काठमाडाैं- सरकारले पुँजीगत खर्च गर्न नसक्दा बैंकहरूमा निक्षेप आउने सकेको छैन। जसको असर पूरै अर्थतन्त्रमा परेको छ। कर्जा प्रवाह ठप्प हुँदा नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंकहरुले दिने औषत कर्जा निक्षेप (सीडी) रेसियो बल्ल ९० प्रतिशत हाराहारीमा आएको छ। राष्ट्र बैंकले ९० प्रतिशत सीडी रेसियो तोकेपनि बैंकहरुले ९४ प्रतिशतसम्म पुर्याएका थिए।
राष्ट्र बैंकको तथ्यांकअनुसार वित्तिय संस्थाहरुले बिहीबारसम्म ९०.०५ प्रतिशत सीडी रेसियो कायम गरेका छन्। जबकी बुधबारसम्म ९०.१८ प्रतिशत सीडी रेसियो रहेको थियो। पछिल्लो समय निक्षेप आउनेक्रम बढेको र कर्जा प्रवाहमा कडाइ गर्दा सीडी रेसियोको ९० प्रतिशतको आसपासमा झरेको हो। जेठ १६ गतेसम्मको तथ्यांकअनुसार बैंक वित्तीय संस्थाहरुको औषत कर्जा निक्षेप अनुपात ९०.११ प्रतिशत रहेको थियो।
राष्ट्र बैंकको तथ्यांक अनुसार गत बिहीबारसम्म ४९ खर्ब ६४ अर्ब वित्तीय संस्थाहरुमा निक्षेप संकलन भएको छ। बुधबार ३ अर्ब निक्षेप बढेको छ। मंगलबार ४९ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप रहेको थियो। यता बिहीबारसम्म ४७ खर्ब २१ अर्ब ऋण प्रवाह भएको छ। मंगलबार ४७ खर्ब २२ अर्ब ऋणप्रवाह भएको थियो। ऋण प्रवाह जवरजस्ती घटाउँदा सीडी रेसियो राष्ट्र बैंकले तोकेको सीमा नजिक आइपुगेको हो।
नेपाल बैंकर्स संघका अनुसार राष्ट्र बैंकले तोकेको सीडी रेसियो कायम राख्न अझै बैंकहरुलाई २ खर्ब १९ अर्ब निक्षेप आवश्यक रहेको बताउँदै आएका छन्। अहिले आयात रोकिनु तथा विभिन्न क्षेत्रमा जाने कर्जालाई स्थगन गरेका कारण मात्रै सीडी रेसियो ९० प्रतिशतको हाराहारीमा अडिएको समेत बैंकर्सहरुको बुझाइ छ।
बैंकहरुलाई असार मसान्तसम्म सीडी रेसियो मिलाउन ७२ अर्ब, डिबेन्चर व्यवस्थापन गर्न ११७ अर्ब, र स्थानीय तहको पैसाको व्यवस्थापन गर्न ३० अर्ब गरि बैंकहरुलाई असार मसान्तसम्म झन्डै २१९ अर्ब आवश्यक रहेको छ। असार महिनामा सरकारले धेरै खर्च गर्ने भएकाले अहिलेसम्मको ट्रेन्ड हेर्दा असार मसान्तमा ठुलो निक्षेप बैंकिंङ प्रणालीमा आएको देखिन्छ।
आर्थिक वर्ष २०७७/०७८ मा कमर्शियल बैंकहरुको कुल निक्षेप ५ खर्ब ४ अर्ब रहेकोमा त्यो वर्षको असार महिनामा मात्रै २ खर्ब १० अर्ब निक्षेप संकलन भएको थियो। २०७२/०७३ १ खर्ब ३८ अर्ब आसार महिना मात्रै संकलन हुँदा वर्षभरी ३ खर्ब १ अर्ब निक्षेप संकलन भएको थियो।
त्यस्तै २०७३/०७४ को असारमा १ खर्ब २३ अर्ब निक्षेप संकलन हुदाँ उक्त वर्ष ३ खर्ब ३५ अर्ब निक्षेप बैंकहरुमा आएको थियो। त्यस्तैगरी २०७४/०७५ असार महिनामा १ खर्ब १ अर्ब निक्षेप संकलन भएकोमा उक्त वर्ष ३ खर्ब ५४ अर्ब निक्षेप संकलन भएको थियो। आर्थिक वर्ष २०७५/०७६ को असारमा १ खर्ब १९ अर्ब निक्षेप संकलन भएकोमा उक्त वर्ष ५ खर्ब ८ अर्ब निक्षेप बैंकहरुमा आएको थियो।
त्यस्तै आर्थिक वर्ष २०७६/०७७ को असारमा २ खर्ब ११ अर्ब निक्षेप संकलन भएकोमा उक्त वर्ष ६ खर्ब ९ अर्ब निक्षेप बैंकहरुमा आएको थियो। त्यस्तै २०७७/०७८ को असारमा २ खर्ब १० अर्ब निक्षेप संकलन भएकोमा उक्त वर्ष ५ खर्ब ४ अर्ब निक्षेप संकलन भएको थियो।
आर्थिक वर्ष २०७८/०७९ को जेठ १४ सम्म १ खर्ब ८२ अर्ब मात्रै निक्षेप संकलन भएको छ। विकास खर्च ३३ प्रतिशत मात्रै भएकोले असारमा कति निक्षेप आउछ भन्ने आंकलन अझै बैंकहरुले गर्न सकेका छैनन। गत वर्ष असारमा मात्रै २ खर्ब ११ अर्ब निक्षेप आएको थियो।