बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

कास्कीका ग्रामीण बस्तीमा होमस्टेको आकर्षण : पर्यटकको चहलपहलले ब्युँझियो ग्रामीण अर्थतन्त्र

बुधबार, कात्तिक ११ २०८३
कास्कीका ग्रामीण बस्तीमा होमस्टेको आकर्षण : पर्यटकको चहलपहलले ब्युँझियो ग्रामीण अर्थतन्त्र

गाउँमा पर्यटक पुग्न थालेपछि स्थानीय गतिविधि पनि बढेका छन्। होमस्टेमा पाहुनालाई सहज र आत्मीय अनुभव दिलाउन सञ्चालकहरूले मौलिक घर, स्थानीय परिकार, प्राकृतिक वातावरण र परम्परागत आतिथ्यतालाई प्राथमिकता दिन थालेका छन्।

काठमाडौं- पर्यटकीय सिजन सुरु भएसँगै पोखरा आसपासका ग्रामीण बस्तीमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको छ। सहरको कोलाहलभन्दा टाढा प्रकृतिसँग रमाउन चाहने पर्यटकको रोजाइमा गाउँका होमस्टे पर्न थालेका छन्।

सस्तो प्याकेज, स्थानीय खानपान, मौलिक संस्कृति र हिमशृंखलाको मनमोहक दृश्यले पर्यटकलाई गाउँतर्फ आकर्षित गरेको हो। दसैँ सकिएलगत्तै कास्कीका विभिन्न ग्रामीण बस्तीमा पर्यटकको आगमन बढ्दा होमस्टे सञ्चालकहरू उत्साहित भएका छन्। पोखरा महानगर आसपासका डाँडाकाँडामा रहेका होमस्टेमा स्वदेशी तथा विदेशी पाहुनाको उपस्थिति बढ्दै गएको छ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ स्थित हेम्जाकोटमा पनि यतिबेला पर्यटकको चहलपहल बढेको छ। हिमश्रृंखलाको मनोरम दृश्य, शान्त वातावरण र गाउँको मौलिक जीवनशैलीले हेम्जाकोट आउने पर्यटकलाई आकर्षित गरिरहेको छ। पोखरा घुम्न आउने पर्यटकसमेत नजिकैका ग्रामीण बस्तीमा पुगेर केही समय बिताउन रुचाउन थालेका छन्। 

ग्रामीण पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) का सचिव भीमराज पौडेलका अनुसार पोखरा आउने पर्यटकलाई आसपासका गाउँसम्म पुर्‍याउन सके ग्रामीण पर्यटनले थप गति लिनसक्छ। प्राकृतिक सौन्दर्य र स्थानीय आतिथ्यताका कारण गाउँका होमस्टे पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको उनले बताए।

होमस्टेमा अहिले पाहुनाहरुको आगमन राम्रो रहेको बताए। हप्ताको दुई दिन बिदा भएकाले शुक्रबार र शनिबार धेरै पर्यटकहरु आउने गरेको उनको भनाइ छ।

पर्यटकीय सिजन सुरु भएसँगै अघिल्लो वर्षको तुलनामा यस वर्ष पाहुनाको उपस्थिति उल्लेख्य रूपमा बढेको भन्दै होमस्टे सञ्चालक उमा गुरुङ पनि खुशी छिन्। पर्यटकको आगमन बढ्दा स्थानीयस्तरमै आम्दानीको अवसर सिर्जना भएको उनको भनाइ छ। कोरोनापछि ठप्प भएको होमस्टे अहिले पुनः तंग्रिएको उनको भनाइ छ।

गाउँमा पर्यटक पुग्न थालेपछि स्थानीय गतिविधि पनि बढेका छन्। होमस्टेमा पाहुनालाई सहज र आत्मीय अनुभव दिलाउन सञ्चालकहरूले मौलिक घर, स्थानीय परिकार, प्राकृतिक वातावरण र परम्परागत आतिथ्यतालाई प्राथमिकता दिन थालेका छन्।

पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलका अनुसार गाउँमा पर्यटकको बसाइलाई सहज र आकर्षक बनाउन विभिन्न तालिम तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन हुँदै आएका छन्। मानिसहरु प्रकृतिसँग रमाउने भएकाले पोखराका होमस्टेहरु उपयुक्त बन्दै गएको बताए।

रैथाने खानेकुराका कारण पनि गाउँ मन पर्ने गरेको उनको भनाइ छ। पर्यटकलाई बस्ने सुविधासँगै स्थानीय संस्कृति, मौलिक घर र खानपानको अनुभव दिलाउन सके ग्रामीण पर्यटनबाट स्थानीय समुदायले थप लाभ लिन सक्ने उनी बताउँछन्। 

दसैँपछि कास्कीका गाउँमा बढेको पर्यटकको चहलपहलले ग्रामीण पर्यटनमा नयाँ उत्साह थपेको छ। प्रकृतिसँग नजिक रहेर मौलिक जीवनशैलीको अनुभव लिन चाहने पर्यटकको आकर्षण बढ्दै जाँदा गाउँका होमस्टे स्थानीय रोजगारी र आम्दानीको महत्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको छ। 


प्रकाशित : बुधबार, कात्तिक ११ २०८३११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend