काठमाडौं— दसैँ, तिहार र छठका बेला हुन सक्ने साइबर ठगी नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालक र सेवा प्रदायकलाई २४ सै घण्टा कारोबार निगरानी गर्न निर्देशन दिएको छ। शंकास्पद कारोबार वा वालेट पहिचान भए तत्काल रोक्का गर्न र अनुसन्धानका लागि आवश्यक विवरण उपलब्ध गराउन पनि राष्ट्र बैंकले भनेको छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सार्वजनिक बिदाका अवधिमा विद्युतीय भुक्तानीसम्बन्धी ठगी र शंकास्पद कारोबार बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै यस्तो निर्देशन दिएको हो।
राष्ट्र बैंकले अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक लाई आफ्ना प्रणालीको निरन्तर निगरानी गर्न भनेको छ। बिदाका बेला हुने शंकास्पद कारोबारको विवरण समयमै उपलब्ध गराउनुपर्नेछ।
कुनै वालेट वा कारोबार शंकास्पद देखिए तत्काल रोक्का गरी अनुसन्धानमा सहयोग गर्न पनि निर्देशन दिइएको छ।
साइबर ब्युरोसँग सम्पर्क व्यक्ति तोक्नुपर्ने
ठगीका घटना अनुसन्धान गर्न सहज होस् भनेर राष्ट्र बैंकले प्रत्येक भुक्तानी संस्थालाई एक जना जिम्मेवार सम्पर्क व्यक्ति तोक्न भनेको छ। बिदाका समयमा पनि सम्पर्कमा रहने ती अधिकारीको नाम, पद र मोबाइल नम्बर नेपाल प्रहरीको साइबर ब्युरोलाई उपलब्ध गराउनुपर्नेछ।
चाडपर्वका बेला विद्युतीय भुक्तानीको प्रयोग बढ्ने भएकाले शंकास्पद कारोबार पहिचान, तत्काल रोक्का र अनुसन्धानका लागि समन्वय गर्न राष्ट्र बैंकले भुक्तानी संस्थाहरूलाई यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो।