काठमाडौं- नेपाल राष्ट्र बैंकले चाडपर्वको समयमा डिजिटल कारोबारलाई सहज बनाउने उद्देश्यले वालेटमा रकम जम्मा गर्न पाउने संख्या अस्थायीरूपमा वृद्धि गरेको छ।
नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सम्पूर्ण भुक्तानी सेवाप्रदायक संस्थाहरूलाई परिपत्र जारी गर्दै यसबारे जानकारी गराएको हो।
हालको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनअनुसार प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्र रकम जम्मा गर्न पाइने व्यवस्था रहेको छ। तर दसैँ, तिहार तथा छठ पर्वको अवसरमा बढेको डिजिटल कारोबारको चापलाई मध्यनजर गर्दै केन्द्रीय बैंकले उक्त सीमामा अस्थायी छुट दिएको छ।
नयाँ व्यवस्थाअनुसार दसैँको अवसरमा असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म र तिहार तथा छठ पर्वको अवसरमा कात्तिक २१ देखि २९ गतेसम्म प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ५० पटकसम्म रकम जम्मा गर्न सकिनेछ।
साथै तोकिएको समयसीमाभित्र भएका कुल कारोबारको संख्या र रकमको विवरण अनिवार्य रूपमा भुक्तानी प्रणाली विभागलाई उपलब्ध गराउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।