम्दानी त हुनुपर्छ नै। आम्दानी नै भएन भने लगानी गर्नेहरु उत्साही हुँदैनन्। उनीहरुको प्रेरणाका लागि पनि आम्दानी त हुँदै जानुपर्छ’ आश्रयताले भनिन्।
खेलकुदबाट गरेको आम्दानी खेल क्षेत्रभन्दा बाहिर लगानी नगर्ने आश्रयता बताउँछिन्। यसबाट आएको सबै रकम खेल पूर्वाधार र खेल विकासमा नै लगाउन उनी दृढ देखिन्छिन्। आउने दशक नेपाली खेलकुदको क्षेत्र माथि उठ्ने विश्वासमा आश्रयता आजको काममा छिन्। त्यसैले पनि उनलाई कमाइहाल्ने हतारो छैन।
०००
खेलकुदका ठूला योजनामा काम गरिरहँदा अरु व्यवसायमा पनि आश्रयताको काममा असर परेको छैन। फ्याब इन्डियाको काम निरन्तर चलिरहेकै छ। श्रीमान् निर्वाणसँग रहेर फाउण्डेसनमार्फत सामाजिक काममा पनि लागिरहेकै छिन्।
नेपाल उद्योग परिसंघ अन्तर्गत रहेर पनि उनको काम निरन्तर छ। अर्थतन्त्रमा महिलाको भूमिका बढाउने उद्देश्यले ‘वुमन लिडरसिप फोरम’मार्फत पनि परिसंघले काम गरिरहेको छ।
‘साउथ एसियन डेभलपमेन्ट फोरम’ मार्फत सार्क क्षेत्रका नवउद्यमी महिलालाई जोड्ने र त्यसमा विकास गर्ने काममा पनि आश्रयता लागिरहेकी छिन्। यो सबैका बीच वर्षमा तीन/चार वटा खेल प्रतियोगिताको योजनामा बढ्ने साहस सानो छैन। त्यसले पछिल्लो समय व्यापारिक घरानामा फरक भूमिकामा जोडिएर अग्रमोर्चामा देखिने महिला सहभागितामा आश्रयता उदाहरण बनेकी छिन्।
यो सबैमा परिवारको साथले उनलाई हौसलासँगै उत्साह मिलिरहेको छ। पाँच र दुई वर्षका दुई सन्तानकी आमा आश्रयताले परिवार र व्यवसायमा उस्तै गरि समय मिलाउन सकिरहेकी छिन्। ‘हामी परिवारमा पनि खेलबारे कुराकानी हुन्छ। श्रीमान पनि कुराकानी गरिरहनुहुन्छ। देशलाई कुन रुपमा मद्धत गर्न सकिन्छ भन्ने सोचमा पनि कुरा गर्छौं। खेलमार्फत युवा र महिलाको विकासमा ध्यान दिन सकिन्छ भनेर घरमा सल्लाह भएको थियो’ उनले सुनाइन्।
बिहेअघि पूरा समय काम गर्न सजिलो थियो, सन्तान भएपछि भने केही समय पूर्ण रुपमा बाहिर काममा निस्कन नसकेको उनी सुनाउँछिन्। ‘बच्चा भएपछि आमाको रुपमा अलि बढी नै जिम्मेवारी हुने हुँदा काममा पूरा समय दिन सकिँदैन नै। बच्चा अलि हुर्किएको हुनाले अब काममा जान सक्छु भन्ने भयो। त्यही अनुसार काममा फर्किएँ’ आश्रयताले भनिन्।
ठूला व्यवसायिक घरानामा पछिल्लो समय बढिरहेको महिला सहभागिता परिवारको साथले सम्भव भइरहेको आश्रयताको बुझाइ छ। ‘कर्पोरेट हाउसमा मात्र होइन पहिले त नेपालमा या दक्षिण एसियामा नै त्यही अवस्था थियो। घरगृहस्थीको कुरा बढी थियो। अहिले अवस्था परिवर्तन हुँदैछ। त्यसमा पुरुषले गरिरहेको सहयोग पनि राम्रो कारण हो’ आश्रयता भन्छिन्, ‘परिवारले पनि सहयोग गरिरहेका हुन्छन्। त्यसले महिलालाई काममा जान सहयोग भइरहेको छ। काम गर भनेर प्रोत्साहन मिलिरहेको छ।’
खेल ब्यवस्थापनमा उनले गरिरहेको काम अहिले धेरैले तारिफ गरिरहेका छन्। नेतृत्वका लागि उनको काम धेरैका लागि प्रोत्साहन बनिरहेको छ। उनी भन्छिन्, ‘यू लिड बाइ एक्जाम्पल, जस्तो लाग्छ। जस्तो अहिले एनएसएलमा धेरै महिला जोडिनुभएको थियो। धेरै स्वयंसेवी बन्न इच्छुक महिला देखिएका थिए। महिलाहरूको इच्छाशक्ति, मेहनत देखेर नै हामीले अब महिला भलिबल गर्न लागेका हौँ।’
खेल क्षेत्रमा व्यवसाय फैलाउन सक्ने भविष्य देखे पनि यसमा आम्दानी यति नै छ भनेर नलागेको आश्रयता बताउँछिन्। ‘भर्खर सुरु भएको छ, यसमा भविष्य राम्रो छ तर खेलमा पैसा छ भनेर त्यसरी आएको होइन। हाम्रो खेलाडीहरुको अवस्था देखेर हामीले सुरुवात गर्नुपर्छ भनेर आएको हो। भविष्य त राम्रो हुनेछ नै’ उनले भनिन्।
०००
केही गर्ने हुटहुटी भएको मान्छे ‘आरामको दायरा’बाट बाहिर निस्कन चाहन्छ। केही गरेर देखाउन चाहन्छ। जसको उत्प्रेरणा समाजका लागि उदाहरण बन्छ। त्यसैमा जोडिन्छन् सयौँ हातहरु। यसैले व्यापारिक घरानालाई खेल क्षेत्रमा जोडेर फरक बाटोमा हिँडिरहेकी आश्रयता काम गरेर उदाहरण बनिरहेकी छिन्। आफूसँगै सयौँलाई सपना पूरा गर्ने बाटोमा डोर्याएकी छिन्।
नेपाली खेलकुदमा खेलाडीले गर्व गर्नसक्ने वातावरण बनाउन सकियोस् भन्ने आश्रयताको सपना उनको मात्र सपना होइन। खेलमा वर्षौंदेखि परिश्रम गरिरहेका तर त्यसको मूल्य नपाएका सयौँ खेलाडीको सपना हो। जुन पूरा हुने बाटो बनिरहेको छ।