बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

दीपक भट्टको मानव अधिकार संरक्षण माग्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन

शुक्रबार, असोज २३ २०८३
दीपक भट्टको मानव अधिकार संरक्षण माग्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन

भट्टले आफूले कुनै पनि निकायको अनुसन्धान वा न्यायिक प्रक्रियामा अवरोध गर्न नचाहेको उल्लेख गर्दै निष्पक्ष छानबिन, कानुनी प्रक्रियाको सम्मान र छोराको मानव अधिकार तथा मौलिक हकको संरक्षणका लागि निवेदन दिएको बताएका छन्।

काठमाडौं- विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेका दीपक भट्टका बुवा चतुर्भुज भट्टले छोराको मानव अधिकार संरक्षण र कारागार सरुवाको निर्णय छानबिन गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन्।

भट्टले २०८३ असोज २३ गते पुल्चोकस्थित आयोगको कार्यालयमा निवेदन दर्ता गराएका हुन्। उनले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छोरालाई दोषीका रूपमा चित्रण गर्ने तथा चरित्रहत्या गर्ने सामग्री प्रकाशित भइरहेको आरोप लगाएका छन्।

विशेषगरी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग फोन सम्पर्क गरी विचाराधीन मुद्दामा चलखेल गर्न अनुरोध गरेको भन्ने समाचारप्रति उनले आपत्ति जनाएका छन्। पुर्पक्षका लागि थुनामा रहेका छोराले गर्दै नगरेको कामलाई सत्यका रूपमा प्रस्तुत गरिएको उनको दाबी छ। 

भट्टले छोरालाई असोज १७ गते नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा सारिएको विषयमा पनि प्रश्न उठाएका छन्। छोराविरुद्धका मुद्दा काठमाडौं जिल्ला अदालत, विशेष अदालत र उच्च अदालत पाटनमा विचाराधीन रहेको उल्लेख गर्दै उनले सरुवाको आधार, कारण र निर्णय प्रक्रियाबारे जानकारी नदिइएको बताएका छन्।

सरुवाको कारण र नख्खु कारागारमा रहँदाको छोराको आचरणबारे जानकारी माग्दै नख्खु कारागार र कारागार व्यवस्था विभागमा समेत निवेदन दिएको उनले जनाएका छन्। 

भट्टले आफूले कुनै पनि निकायको अनुसन्धान वा न्यायिक प्रक्रियामा अवरोध गर्न नचाहेको उल्लेख गर्दै निष्पक्ष छानबिन, कानुनी प्रक्रियाको सम्मान र छोराको मानव अधिकार तथा मौलिक हकको संरक्षणका लागि निवेदन दिएको बताएका छन्।


प्रकाशित : शुक्रबार, असोज २३ २०८३१६:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend