काठमाडौं- औपचारिक पहिरनका रूपमा सिधा कटाइका कपडाका पाइन्टबाट सुरु भएको फेसन अहिले विविध भइसकेको छ। अहिले दसैँको अवसरमा देखिएको पाइन्टको फेसनमा समेत निजामती फर्मलदेखि ब्यागी जिन्स र बेली जिन्ससम्मका रोजाइ बजारमा चलिरहेको छ।
विशेषगरी युवा पुस्तामा स्किन फिट, स्लिम फिट र लुज फिट पाइन्टको आकर्षण देखिन्छ। कार्यालय जानेहरूका लागि फर्मल पाइन्ट र क्याजुअल पहिरन मन पराउनेहरूका लागि जिन्स तथा कार्गो पाइन्ट रोजाइमा पर्ने गरेका छन्।
नेपाली बजारमा स्वदेशी उत्पादनसँगै भारत, चीन, बंगलादेशलगायत देशबाट आयात गरिएका विभिन्न डिजाइनका पाइन्ट उपलब्ध छन्। अनलाइन किनमेल र सामाजिक सञ्जालको प्रभावले पनि नयाँ डिजाइन तथा अन्तर्राष्ट्रिय फेसनप्रति नेपाली उपभोक्ताको आकर्षण बढाएको छ।
पाइन्टको फेसनमा डिजाइन र कटाइसँगै रङ, कपडाको गुणस्तर तथा आरामदायीपनलाई पनि महत्त्व दिन थालिएको छ। फराकिलो कटाइ र खुकुलो डिजाइनका पाइन्टले पछिल्लो समय फेसनमा स्थान बनाएका छन्।
शरीरको बनावट, उमेर, पेसा र अवसरअनुसार पाइन्ट छनोट गर्ने चलन बढ्दै गएको छ। पहिले फेसनको मुख्य आधार मानिने आकर्षक डिजाइनसँगै अहिले सहजता, टिकाउपन र मूल्यलाई पनि उपभोक्ताले ध्यान दिन थालेका छन्।
पाइन्टको फेसन केवल पहिरनको आवश्यकतामा सीमित नराखी व्यक्तित्व, जीवनशैली र व्यक्तिगत रुचि प्रस्तुत गर्ने माध्यमका रूपमा समेत स्थापित भइरहेको छ।
विशेषगरी यसबेला दसैँका कारण लुगाको माग अत्यधिक बढ्ने गरेको पाइन्छ। यस पटकको दसैँमा पाइन्ट स्टाइल गर्न चाहने महिलाहरूका लागि बजारमा क्लासी र मोडर्न लुक दिने केही पाइन्टहरू ट्रेन्डमा छन्।
नयाँ बानेश्वरस्थित ‘एटिक क्विन कलेक्सन’ का सञ्चालक जनक दाहालका अनुसार अहिले पाइन्टमा जिन्स, कटन र फर्मलसँगै अन्य पाइन्टहरू पनि ट्रेन्डमा छन्।
फर्मल पाइन्ट
स्टाइलिस अफिसियल लुकका लागि ग्राहकहरू माझ लोकप्रिय ‘फर्मल पाइन्ट’ सदाबहार ट्रेन्डमा रहेको जनक दाहाल बताउँछन्। बजारमा यो पाइन्ट क्रिम, ब्ल्याक, ब्राउन, ह्वाइट तथा नेभी ब्लुमा पाउन सकिन्छ।
उनका अनुसार यो नेपाली फ्याब्रिकभन्दा नि गार्मेन्टवाला चिज भयो। अफिसियलहरूलाई चल्ने खालको यो हो, लगभग सर्वाधिक जाने पाइन्ट पनि हो यो।
निजामती फर्मल पाइन्ट
'यो सरकारी जागिरेहरूलाई युजमा आउने फर्मल हो, यो पनि म्याक्सिमम जाने पाइन्ट हो। लङ लास्टिङ टिक्ने क्वालिटी छ यसमा। एक/डेढ वर्ष नै टिक्छ।’
भरखरै बजारमा आएको नयाँ निजामती फर्मल पाइन्ट जाडो, गर्मी दुवै मौसमका लागि उपयुक्त हुने उनी बताउँछन्। यसको गुणस्तर एकदमै राम्रो रहेको उनको भनाइ छ। उनका अनुसार यस पाइन्टमा कलर जाने वा भुवा आउने कुनै समस्या हुँदैन।
साथै लगभग १२० देखि १५० किलोसम्मका मान्छेले लगाउन मिल्छ। यसमा एक्सएलदेखि सुरु भएर ५ एक्ससम्मका साइज उपलब्ध छ।
'स्टार्टिंग एक्सएलदेखि फाइभ एक्ससम्म आउँछ, जति मोटोलाई पनि हुने टाइपको अप्सन हुन्छ यसमा।’
ब्यागी जिन्स
विशेषगरी जेनजी पुस्ताले स्टाइल गर्ने यो ‘ब्यागी जिन्स’ धेरै जसो बिक्री गरिने पाइन्ट हो। बजारमा यो हार्ड र सफ्ट जिन्समा उपलब्ध छ। यो पाइन्टले अलि पातलो ज्यानलाई अलि ठूलो देखाउन मद्दत पुग्ने उनी बताउँछन्।
‘तपाईँको यो अलि पातलोले ज्यान अलि ठूलो देखाउने हिसाबले लाउने पाइन्ट हो। खास ब्यागीले अलि अलि शरीर ठूलो पनि देखाउँछ। यो पनि म्याक्सिमले लाउँछ। बजारमा बढी माग हुन्छ।’
यो लगभग १८ देखि २५/२६ वर्षसम्मका २८/३० कम्मर भएकाले लगाउन मिल्छ। किनकि बजारमा यसका अन्यत्र साइजहरू उपलब्ध छैनन्।
‘अलि म्याच्योरहरूले यो पाइन्ट लाउँदैन। यसमा त्यति धेरै ठूलो साइज पनि आउँदैन। लगभग म्याक्सिमम यसको साइज नै टु एक्स, ३ एक्स सम्म आउँछ। त्योभन्दा माथिको ४, ५ हरू यसमा चाहिँ अबाइलेबल हुँदैन। आउँदै पनि आउँदैन त्यत्ति।’
कटन फर्मल जिन्स
भरखरै बजारमा आएको कम समयमै लोकप्रिय पाइन्ट हो ‘कटन फर्मल जिन्स’। बजारमा बाक्लो बेल्टसहित यो विभिन्न कलरहरूमा उपलब्ध रहेको छ।
उनी भन्छन् ‘कटन जिन्स ठूलो बेल्टमा आएको छ, फ्याब्रिक पनि एकदम राम्रो छ, ब्रान्ड पनि एकदम राम्रो छ, बेल्ट पनि लगभग ३९४ सय ५०० जाने खालको सँगै जोडिएर आएको छ। यो पनि सर्वाधिक राम्रै गइरा छ, मैले राम्रै सेल गरिराछु।’
बजारमा यो पाइन्ट क्रिम, ग्रे र अन्य थुप्रै कलरहरूमा उपलब्ध छन्। ‘कलर लगभग यसका एक्स्ट्रा छन्। अरूभन्दा एक्स्ट्रा कलर अबाइलेबल छ यसमा चाहिँ।’ यो पाइन्ट १८ सय ५० रुपैयाँमा बेच्दै आएको उनले जानकारी दिए।
बेली जिन्स
कम्मरमा लेदरको ब्रान्ड ट्याग राखिएको बेली जिन्स बजारमा लोकप्रिय ट्रेन्डिङ पाइन्ट मध्यमा पर्दछ। हाइ क्वालिटीको जिन्समा पर्न आउने यसको माग बजारमा उच्च रहेको छ।
‘नन-स्ट्रेचवाला चाहिँ अलि हाइ क्वालिटीमा पर्न आउँछ। यो अलि चलिरहेको छ। एकदमै म्याक्सिमम जाने पाइन्ट यो पनि ब्रान्डमा पर्न आउँछ। यसको यहाँ कम्मरनेर मुखमा लेदर राखिएको हुन्छ।’ यो पाइन्ट ग्राहकलाई १६ सय ५० रुपैयाँमा बेच्दै आएको उनले जानकारी दिए।