काठमाडौं- सरकारले बजेटका मुख्य विषय, आम्दानीका स्रोत र खर्चका योजनालाई सरल भाषामा बुझाउन ‘नागरिक बजेट’ सार्वजनिक गरेको छ।
अर्थ मन्त्रालयले प्रकाशन गरेको यस दस्तावेजमा आगामी आर्थिक वर्षका प्राथमिकता, विकास कार्यक्रम र नागरिकको दैनिक जीवनसँग जोडिने विषय समेटिएका छन्।
सरकारले कति राजस्व उठाउँछ, कहाँ खर्च गर्छ र कुन क्षेत्रमा बढी प्राथमिकता दिन्छ भन्ने विषय बजेटबाट थाहा हुन्छ। तर बजेटका मूल दस्तावेजमा आर्थिक शब्दावली र विस्तृत विवरण धेरै हुने भएकाले सर्वसाधारणलाई त्यसको अर्थ बुझ्न कठिन हुन्छ। नागरिक बजेटले यही विवरणलाई सामान्य पाठकले बुझ्ने भाषामा प्रस्तुत गर्ने प्रयास गरेको छ।
यसमा सरकारले आगामी आर्थिक वर्षमा के गर्न खोजेको छ, कुन क्षेत्रमा खर्च गर्ने योजना बनाएको छ र त्यसले नागरिकलाई कसरी असर गर्न सक्छ भन्ने विषय समेटिएका छन्।
बजेट सरकारको आम्दानी र खर्चको हिसाबमात्र होइन करबाट उठेको पैसा कहाँ र कसरी खर्च हुन्छ भन्ने निर्णय पनि हो। त्यसैले बजेटबारे जानकारी पाउनु नागरिकको अधिकार र सार्वजनिक खर्चमाथि निगरानी राख्ने आधारसमेत हो।
बजेटका योजना र खर्चबारे नागरिकलाई जानकारी भए सरकारले लिएका प्राथमिकता र सार्वजनिक पैसाको प्रयोगबारे प्रश्न गर्न सहज हुन्छ।
'नागरिक बजेट'मार्फत सरकारले बजेटसम्बन्धी जानकारी विज्ञ र सरकारी निकायमा मात्र सीमित नराखी सर्वसाधारणसम्म पुर्याउन खोजेको छ।