काठमाडौं- हिम पर्वत हाइड्रोपावर लिमिटेडले आज (कात्तिक ११ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो। पहिलो चरणमा स्थानीय बासिन्दाका लागि १६ लाख ९० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता सेयर निष्काशन गरिएको हो।
स्थानीयका लागि छुट्याइएको सेयरमध्ये १० लाख १४ हजार कित्ता दोलखाको बिगु गाउँपालिका वडा नं. ५, ६, ७ र ८ तथा कालिञ्चोक गाउँपालिका वडा नं. २, ३ र ४ का बासिन्दाले पाउनेछन्। बाँकी ६ लाख ७६ हजार कित्ता दुवै गाउँपालिकाका अन्य वडाका बासिन्दाका लागि छुट्याइएको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेकाले कात्तिक १६ गतेसम्म र स्थानीयले कात्तिक २५ गतेसम्म आवेदन दिन सक्नेछन्। स्थानीयका हकमा निष्काशन अवधि मंसिर १० गतेसम्म लम्बिन सक्नेछ।
कम्पनीले दोलखामा २० मेगावाटको साँगु खोला र ५.५ मेगावाटको साँगु खोला-१ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। दुवै आयोजनाबाट क्रमशः २०८२ असोज २५ र साउन ८ गतेदेखि विद्युत उत्पादन भइरहेको छ। आईपीओको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।