बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

‘अर्नब’ चक्रवातको प्रभावले तीन दिन भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

बुधबार, कात्तिक ११ २०८३
‘अर्नब’ चक्रवातको प्रभावले तीन दिन भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावका कारण कात्तिक १२ देखि १४ गतेसम्म देशका अधिकांश प्रदेशमा मौसम प्रभावित हुने पूर्वानुमान गरिएको छ।

काठमाडौं- बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावका कारण कात्तिक १२ देखि १४ गतेसम्म देशका अधिकांश प्रदेशमा मौसम प्रभावित हुने पूर्वानुमान गरिएको छ। उक्त अवधिमा चट्याङ र हावाहुरीसहित भारी वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

चक्रवातको सम्भावित प्रभावलाई मध्यनजर गर्दै सम्बन्धित निकायले धानबाली काटिसकेका किसानलाई कात्तिक १२ गतेअघि नै भित्र्याउन आग्रह गरेका छन्। त्यस्तै, पर्यटकलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजान र गइसकेका पर्यटकलाई मौसम प्रतिकूल रहने अवधिभर सुरक्षित स्थानमा बस्न सुझाव दिइएको छ।

भारी वर्षा र हिमपातका कारण सडक तथा हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरिएको छ। जोखिमको अवस्था हेरेर स्थानीय प्रशासनले सवारी आवागमन बन्द गर्न सक्ने भएकाले त्यसअघि नै सर्वसाधारणलाई जानकारी गराउनुपर्नेमा जोड दिइएको छ।

सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय र स्वयंसेवकलाई पूर्वसूचनाका आधारमा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ। सम्बन्धित निकायलाई आवश्यक प्रतिकार्यको तयारी अवस्थामा रहन र विभिन्न माध्यमबाट सर्वसाधारणलाई मौसम तथा विपद्सम्बन्धी जानकारी प्रवाह गर्न पनि भनिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभागलगायत आधिकारिक निकायबाट जारी हुने अद्यावधिक पूर्वसूचना तथा पूर्वचेतावनी पालना गर्न आग्रह गरिएको छ।

मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद्का बेला सहयोग माग्न १२३४, १०० वा १११४ नम्बरमा सम्पर्क गर्न सकिनेछ।


प्रकाशित : बुधबार, कात्तिक ११ २०८३०६:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend