बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

कृषि क्षेत्रको वृद्धिदरमा कुखुराभन्दा गोबरको योगदान धेरै!

बुधबार, कात्तिक ११ २०८३
कृषि क्षेत्रको वृद्धिदरमा कुखुराभन्दा गोबरको योगदान धेरै!

गोबर उपलब्ध नभएको भए किसानले मल वा इन्धन किन्नुपर्ने हुन सक्थ्यो। त्यसैले यसको अनुमानित मूल्य पनि अर्थतन्त्रको उत्पादनमा गणना गरिन्छ।

काठमाडौं- धेरैले फोहोर ठान्ने गोबर नेपाली कृषि प्रणालीको महत्त्वपूर्ण हिस्सा हो। कृषि तथा वन मन्त्रालयको तथ्यांकअनुसार कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिमा गोबरको हिस्सा कुखुराको भन्दा बढी छ।

मल र इन्धनका रूपमा प्रयोग हुने पशुको मलमूत्रको हिस्सा १.७१ प्रतिशत छ भने कुखुराको १.५२ प्रतिशत छ।

कृषि तथ्यांक २०८१/८२ मा समावेश तुलनात्मक विवरणअनुसार मसुरोको हिस्सा १.५९ प्रतिशत, माछापालनको १.५६ प्रतिशत, उखुको १.३८ प्रतिशत र कुखुराको अण्डाको ०.८२ प्रतिशत छ।

धेरै चर्चा हुने चियाको हिस्सा ०.१६ प्रतिशत र महको ०.१७ प्रतिशतमात्र छ।

गोबरको मूल्य अभिवृद्धि कसरी बढी भयो?

राष्ट्रिय लेखा प्रणालीमा घरमै उत्पादन गरेर घरमै प्रयोग गरिने वस्तुलाई पनि उत्पादन मानिन्छ। किसानले खेतबारीमा मलका रूपमा प्रयोग गर्ने गोबर र खाना पकाउन बाल्ने गुइँठा यसका उदाहरण हुन्।

गोबर उपलब्ध नभएको भए किसानले मल वा इन्धन किन्नुपर्ने हुन सक्थ्यो। त्यसैले यसको अनुमानित मूल्य पनि अर्थतन्त्रको उत्पादनमा गणना गरिन्छ।

यो रकम किसानले नगदका रूपमा कमाएको होइन। तर गोबरको प्रयोगले मल र इन्धनमा हुने खर्च जोगाउँछ। यसले माटोमा जैविक पदार्थ थप्न पनि मद्दत गर्छ।

यहाँ तुलना बिक्री रकमको होइन मूल्य अभिवृद्धिको हो। मूल्य अभिवृद्धि भनेको उत्पादनको कुल मूल्यबाट त्यसको उत्पादनमा लागेको खर्च घटाएपछि बाँकी रहने रकम हो।

कुखुरापालनमा मासु बिक्रीबाट आएको रकमको केही हिस्सा दाना, चल्ला, औषधि र बिजुलीजस्ता खर्चमा जान्छ। त्यसैले सय रुपैयाँको मासु बिक्री हुँदैमा सय रुपैयाँ नै मूल्य अभिवृद्धि हुँदैन। उत्पादनमा लागेको खर्च घटाएपछि बाँकी रहने रकम मात्र मूल्य अभिवृद्धि हो।

गोबरको हकमा अवस्था फरक छ। गाईभैँसीलाई दूध, मासु वा खेतीपातीका लागि पालिन्छ। गोबर त्यसै क्रममा निस्कन्छ। किसानले गोबर उत्पादन गर्न छुट्टै दाना वा औषधि किन्नुपर्दैन। त्यसैले यसको अनुमानित मूल्यको ठूलो हिस्सा मूल्य अभिवृद्धिका रूपमा गणना हुन सक्छ।

पशुको संख्या पनि यसको कुल मूल्य ठूलो हुनुको एउटा कारण हो। देशमा ५१ लाख ४१ हजार गाईगोरु र ३२ लाख ९५ हजार राँगाभैँसी रहेको अनुमान छ।

यी पशुबाट दैनिक निस्कने गोबर खेतबारीमा मलका रूपमा र केही ठाउँमा इन्धनका रूपमा प्रयोग हुन्छ। एउटा पशुबाट प्राप्त गोबरको मूल्य थोरै भए पनि लाखौँ पशुबाट वर्षभरि उत्पादन हुने गोबरको कुल अनुमानित मूल्य ठूलो हुन्छ।


प्रकाशित : बुधबार, कात्तिक ११ २०८३१०:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend