काठमाडौं- बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भएर निर्यात प्रभावित भए पनि नेपालले गएको असोजमा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँबराबरको विद्युत निर्यात गरेको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण रोकिएको बंगलादेशतर्फको ४० मेगावाट विद्युत् निर्यात पनि पुनः सुरु भएको छ।
प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभागको तथ्यांकअनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात भएको छ। उक्त विद्युत् बिक्रीबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो।
गत वर्षको असोजमा भारततर्फ विद्युत् निर्यातबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ आम्दानी भएको थियो। चालु आर्थिक वर्षको भदौमा यस्तो कारोबार ५ अर्ब ९ करोड २५ लाख रुपैयाँ थियो।
गत वर्षको असोजको तुलनामा यस वर्षको असोजमा विद्युत् निर्यातबाट भएको कारोबार ९६ करोड २० लाख रुपैयाँले बढेको छ। त्यस्तै, भदौको तुलनामा असोजमा ८३ करोड २५ लाख रुपैयाँले बढी कारोबार भएको छ।
चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
असोजमा भारततर्फ निर्यात गरिएको विद्युत् द्विपक्षीय बिक्री सम्झौता र भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) मार्फत बिक्री गरिएको थियो। द्विपक्षीय सम्झौताअनुसार भारतको हरियाणा र बिहार राज्यमा विद्युत् बिक्री गरिएको थियो भने बाँकी विद्युत् डे-अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बाढीका कारण निर्यातका लागि स्वीकृति पाएका केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भए पनि असोजमा विद्युत् निर्यातबाट हुने कारोबार बढेको बताए। उनका अनुसार असोजमा भारततर्फ निर्यात गरिएको कुल विद्युत् परिमाणमध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी आईएक्समार्फत बिक्री गरिएको थियो।
बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु
भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात कात्तिक ६ गते शुक्रबार साँझदेखि पुनः सुरु भएको छ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बंगलादेश निर्यातका लागि स्वीकृति पाएका त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुर्याएपछि निर्यात रोकिएको थियो।
बाढीका कारण विद्युत् उत्पादन प्रभावित हुँदा भारतको हरियाणा राज्यतर्फको निर्यातसमेत आंशिक रूपमा प्रभावित भएको थियो। तर, भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अन्य जलविद्युत् केन्द्रमा उत्पादित विद्युत् बंगलादेशतर्फ निर्यात गर्न स्वीकृति पाएपछि निर्यात पुनः सुरु भएको कार्यकारी निर्देशक श्रेष्ठले बताए।
नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत् केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बंगलादेश तथा भारतको हरियाणातर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको छ।
बाढीबाट प्रभावित आयोजनाको उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगे पनि अन्य आयोजनाबाट विद्युत् निर्यातलाई निरन्तरता दिन सक्नु र बंगलादेशतर्फको निर्यात पुनः सुरु हुनु नेपालको विद्युत् व्यापारका लागि महत्त्वपूर्ण उपलब्धि भएको श्रेष्ठले बताए। यसबाट वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को बजार व्यवस्थापन र क्षेत्रीय विद्युत् व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ।
नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच २०८१ असोज १७ गते वर्षायामको विद्युत् निर्यातसम्बन्धी पाँचवर्षीय सम्झौता भएको थियो। सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुँदै आएको छ।
भारततर्फ निर्यात क्षमता १ हजार १७९ मेगावाट
यसैबीच, भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यातको अनुमति प्राप्त भएको छ। नयाँ अनुमतिसँगै भारततर्फ विद्युत् निर्यात गर्न स्वीकृति प्राप्त कुल क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको छ।
प्राधिकरणले देशभित्रको माग पूरा गरी बचत हुने वर्षायामको विद्युत् भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार भारतको हरियाणा र बिहार राज्यमा जुनदेखि अक्टोबरसम्म विद्युत् बिक्री गरिन्छ।