काठमाडौं- सरकारले कर छुट दियो। बैंकको ब्याजदर घट्यो। वा केन्द्रीय बैंकले महँगी नियन्त्रण गर्न ब्याजदर बढायो। यी निर्णयको असर कागजमा देखिने आर्थिक सूचकांकमा मात्र सीमित हुँदैन। घरपरिवारले कति खर्च गर्छन्, व्यवसायले लगानी बढाउँछन् कि घटाउँछन् र बजारमा वस्तु तथा सेवाको माग कस्तो हुन्छ भन्नेमा पनि त्यसको प्रभाव पर्छ।
तर एउटै निर्णयले सबै परिवार र व्यवसायलाई समान असर गर्दैन। भविष्यमा आम्दानी बढ्ने आश भएको परिवारले आजै खर्च बढाउन सक्छ। जागिर गुम्ने डर भएको परिवारले बचत गर्न सक्छ। हातमा आएको पैसा दैनिक खर्चमै सकिने परिवारका लागि भने सानो अनुदानले पनि तत्काल राहत दिन सक्छ।
अर्थतन्त्रको गति बुझ्न यस्ता फरक व्यवहार किन महत्त्वपूर्ण छन्? र तिनलाई ध्यानमा राखेर सरकारले बजेट तथा करसम्बन्धी निर्णय र केन्द्रीय बैंकले ब्याजदरसम्बन्धी नीति कसरी बनाउन सक्छ?
अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल वुडफोर्डको अनुसन्धानको मूल चासो यही हो। उनीहरूलाई समष्टिगत आर्थिक स्थिरीकरणका सूक्ष्म आर्थिक आधार निर्माणमा योगदान गरेबापत सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको छ।
स्ट्यानफोर्ड विश्वविद्यालयका हल र कोलम्बिया विश्वविद्यालयका वुडफोर्डले विकास गरेका आर्थिक विचारले समग्र अर्थतन्त्रलाई बुझ्दा व्यक्ति, घरपरिवार र व्यवसायले गर्ने निर्णयलाई पनि आधार बनाउनुपर्ने देखाउँछन्।
यसको अर्थ अर्थतन्त्रलाई केवल कुल उत्पादन, महँगी र बेरोजगारीका तथ्यांकबाट बुझेर पुग्दैन। ती सूचक बदलिनुको पछाडि मानिसले किन त्यस्तो निर्णय गरिरहेका छन् भन्ने पनि बुझ्नुपर्छ।
परम्परागत आर्थिक विश्लेषणमा ब्याजदर, मुद्रास्फीति र उत्पादनलाई मुख्य सूचक मानिन्थ्यो। तर यी सूचक मात्र हेरेर मानिसले किन खर्च घटाउँछन् वा व्यवसायीले किन लगानी रोक्छन् भन्ने सबै कुरा बुझिँदैन।
आजको निर्णयमा भोलिको आम्दानी, रोजगारी र आर्थिक अवस्थाबारेको अपेक्षाले पनि प्रभाव पार्छ। सन् १९७० को दशकमा आएको संकटपछि त्यो मान्यतामा प्रश्न उठ्यो। मानिसले अहिलेको खर्च निर्धारण गर्दा आजको आम्दानीलाई मात्र हेर्छन् कि भविष्यमा हुने आम्दानीलाई पनि विचार गर्छन्? भनेर प्रश्न गरिएको थियो।
मानिसले भविष्यमा स्थिर आम्दानी हुने अपेक्षा गरेका छन् भने आम्दानीमा आएको अस्थायी परिवर्तनले खर्चमा ठूलो असर नपार्न सक्छ। तर रोजगारी गुम्ने वा भविष्यको आम्दानी घट्ने डर बढेमा उनीहरूले खर्च कटौती गर्न सक्छन्। धेरै घरपरिवारले एकैपटक खर्च घटाउँदा त्यसको असर बजारको माग र समग्र अर्थतन्त्रमा पर्छ भने ८० को दशकमै व्यापक निष्कर्ष आएको थियो।
माइकल वुडफोर्डले मौद्रिक नीतिले अर्थतन्त्रलाई कसरी प्रभाव पार्छ भन्ने बुझ्न अपेक्षाको भूमिकालाई महत्त्व दिए। उनको अनुसन्धानले मूल्य र ज्यालाको समायोजनमा हुने ढिलाइ, आर्थिक उत्पादन र ब्याजदरबीचको सम्बन्धलाई एउटै ढाँचामा विश्लेषण गर्ने आधार बलियो बनायो।
यसलाई बुझाउन अर्थशास्त्रीहरूले प्रायः तीन सम्बन्धलाई जोड्छन्- मुद्रास्फीति, आर्थिक उत्पादन र केन्द्रीय बैंकको ब्याजदर निर्णय। उत्पादनले अर्थतन्त्रको सम्भावित क्षमताभन्दा कति फरक प्रदर्शन गरिरहेको छ भन्ने कुरालाई उत्पादन अन्तर भनिन्छ। यस्तो अन्तर, मूल्यवृद्धि र ब्याजदरबीचको सम्बन्ध बुझेर केन्द्रीय बैंकले नीतिगत निर्णय गर्न सक्छ।
तर ब्याजदरको निर्णयले तत्कालै अपेक्षित परिणाम दिन्छ भन्ने हुँदैन। ब्याजदर घटे पनि मानिसले भविष्यप्रति भरोसा नगरे खर्च नबढ्न सक्छ।
त्यसैगरी केन्द्रीय बैंकले भविष्यमा ब्याजदर कस्तो हुन सक्छ भन्ने स्पष्ट संकेत दिँदा पनि बजारको व्यवहार प्रभावित हुन सक्छ। यसलाई अग्रिम नीतिगत संकेत भनिन्छ।
ब्याजदरको प्रभाव बैंकको ऋण र निक्षेपमा मात्र सीमित छैन। यसले घरपरिवारको खर्च, व्यवसायको लगानी र बजारको मागलाई असर गर्छ। तर ब्याजदर परिवर्तन हुँदैमा अर्थतन्त्र स्वतः चलायमान हुन्छ भन्ने होइन। आम्दानी, रोजगारी, कर्जामा पहुँच र भविष्यप्रतिको भरोसा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्। नेपालमा केही समयदेखि यस्तै देखिएको छ।
उनीरूको अनुसन्धानको निष्कर्ष अर्थतन्त्र ब्याजदर र मुद्रास्फीतिका अंकले मात्र चल्दैन, मानिसले वर्तमान आम्दानीलाई कसरी हेर्छन्, भविष्यबारे कस्तो अपेक्षा राख्छन् र नीतिगत घोषणामा कति विश्वास गर्छन् भन्ने कुराले पनि आर्थिक गतिविधिको दिशा निर्धारण गर्छ।