बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

१७८ दिनदेखि पशुपति क्षेत्र विकास कोषको गेटअगाडि तिलगंगावासीको धर्ना

बुधबार, कात्तिक ११ २०८३
१७८ दिनदेखि पशुपति क्षेत्र विकास कोषको गेटअगाडि तिलगंगावासीको धर्ना

सरकारले आफूहरुलाई सुकुम्बासीको व्यवहार गरेर रातारात घरटहरा भत्काएर अन्याय गरेको उनीहरुको आरोप छ।

काठमाडौं- तिलगंगा क्षेत्र (ब्लक बी-१३) का स्थानीयले १७८ दिनदेखि पशुपति क्षेत्र विकास कोषको गेटअगाडि धर्ना दिइरहेका छन्। पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका क्रममा आफूहरुलाई अन्याय भएको भन्दै उनीहरुले कोष अगाडि धर्ना दिएका हुन्।

सरकारले आफूहरुलाई सुकुम्बासीको व्यवहार गरेर रातारात घरटहरा भत्काएर अन्याय गरेको उनीहरुको आरोप छ। गत बैशाख १८ र १९ गते सरकारले बागमती नदी किनारका सुकुम्बासी बस्ती हटाउने क्रममा तिलगंगा क्षेत्रका बस्तीका घरटहरा पनि भत्काएको थियो।

सोपश्चात स्थानीयले गौशालास्थित पशुपति क्षेत्र विकास कोषको मुख्य गेटअगाडि धर्नामा दिँदै आएका छन्। आफूहरू सुकुम्बासी नभइ लालपुर्जा, भवन निर्माण सम्पन्न प्रमाणपत्र तथा कर तिरेका कागजातसहित बसोबास गरिरहेका नागरिक भएको उनीहरूको दाबी छ।

स्थानीय सुदर्शन गौतमले सरकारले आफूहरूलाई अन्याय गरेको आरोप लगाए। विस्थापित परिवारलाई पुनर्वास गराउनुपर्ने वा आफूहरुको जग्गा फिर्ता गर्नुपर्ने उनको भनाइ छ।

सरकारले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका क्रममा पाँचवटा बस्तीलाई स्थानान्तरण गरी गोठाटार मुलपानी क्षेत्रमा पुनःवास गराउनेगरी स्थानियसंग सम्झौता गरेको थियो। चारवटा बस्ती स्थानान्तरण भएपनि आफूहरुलाई भने राज्यले अन्याय गरेको उनको भनाइ छ। उनका अनुसार प्रभावित परिवारले स्थानान्तरणको विकल्प स्वीकार गरेपनि सरकारले त्यसअनुसार व्यवस्था नगरेको हो।

उनले गुरुयोजना कार्यन्वयन गर्ने भएमा आफूहरुलाई गोठाटार क्षेत्रमा स्थानान्तरण गर्नुपर्ने नभए बस्दै आएको जग्गा उपलब्ध गराउनुपर्ने बताए। बस्ती भत्काउने निर्णय छिटो गर्ने सरकारले प्रभावितलाई न्याय दिन भने ढिलाइ गरेको उनको गुनासो छ। उनका अनुसार स्थानीयको सम्पत्ति २०५३ सालदेखि रोक्का रहेको छ। घरटहरा भत्किएपछि परिवारहरू थप समस्यामा परेको उनी बताउँछन्।

उनले प्रभावित परिवारसँग जग्गासम्बन्धी कागजात, वडा कार्यालयको प्रतिवेदन, महान्यायाधिवक्ताको राय तथा पशुपति क्षेत्र विकास कोषसम्बन्धी कानूनी व्यवस्थालगायतका आधार रहेको दाबी गर्दै ती कागजातका आधारमा समस्याको समाधान गर्न सरकारसँग माग गरे।

गौतमका अनुसार प्रभावित पक्षले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँगको छलफलमा आवश्यक कागजात र सम्झौतासम्बन्धी प्रमाण पुनः बुझाएको छ। मन्त्रीले घटनाबारे पर्याप्त जानकारी नपाई घर भत्काएको विषयमा सम्बन्धित निकायसँग कागजात मागिएको जानकारी दिएको उनले बताए।

स्थानीयका अनुसार उनीहरूको समस्या काठमाडौं महानगरपालिकाको नगरसभामा समेत उठाइएको छ। सम्बन्धित क्षेत्रका सांसदले पनि संसद्मा प्रभावित नागरिकलाई न्याय दिनुपर्ने विषय उठाएको गौतमको भनाइ छ।

यद्यपि, लामो समयसम्म माग सम्बोधन नभएको भन्दै स्थानियले असन्तुष्टि जनाएका छन्। गौतमले प्रधानमन्त्री कार्यालय र ‘हेलो सरकार’मा समेत निवेदन दिएको उल्लेख गर्दै सम्बन्धित निकायबाट ठोस निर्णय नआएको बताए। शान्तिपूर्ण धर्नाबाट सुनुवाइ नभए थप आन्दोलन गर्ने उनले चेतावनी दिए।

प्रभावित स्थानीयले आफूहरूले अतिरिक्त सुविधा नभइ पहिले भएका निर्णय कार्यान्वयन र न्यायोचित पुनर्वास मात्रै मागेको बताएका छन्। उनीहरूले सरकारले घरटहरा भत्काउनुअघि र पछि अपनाएका प्रक्रिया तथा आफ्नो सम्पत्तिको अधिकारसम्बन्धी प्रश्नको स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्।


प्रकाशित : बुधबार, कात्तिक ११ २०८३१५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend