बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

नेपालबाट यस वर्षको मनसुन पूर्णरूपमा बाहिरियो, सरदर मितिभन्दा १२ दिन ढिलो

बुधबार, असोज २८ २०८३
नेपालबाट यस वर्षको मनसुन पूर्णरूपमा बाहिरियो, सरदर मितिभन्दा १२ दिन ढिलो

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी दिनहरूमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव भने कायमै रहन सक्ने सम्भावना छ।

काठमाडौं- नेपालमा विगत केही महिनादेखि सक्रिय रहेको यस वर्षको मनसुन आजदेखि देशभरबाट पूर्णरूपमा बाहिरिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो एक बुलेटिन जारी गर्दै नेपालको सम्पूर्ण भू-भागबाट मनसुन बहिर्गमन भएको औपचारिक जानकारी गराएको हो।

नेपालमा सामान्यतया अक्टोबर २ तारिखमा मनसुन बाहिरिने सरदर मिति भए तापनि यस वर्ष भने १२ दिन ढिलो गरी अर्थात् अक्टोबर १४ (आज असोज २८ गते) मात्र मनसुन पूर्णरूपमा बाहिरिएको महाशाखाले जनाएको छ।

यस वर्ष मनसुन बहिर्गमनको प्रक्रिया गत असोज १७ गते (अक्टोबर ३) देखि सुरु भएको थियो। पहिलो चरणमा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको पश्चिमी भू-भाग र गण्डकी प्रदेशको पश्चिमी क्षेत्रका केही स्थानहरूबाट मनसुन बाहिरिन सुरु गरेको थियो भने आजबाट देशका बाँकी सबै भू-भागबाट पनि मनसुन हटेको हो।

मनसुन पूर्णरूपमा बाहिरिए तापनि मुलुकभर मौसम तत्कालै पूर्ण सफा रहने भने होइन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी दिनहरूमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव कायमै रहन सक्ने सम्भावना छ।

त्यसैले, मौसममा आउन सक्ने आकस्मिक परिवर्तन र त्यसको प्रभावबाट बच्नका लागि पछिल्लो मौसमी सूचना र अपडेटहरू निरन्तर लिइरहन महाशाखाले सर्वसाधारण तथा सरोकारवाला निकायहरूमा विशेष अनुरोध गरेको छ।


प्रकाशित : बुधबार, असोज २८ २०८३१५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend