काठमाडौं- रिटेल व्यवसाय गर्ने धनुषाको लक्ष्मिनिया-७ सिनुरजोडा स्थायी ठेगाना भएका हसन साफीको व्यावसायिक जीवनमा एउटा नमिठो सास्ती बेहोरे। भयो के भने उनको खाता भएको बैंक एनआईसी एसियाले उनलाई जानकारी नै नदिइ करोड बढी रकम अर्कै खातामा पठाइदियो। सोही बैंककै ऋण तिर्नका लागि भनेर जम्मा गरेको रकम अर्कै व्यक्तिको खातामा बैंकले ट्रान्सफर गरिदिएपछि उनको दौडधुप व्यवसायभन्दा पनि पैसाकै सेटलमेन्टमा बित्न थाल्यो।
यसका लागि उनले प्रहरीदेखि राष्ट्र बैंकसम्म धाएका छन्। उनको न्यायको खोजी प्रक्रिया अझै सकिएको छैन। जानकारी नै नदिइ आफ्नो कारोबार नै नभएको व्यक्तिको खातामा आफ्नो पैसा गएपछि साफीले बैंकविरुद्ध न्यायिक तथा कानूनी उपचार खोजिरहेका छन्।
नेपालको बैंकिङ प्रणालीमा बैंक र ग्राहकबीचको विवाद नै नहुने होइन। तर यस्ता विवादहरू पछिल्लो समय बढ्न थालेका छन्। र विवादको केन्द्रमा एउटा बैंक धेरै छ। त्यो हो एनआईसी एसिया।
पछिल्लो पाँच वर्षमा द्रुत गतिमा आफ्नो व्यापार विस्तार गरेको यो बैंकप्रति ग्राहकको असन्तोष कतिसम्म छ भने गत वर्ष त केही ऋणीहरू सार्वजनिक विरोधमै उत्रिएका थिए।
कोरोना महामारीको प्रभाव मत्थर हुँदा नहुँदै बैंकले लिलामी आतंक सिर्जना गरेको भन्दै व्यवसायीहरू बैंकको केन्द्रीय कार्यालय अगाडि विरोध प्रदर्शनमा उत्रिएका थिए।
ग्राहक झुक्याउनका लागि नाम फेरिफेरि बचत खाता सञ्चालन गर्ने, बचत खाताको ब्याजदरमा मनपरी तलमाथि गर्नेदेखि लिएर ऋणीलाई जानकारी नदिइ ब्याजर बढाउनेजस्ता विषयमा एनआईसी एसिया बैंक लक्षित गुनासो राष्ट्र बैंकमै धेरै पुग्ने गरेका छन्।
सामान्य अभ्यास विपरीत गई आकस्मिक रुपमा ऋणीविरुद्ध सार्वजनिक सूचना जारी गर्ने, समय नै नदिइ लिलामीको सूचना निकाल्दिने यो बैंकका गतिविधि बढ्दै गएपछि ऋणीहरूले संगठित भएर आन्दोलन गरेका थिए। ऋणीहरू संगठित हुन थालेपछि राष्ट्र बैंकले कतिपय विषयमा एनआईसी लक्षित गर्दै कतिपय नीतिगत व्यवस्था नै गरेको थियो।
एनआईसीसँग जोडिएका यस्ता घटना कैयौं छन्। ऋणीहरू एकजुट भएर सडकमै आउने भएपछि देशभर कति छन् कति। तर यो किन भइरहेको छ? बैंकिङ क्षेत्रलाई नजिकबाट नियालिरहेका व्यक्तिहरूको भनाइ अनुसार बैंकको व्यावसायिक मोडल नै यस्तो हो।
यो बैंकले जति पनि प्रगति गरेको छ त्यो पछिल्लो छ वर्षमा हो। यो छ वर्षमा यसले लोभलाग्दो प्रगति गरेको छ। ठूला १० को सूचीमा नपर्ने यो बैंक अहिले पहिलो नम्बरको वरिपरि हुन्छ। यो सब पछिल्लो ६ वर्षमै भयो।
‘सुरुमा कतिपयले धेरै आक्रमक भने। कतिपयले यसको वृद्धिदरलाई प्रशंसा गरे। त्यतिबेला विस्तारको समय थियो। एकातिर पोर्टफोलियो बढ्दै थियो अर्कोतिर नाफा पनि। यो सब उत्सुकताको विषय थियो। तर अब परिणाम आउने बेला भयो। सब कुराको प्रतिक्रिया देखिन थालेको मात्र हो’ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत रहीसकेका एक जानकारले भने।
यो बैंकको व्यापारको प्रकृति अरुको भन्दा फरक छ। यसले ऋण दिने र उठाउने कुरा पनि सोही अनुसार तय गरेको छ। यो बैंकले ठूलो र दीर्घकालीन ऋण लगानी गर्दैन। साना व्यवसायी लक्षित गरेर यसले ऋण दिँदै आएको छ।
व्यापारबाट हुने आम्दानी र नगद प्रवाहभन्दा पनि यसले ऋण दिँदा धितोमा बढी जोड दिन्छ। व्यापारबाट आम्दानी गरेर तिर्नसक्ने सम्भावनाभन्दा पनि धितोबाट असुली गर्ने यसको व्यापार मोडल हो। यही कारणले ऋणको भाखा नाघेको एक सातामै सार्वजनिक सूचना निकाल्ने गर्छ। यो बैंकले यस्तो गर्न थालेपछि राष्ट्र बैंकले नै ६ महिनाको समय दिन निर्देशन दिइसकेको छ।
अरु बैंकले धितोमात्र हेर्दैनन्। उनीहरूले व्यवसायबाट हुने आम्दनी र त्यसबाट तिर्नसक्ने सम्भावना पनि हेरेर लगानी गर्छन्। जसका कारणले गर्दा तुलनात्मक रुपमा न्यून ऋण दिन्छन्। तर त्यही ठाउँमा एनआइसीले धितो हेरेर ऋण दिन्छ। साना तथा मझौला व्यवसायीलाई ऋणको रकम धेरै चाहिएको हुन्छ। त्यही लोभमा ऋण लिन्छन्। तर उनीहरूले कहिलेकाही समयमै किस्ता तिर्न सकेनन् भने सूचना आइहाल्छ।
यस्तो गर्दा बैंकलाई दुईवटा फाइदा भए। पहिलो त अरु जान नसक्ने ठाउँमा उ पुग्यो र ऋण विस्तार धेरै भयो। अर्कोतिर कसेर ऋण उठाउँदा पनि साना व्यवसायीको स्वर ठूलो नहुने भएकाले हाइसन्चो हुने। तर पछिल्लो केसमा बैंकलाई ठूलो धक्का लागेको छ।
एनआईसी एसियाको ठगी! : 'नक्कली हस्ताक्षर गरेर १ करोड ८५ लाख पच भयो'
व्यवसायले गर्नसक्ने आम्दानीभन्दा पनि जसरी पनि ऋण उठाउने ध्याउनमा धितोमै केन्द्रित हुने एनआईसीको बैंकिङ व्यवसायले गर्दा कयौं व्यवसायी मारमा परेका छन्। यो कुराले कहिलेकाहीँ नियामकको टाउको पनि दुखाउने गरेको छ।
बैंकको यही मोडालिटीका कारणले गर्दा ठूला व्यवासयी एनआइसीको सेवा लिन चाहँदैनन्। पछिल्लो तथ्यांक अनुसार सबैभन्दा लगानी पोर्टफोलियो भएको यो बैंकबाट कर्पोरेट लगानी न्यून छ। अर्थात् ठुला व्यवसायीले पत्याउन सकेका छैनन्।
पछिल्लो तथ्यांक अनुसार यो बैंकको ऋण लगानी २ खर्ब ७४ अर्ब पुगेको छ। यो कुनै पनि वाणिज्य बैंकभन्दा धेरै हो। तर यति ठूलो बैंकलाई कर्पोरेट ऋणीले किन पत्याउँदैनन्?
‘उनीहरूले जुन मोडल अपनाएका छन् व्यापारको त्यसमा हामी फिट हुन सक्दैनौँ। उनीहरू बरु धेरै दिने तर जसरी पनि उठाउने ध्याउनन्नमा हुन्छन्। व्यवसाय भनेको मेसिन होइन। यसमा १/२ दिन तलमाथि हुनसक्छ अझ भनौं हप्ता वा महिना पनि लाग्छसक्छ। तर त्यो बैंकले त्यस्तो ठान्दैन। पाँच दिनमै पनि सार्वजनिक सूचना जारी हुन्छ’ एक व्यवसायीले भने।
अर्थतन्त्रको चक्र हुन्छ। ऋण लिने, लगानी गर्ने उत्पादन उपभोक्तामा गएर त्यस्तो पैसा आउने समय हुन्छ। ‘तर यो चक्रलाई एनआईसीको प्रणाली वा मोडलले स्वीकार गर्दैन। बेकारमा बदनामीको टिका लगाउन कसले ऋण लिन्छ?’ एक व्यवसायीले भने।
ठूला व्यवासयी वा कर्पोरेट क्षेत्र आफ्नो प्राथमिकतामा नहरेको कुरा स्वयम् बैंककै प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले विभिन्न अन्तर्वार्ताहरूमा उल्लेख गरेका छन्। राष्ट्र बैंकले निर्धारण गरेका क्षेत्रमा जाने बाहेक कर्पोरेट कर्जामा बैंकले प्रवाह नगरेको उनले विभिन्न ठाउँमा बोलेका पनि छन्।
कर्पोरेट छाडेर साना तथा मझौला व्यवसायीलाई कर्जा प्रवाह गरेको भन्दै गर्व गरे पनि परिणाम ठिक उल्टो देखिएको छ।
साना तथा मझौला उद्योगमा लगानी गरेर आर्थिक विकास तथा व्यवसाय विस्तारभन्दा पनि धितो लिलामीलाई बैंकले आफ्नो व्यापारिक मोडल बनाएको छ।