काठमाडौं- भारतले उखुका विभिन्न चार जात नेपाललाई हस्तान्तरण गरेको छ। भारतबाट ल्याइएका जातहरूको प्रवर्द्धनपश्चात गुणस्तरीय उखु उत्पादनमा वृद्धि भइ कृषकहरूलाई फाइदा पुग्नुका साथै चिनी मिलहरूलाई उखुबाट बढी चिनी उत्पादन भइ फाइदा हुने जनाइएको छ।
नेपालमा करिब ५३ हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ, जसबाट वार्षिक करिब २७ लाख मेट्रिक टन उखु उत्पादन हुने गरेको छ। उत्पादित उखुलाई करिब एक दर्जन सञ्चालनमा रहेका चिनी मिलमार्फत प्रशोधन गरी चिनी उत्पादन गरिन्छ। नेपालमा उखुको औसत उत्पादकत्व करिब ५० मेट्रिक टन/हेक्टर रहेको छ, जुन छिमेकी मुलुक भारतको औसत उत्पादकत्व (८२ मेट्रिक टन/हेक्टर ) को तुलनामा निकै कम हो।
नेपालले आफ्नो कुल चिनी खपतको करिब ३० प्रतिशतसम्म माग पूर्ति गर्न वार्षिक रूपमा चिनी आयात गर्नुपर्ने अवस्था रहेको छ। नेपाल चिनीमा आत्मनिर्भर हुन बढी उत्पादन दिने तथा बढी चिनी पर्ने उन्नत जातको उखुको विकास गर्नु पर्ने हुन्छ। तर नेपालको हावापानीमा उखुको प्रजनन् सम्भव छैन र यसको लागि वातावरण नियन्त्रित संरचना फाइटोट्रोन आवश्यक पर्छ।
यसका लागि भारतीय उखु अनुसन्धान संस्थानलाई उन्नत उखुका जात उपलब्ध गराउन अनुरोध गरेको नेपाल कृषि अनुसन्धान परिषद्ले जनाएको छ। जसअनुसार नेपाल कृषि अनुसन्धान परिषदअन्तर्गत जितपुर बारामा रहेको राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमले भारतीय कृषि अनुसन्धान परिषद्-भारतीय उखु अनुसन्धान संस्थान लखनउसँग सहकार्य गर्दै चारवटा उखुका उन्नत जातहरू नेपालमा भित्र्याएको छ।
सोमबार औपचारिक हस्तान्तरण कार्यक्रममा भारतीय दूतावासका प्रथम सचिव सुश्री निशाबाट उखुका चार उन्नत जातका बीउ नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठलाई हस्तान्तरण गरिएको हो।
भारतबाट भित्र्याइएका चार उन्नत जातका उखुमा बढी उत्पादकत्व हुनुको साथै चिनीको मात्रा पनि धेरै पाइएको छ। यी जातहरू अगौटे, मध्यम र पछौटे गरेर फरक अवधिमा परिपक्व हुनुको साथै रातो सडन रोग प्रतिरोधीसमेत रहेका छन्।
भारतबाट ल्याइएका चार उन्नत जातका उखुहरूको राष्ट्रिय उखु अनुसन्धान कार्यक्रमले बीउ उत्पादन र यी जातहरूको तुलनात्मक अध्ययन दुई वर्षसम्म विभिन्न अनुसन्धान केन्द्रहरूमा गरिए पश्चात् उपयुक्त नतिजाको आधारमा उन्मोचन/दर्ता गरिने जनाइएको छ। तत्पश्चात् बीज वृद्धि गरी चिनी मिलहरूसँग समन्वय गरी कृषकहरू माझ पुर्याइनेछ।
भारतबाट ल्याइएका जातहरूको प्रवर्द्धन पश्चात् गुणस्तरीय उखु उत्पादनमा वृद्धि भइ कृषकहरूलाई फाइदा पुग्नुका साथै चिनी मिलहरूलाई उखुबाट बढी चिनी उत्पादन भइ फाइदा हुने नार्कको भनाइ छ।
साथै नयाँ जातहरूको अनुशरणपश्चात हालको उखुको उत्पादकत्वमा वृद्धि भइ नेपाल चिनीमा आत्मनिर्भर हुने विश्वास लिएको परिषद्ले जनाएको छ।
भारतले कुन-कुन जातका उखु सहयोग गर्यो?
सीओएलके १६२०२ - उत्पादन ९३.२ टन/हेक्टर, सुक्रोज १७.७ प्रतिशत, रातो सडन रोग प्रतिरोधी, मध्य-ढिलो परिपक्व हुने
सीओएलके १६४७० - उत्पादन ८२.५ टन/हेक्टर, सुक्रोज १७.४ प्रतिशत, रातो सडन रोग प्रतिरोधी, मध्य-ढिलो परिपक्व हुने
सीओएस १७२३१ - उत्पादन ९१.५ टन/हेक्टर, सुक्रोज १७.७ प्रतिशत, रातो सडन रोग प्रतिरोधी, चाँडो परिपक्व हुने
सीओएस १८२३१ - उत्पादन ९२.५ टन/हेक्टर, सुक्रोज १८.० प्रतिशत, रातो सडन रोग प्रतिरोधी, चाँडो परिपक्व हुने