काठमाडौं- विद्युतीय कार बजार फाइभ सिटरमात्र होइन सेभेन सिटरतर्फ पनि अघि बढेको छ। पछिल्लो समय वुलिङ एक्सियन ईभी र एमजी हेक्टर टमहक ईभी नेपाल भित्रिएका छन्।
वुलिङ एक्सियन ईभी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सार्वजनकि भएको थियो भने एमजी टमहक ईभी गएको शनिबार सार्वजनिक भएको हो।
७ सिट क्षमताका यी दुई विद्युतीय एसयूभीबीच राम्रै प्रतिस्पर्धा हुने देखिएको छ। चीनको एसएआईसी समूहअन्तर्गतका दुई ब्रान्ड भएकाले वुलिङ एक्सियन र एमजी टमहक एकै प्लेट फर्ममा बनेका गाडी हुन्। एसएआईसीले वुलिङ एक्सियनका लागि तयार गरेको प्लेट फर्ममै एमजी टमहक ईभी उत्पादन भएको हो।
प्राविधिक हिसाबमा एक्सियन र टकहक दुवै एसयूभीमा समानता छ। डिजाइनसमेत एकै भएका यी दुई एसयूभी नेपाली बजारमा उपलब्ध हुँदा केही फिचर र मूल्यमा भने पक्कै फरक छन्। चीन सरकारको स्वामित्वमा रहेको कम्पनी एसएआईसी ग्रुपसँग वुलिङको पनि हिस्सेदारी छ भने भारतको जेएसडब्लू ग्रुपसँग साझेदारी गरेर एमजीका कार बनाइरहेको जेएसडब्लू एमजी मोटर इन्डिया प्रालिसँग पनि हिस्सा रहेको छ।
यसहिसाबले वुलिङ एक्सियनकै प्रविधि र समान डिजाइन तथा पार्ट्स सेयर भएर एमजी टमहक बनेको हो। समान प्रविधिमा बनेका दुई गाडी नेपालमा दुई आधिकारिक बिक्रेताले आयात गरिरहेका छन्। यसले उपभोक्तामा कुन अब्बल भन्ने जिज्ञासा हुन सक्छ। सोही कारण उपभोक्ताले कारमा भएका विशेषतालगायत विषयलाई हेरेर निर्णयमा पुग्न सक्छन्।
विद्युतीय कारमा ब्याट्री महत्त्वपूर्ण पक्ष हो। वुलिङ एक्सियन र एमजी हेक्टर टमहक ईभीमा समान ६९.२ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक रहेको छ। पावरको कुरा गर्दा दुवै विद्युतीय एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर र ३ सय १० एनएम टर्क जेनेरेट गर्छ।
एक्सियन र टमहक दुवै एसयूभी फ्रन्ट ह्वील ड्राइभ अप्सनमा छ भने ७ जनाले यात्रा गर्न सक्छन्। दुई कारबीच उचाइमा सामान्य भिन्नता भए पनि ह्वीलबेससमेत बराबर छ। हाल नेपालमा उपलब्ध भेरियन्ट अनुसार एमजी टमहकभन्दा वुलिङ एक्सियन विशेषता र मूल्यमा आकर्षक रहेको छ। जीओ अटोमोबाइल्स प्रालिले एमजी हेक्टर टमहकको मूल्य ५७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने पारामाउन्ट मोटर्स प्रालिले वुलिङ एक्सियनको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ छ। यी मूल्य अफरमा आएका हुन्।
यता वुलिङ एक्सियनको अधिकतम खुद्रा बिक्री मूल्य ५७ लाख ९९ हजार रुपैयाँ हो भने हेक्टर टमहकको एमआरपी ६१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
वुलिङ एक्सियनमा उपलब्ध एडास (एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम) सिस्टम हाल नेपाल आएको एमजी हेक्टर टमहकमा भेरियन्टमा छैन। वुलिङ एक्सियन खरिद गर्नेहरुका लागि कम मूल्यमा पाइने राम्रो विशेषता हो।
त्यसैगरी सनरुफ, अगाडिका भेन्टिलेटेड सिट, अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर, ५० वाटको वायरलेस चार्जर र पावर टेलगेटलगायत फिचर पनि हेक्टर टमहकमा छैन। यी सबै विशेषता वुलिङ एक्सियनमा पाइन्छ।
त्यस बाहेक एडाप्टिभ क्रुज कन्ट्रोल र साउन्डप्रुफ टिन्टेड ग्लास पनि टमहकमा पाइँदैन। यता यी सबै फिचर वुलिङ एक्सियनमा उपलब्ध रहेको छ। गाडी किन्दा मोटर क्षमता र ब्याट्री बाहेकका अन्य सुविधा हेर्नेको लागि सुरक्षा प्रविधि, यात्राको सहजता, आरामदायी सुविधा र दैनिक प्रयोगमा हुने उपयोगिता महत्त्वपूर्ण हुन्छ।
विद्युतीय कार किन्नेहरुका लागि सुविधाको सूची र मूल्यलाई मात्र आधार मान्ने हो भने वुलिङ एक्सियन टमहकभन्दा अब्बल लाग्ने छ। यता ग्राउन्ड क्ल्यिरेन्समा भने टमहक ईभी एक्सियनभन्दा अगाडि छ। टमहकमा २ सय ३० एमएमको ग्राउन्ड क्लियरेन्स छ भने वुलिङ एक्सियनमा २ सय १५ एमएमको ग्राउन्ड क्लियरेन्स छ।
प्रतिस्पर्धी बजार र उत्पादन लागतमा आएको कमीका कारण विद्युतीय कारको मूल्य कम हुँदै गएको छ। भारतको तुलनामा चीनमा उत्पादन हुने विद्युतीय कारको लागत कम रहेकाले नेपाली बजारमा चीनबाट आउने विद्युतीय कार कम मूल्यमा आइरहेर्का छन्। उपभोक्ताले पनि मूल्यलाई महत्त्वकासाथ हेर्न लागेका छन्।
एउटै प्राविधिक क्षमताका गाडीमध्ये बढी सुविधा दिने कार उपभोक्ताको प्राथमिकतामा पर्नु स्वभाविक हो। वुलिङ एक्सियनका लागि यो फाइदाको विषय हो भने एमजीका लागि ब्राण्ड नेम र भारतमा उत्पादन हुने सवल पक्ष हो।
स्पेयर पार्ट्स र सर्भिस दुवै घराना आधिकारिक बिक्रेता भएकाले ठूलो समयस्या नहुन सक्छ। ब्राण्ड, मूल्य, उपलब्ध विशेषता तथा सर्भिसका आधारमा उपभोक्ताले आफ्नो छनोटको अवसर प्रयोग गरेर एमजी हेक्टर टमहक वा वुलिङ एक्सियन ईभी किन्न सक्छन्।